इतिहासमा आज : बिन लादेनको अमेरिकामाथि हमला, पेन्टागन र वर्ल्ड ट्रेड सेन्टरमाथि खसालिएको थियो यात्रुबाहक विमान
घटना सन् २००१ को हो । विश्वले नयाँ व्यवसायमा कदम राखिसकेको थियो । यसको ठिक १० वर्ष अगाडि सन् १९९१ को डिसेम्बर २६ मा सोभियत संघ विघटन गरेर अमेरिकाले शीतयुद्ध जितेको थियो । त्यसपछि अमेरिका एकमात्र सर्वशक्तिमान राष्ट्रको रुपमा अगाडि बढिसकेको थियो ।
सन् १९९१ को सबैभन्दा पहिलो युद्ध खाडी युद्ध होस् वा युगोस्लाभिया युद्ध होस् अमेरिकाले आफ्नो अद्वितीय सैन्य तागतका कारण आफूलाई न्यू वल्र्ड अर्डर बनाउन जुटिरहेको थियो ।
तर, सन् २००१ को सेप्टेम्बर ९ का दिन अमेरिकाले नै पालेर राखेको मुजाहिद्दीन ओसामा बिन लादेनले अमेरिकामाथि नै भीषण आतंककारी हमला गरे । यो ९/११ को नामबाट अमेरिकी नागरिकहरुको मानसपटलमा सधैंका लागि गढेर रह्यो ।
विश्वले यसअघि कुनै पनि यस्तो भीषण हमला भएको देखेका थिएनन् । अमेरिकाको तीन वटा विमानस्थलबाट उडेका चारवटा विमानलाई ओसामाका तालिमप्राप्त लडाकुहरुले अपहरण गरे । जसमध्ये बोस्टनबाट उडेका दुईवटालाई मिसाइल बनाएर १८ मिनेटको अन्तरालमा म्यानहेटन शहरमा रहेको वल्र्ड ट्रेड टावरलाई उडाइदिए ।
यस्तै, वाशिङ्टन डिसी नजिकैको ड्लूल्स विमानस्थलबाट उडेको विमानलाई पेन्टागन भवनको दक्षिण–पश्चिमतर्फ दुर्घटना गराइयो । न्यूजर्सीको न्यूयोर्कबाट उडेको चौंथो विमानलाई पेन्सिल्भेनिया नजिकैको मैदानमा दुर्घटना गराइयो । यो विमानलाई लादेनका लडाकुहरुले अपहरण गरेर राखेका थिए । तर, विमानभित्रका यात्रुहरुले लडाकुहरुसँग भिडन्त गर्ने कोसिस गरेपछि विमान दुर्घटनामा परेको थियो ।
हमला भयानक थियो । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसको सुरक्षाका लागि सिक्रेट सर्भिसका एजेन्टहरुले उनलाई एयरफोर्स वनमा राखेर अमेरिकाको आकाशमा घण्टौंसम्म चक्कर लगाइरहे । यसैक्रममा एफ–१६ लडाकु विमान उनको सुरक्षामा तैनाथ गरिएको थियो ।
उक्त भयानक हमला भएको आज २० वर्ष पुगेको छ ।