एमसीसीको विरोध वीरगञ्जबाट काठमाडौँ आएका भाग्यनाथ गुप्ता
काठमाडौंमा ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)को चर्चा हुँदा वीरगञ्जमा रहेका ६७ वर्षीय भाग्यनाथ गुप्तालाई छटपटी भयो । उनी केही साथीहरुलाई लिएर भदौ १७ गते साँझ वीरगञ्जबाट बस चढेर त्यसको भोलिपल्ट काठमाडौं आइपुगे ।
उनीसहित १३ जना काठमाडौं आएका थिए । तीमध्ये केही कोटेश्वरका गेस्ट हाउसमा बसे भने केही भक्तपुरको नयाँ ठिमीतिर गएर बसे ।
एमसीसीको विरोध गर्न भाग्यनाथ गुप्ताले वीरगञ्जबाटै ब्यानर, झण्डाहरु ल्याएका थिए । काठमाडौं ओर्लिने बित्तिकै कुनै ठाउँमा उभिएर एमसीसीको विरोध गरिहालौं भन्ने उनलाई लागिसकेको थियो । तर कहाँ गर्ने ? माइतीघर वा रत्नपार्कमा प्रदर्शन गर्ने उनको चाहना थियो । कसरी विरोध प्रदर्शन गर्ने भन्नेमा उनी बिहानैदेखि तयारीमा लागेका थिए ।
आफूसँग वीरगञ्जबाट आएका साथीका अतिरिक्त काठमाडौंमा पनि केही विद्यार्थी तथा श्रमिकहरुलाई समेट्ने उनको तयारी थियो । गाडीबाट ओर्लने बित्तिकै उनी आफूले चिनेजानेकासँग सम्पर्क गर्न थाले । सामाजिक सञ्जालबाट पनि उनले सम्पर्क स्थापित गरे ।
त्यतिकैमा एउटा भिडियोमाथि उनको नजर गयो । त्यो भिडियोमा केहीले एमसीसीको चर्को विरोध गरिरहेका थिए । भाग्यनाथ गुप्ताले जे उद्देश्यका लागि काठमाडौं आएका थिए, उक्त भिडियोमा त्यही काम भइरहेको उनले देखे । यी मान्छेहरुको सहयोग भयो भने काठमाडौंमा कार्यक्रम गर्न निकै सजिलो हुने भन्दै उनले भिडियोमा लेखिएको इमेल एड्रेसमा इमेल सन्देश पठाए । तर उनले कुनै जवाफ पाउन सकेनन् । अनि उनले त्यहाँ लेखिएको फोन नम्बरमा कल गरे ।
उनले आफूहरु एमसीसीको विरोध गर्न मधेसबाट काठमाडौं आएको, विरोध कार्यक्रमका लागि आफूलाई सहयोग चाहिएको प्रस्ताव गरे । मधेसबाट आएको थाहा पाएपछि फोनमा कुरा गर्ने ती व्यक्ति तुरुन्तै भाग्यनाथ गुप्ता भएको ठाउँमा आइपुगे । उनका अनुसार न्यौपाने थरका युवा उनलाई भेट्न आएका थिए ।
‘उहाँहरुले पनि कोटेश्वरमै एमसीसीको विरोधमा कार्यक्रम गर्ने तयारी गरिरहनु भएको रहेछ,’ भाग्यनाथ गुप्ताले भने, ‘हामीलाई कोटेश्वरमै कार्यक्रम गर्न उहाँले भन्नुभयो, हाम्रै ब्यानर र झण्डामा कार्यक्रम गर्ने भन्नुभयो, हाम्रो लागि योभन्दा खुशीको कुरा के हुन्छ ? हामीले ओके भन्यौं ।’
कोटेश्वरको अकाशेपुल नजिक कार्यक्रमको तयारी थियो । ‘मान्छेसहित उहाँहरुले मञ्च उपलब्ध गराइदिएपछि हामीले वीरगञ्जबाट ल्याएको ब्यानर र झण्डा झुण्ड्यायौं र एमसीसीको विरुद्धमा कार्यक्रम सम्पन्न ग¥यौं ।’
को हुन् भाग्यनाथ गुप्ता ?
भाग्यनाथ गुप्ता त्यही व्यक्ति हुन् जसले पहिलो मधेस आन्दोलनको नेतृत्व गरेका थिए । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको आन्दोलनको केन्द्रीय संयोजक थिए भाग्यनाथ गुप्ता ।
पहिलो मधेस आन्दोलनका क्रममा भाग्यनाथ गुप्तालाई सोध्दै नसोधी उपेन्द्र यादवले २२ बुँदे सम्झौता गरेपछि उनी त्यहाँबाट अलग भएर मधेसी जनअधिकार फोरम (मधेस) गठन गरेका थिए ।
त्यतिबेला भाग्यनाथ गुप्तालाई रामकुमार शर्मा (हाल माओवादी केन्द्र), जितेन्द्र सोनल (हाल लोसपा), किशोर विश्वाश, केशव झा (हाल लोसपा), सुरेश मण्डल (हाल जसपा) लगायतले साथ दिए । विस्तारै उनीहरु भाग्यनाथ गुप्ताको साथ छाडेर महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तमलोपामा गएका थिए ।
उनीहरुले साथ छाडे पनि भाग्यनाथ गुप्ताले मधेसमा संघर्ष छाडेनन् । फोरम (मधेस) लिएर उनी मधेसमा निरन्तर संघर्ष गर्दै आएका छन् । एमसीसीको विषयमा मधेसवादी दल मौन रहेको बेला भाग्यनाथ गुप्ता मधेसबाट काठमाडौंमा आएर विरोध प्रदर्शन गरे ।
फोरम (मधेस) का ८५ वर्षीय उपाध्यक्ष जयकरण प्रसाद यादव, ५३ वर्षीय कोषाध्यक्ष मोहन प्रसाद यादवका साथमा सुन्धाराको एक होटलमा भेटिएका भाग्यनाथ गुप्ताले भने, ‘एमसीसी सम्झौतालाई अध्ययन गर्दा मन दुखेर आयो, देश बचाउनु पर्छ भनेर यो उमेरमा पनि हामीमा ऊर्जा बढ्यो, अनि हत्तपत्त हामी नाइट बस चढेर काठमाडौं आइपुग्यौं र विरोध ग¥यौं ।’
यो देश आफूहरुको पनि रहेको भन्दै उनले देशले आफूहरुलाई जति विभेद गरे पनि परिआएको बेला देशका लागि ज्यान दिन तयार छौं भन्ने सन्देश दिनका लागि पनि आफुहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेको उनको भनाइ छ ।
सत्ताका वरिपरि घुमिरहेका मधेसवादी दलहरु एमसीसीको विरोधमा बोल्दा कोही रिसाउँछ कि भनेर मौन रहेको उनले बताए । ‘तर हामी वीरगञ्जबाट आएर एमसीसीको विरोधमा मधेसको प्रतिनिधित्व ग–यौँ, यसमा हामीलाई गर्व छ,’ उनले भने, ‘एमसीसी पारित भयो भने हिमाल र पहाडमात्र बर्बाद हुँदैन, मधेस पनि बर्बाद हुन्छ । त्यही भएर काठमाडौैं आएर मधेस बोलेको हो, एमसीसी हामीलाई चाहिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक