सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

संसद् जब ‘रेस्लिङ’ खेल्ने ठाउँमा बदलिन्छ !

यस्तो छ नेपालमा झडपको संसदीय इतिहास
शनिबार, २६ भदौ २०७८, ०५ : २७
शनिबार, २६ भदौ २०७८

संसदलाई लोकतन्त्रको दर्पण मान्ने गरिए पनि बेलाबखत सांसदहरुले नै यसलाई कुरुक्षेत्रमा बदल्ने गरेका छन् । विश्वका विभिन्न देशमा झैं नेपालको संसद पनि लडाईं–झगडाबाट मुक्त छैन । विहीबार संसदमा देखिएको तनावले नेपालको लोकतान्त्रिक अभ्यासमा हाम्रो स्तर कहाँनेर छ भन्ने प्रश्न फेरि एकचोटि उब्जाएको छ ।

सत्तापक्ष र प्रतिपक्ष दुबैतर्फबाट जोरजबर्जस्ती गर्ने सिलसिला भदौ २१ गते शुरु भएर बिहीबार पनि जारी रह्यो । प्रतिपक्षी दल एमालेका केही सांसदले पहिलो दिन रोष्टममा चढ्नका लागि मर्यादापालकलाई ठेलठाल गरेका थिए । तर, शुक्रबार  एमाले सांसदहरु बच्चा जसरी मर्यादापालकको काँधमाथि चढेको दृश्य संसदमा देखियो ।

सांसदहरुले शुक्रबार प्रतिनिधि सभा बैठकमा जुन प्रकारको शैली अपनाए, यो नौलो दृश्यचाहिँ होइन । विगतमा पनि नेपालको संसदमा यस्ता धेरै घटना भइसकेका छन् ।

नेपालको संसदीय इतिहासमा भएका यस्ता केही दृष्टान्त हेरौं–  

– २०४९ सालमा आफूमाथि अभद्र व्यवहार गरेको भनेर नेपाली कांग्रेसका तत्कालीन सांसद रामचन्द्र पौडेललाई एमाले सांसद गोल्चे सार्कीले थप्पड हानेका थिए । जतिबेला पौडेल स्थानीय विकासमन्त्रीसमेत थिए ।

–२०५६ सालमा एमालेको विरोधका बीच तत्कालीन सभामुख रामचन्द्र पौडेलले स्थानीय शासन स्वायत्त ऐन पारित भएको घोषणा गरेपछि झडपको स्थिति आयो । तत्कालीन एमाले सांसदहरुले सभामुखको रोष्टम घेरे ।

–२०६४ सालमा संविधानसभाको पहिलो बैठकमा सभासद कमला शर्माले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्कालाई चप्पलले आक्रमण गरेकी थिइन् ।

–२०६७ मंसिर ३ गते तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रतिनिधि सभाको बैठकमा बजेट प्रस्तुत गर्न जाँदा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गर्दै उनको हातबाट बजेट ब्रिफकेस खोसेर बजेट वक्तब्य च्यातिदिए । भिडन्तको अवस्था आउने भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङले संसद बैठक स्थगित गरिदिएका थिए । दुई पक्षीय घम्साघम्सीमा केही सांसदहरुको लुगासमेत च्यातिएको थियो । त्यसको भोलिपल्ट अध्यादेश मार्फत बजेट ल्याइएको थियो ।

–आर्थिक वर्ष २०६८/०६९ का लागि तत्कालीन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रतिनिधि सभाको बैठकमा सहजरुपमा बजेट पेश गर्न पाएनन् । मधेस केन्द्रित दलहरुले लगातार संसद बैठकमा अवरोध सिर्जना गरेका थिए ।

https://www.dailymail.co.uk/

–दोश्रो संविधान सभाको बैठकमा दुईवटा कुर्सी तोडफोड गरेपछि तत्कालीन सांसद सञ्जयकुमार साह निलम्बनमा परेका थिए भने संवैधानिक समितिको बैठकमा पूर्वसांसद विश्वेन्द्र पाशवानले आफ्नै शरीरको कपडा च्यात्न खोज्दै भिडन्त गर्न सुरिएका थिए ।

२०७३ मंसिरमा एमालेले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै संसद अवरुद्ध गरेको थियो । २०७६ जेठमा गुठी विधेयक फिर्ताको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको थियो ।  

संघीय संसदको रोग प्रदेशसभामा पनि स–यो

–संसद बैठक अवरोध गर्ने तथा कुर्सी तोड्फोड गर्ने संघीय संसदको शैली सातै प्रदेशका प्रदेश सभा बैठकमा पनि पुगेको छ । २०७७ असोजमा लुम्बिनी प्रदेशको नाम तोक्ने सन्र्दभमा विवाद हुँदा सांसदहरुले कुर्सी तथा माइक तोडफोड गरेका थिए । सांसदहरु बसिरुद्धिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार आक्रमणमा उत्रिएका थिए । नेपाली कांग्रेसका तीन सांसदले कुर्सी भाँचेपछि उनीहरुको पार्टीले नै सो व्यवहारप्रति आपत्ति जनाएको थियो ।

–गत असार ३० गते गण्डकी प्रदेशसभामा बजेट अधिवेशन चलिरहेका बेला बजेटको बिरोध गर्दै एमाले सांसद एवं सो प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले कुर्सी उचालेर फ्याँके । साथै सो प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल विनियोजन विधेयकमाथि छलफलको प्रस्ताव गर्न रोष्टम उक्लिने बेला एमाले सांसदहरुले रोकेका थिए ।

–गत असारमा लुम्बिनी प्रदेशमा सरकारले ल्याएको बजेटमाथिको छलफल अघि बढाउन नदिन प्रतिपक्षी दलले पटक पटक प्रदेशसभा अवरुद्ध गरे । उनीहरुले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार अल्पमतमा रहेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट अगाडि बढ्न नसक्ने भन्दै विरोधमा उत्रिएका थिए ।

हामी कस्तो लोकतन्त्रको अभ्यास गर्दैछौं ?

संसदमा अहिले जुन प्रकारको तनाव भइरहेको छ, एमालेको भाषामा भन्दाखेरि यसमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षपातपूर्ण व्यवहार जवाफदेही छ । सभामुख र सरकारले प्रतिपक्षलाई पेलेर अगाडि बढ्न खोजेका कारण अहिलेको स्थिति उत्पन्न भएको प्रतिपक्षको गुनासो छ । यो गुनासो जायजै हुन सक्ला, तर एमालेका सांसदहरुले विरोध जनाउने जुन शैली र तरिका अपनाएका छन्, के यो संसदीय लोकतन्त्रको गरिमा र मूल्यअनुरुप नै छ त ? संसदीय लोकतन्त्रको अभ्यासमा यो प्रश्न पनि सँगसँगै मुखरित भएको छ ।

संसदमा अहिले भइरहेको गतिविधिले हामी कस्तोखालको प्रजातन्त्रको अभ्यास गर्दैछौं भन्ने प्रश्न पैदा भएको पूर्वसभामुख तारानाथ रानाभाट बताउँछन् । उनी अहिले देखिएको गतिविधिलाई अराजकताको संज्ञा दिन्छन् ।

पूर्वसभामुख रानाभाटले रातोपाटीसँग कुरा गर्दै भने, ‘सभामुखविरुद्ध नाराबाजी गर्नु राम्रो हैन । सभामुखलाई पनि आफ्नो, अर्को छुट्याउन मर्यादाले दिँदैन । सभामुख भएर बस्ने ब्यक्तिले सभामुख पदको गरिमा राख्ने विषयमा चिन्ता गर्नुपर्छ । सभामुख बाङ्गो भयो भनेर सेखी झार्न सदन चल्न नदिने पनि गर्नुभएन । सभामुखलाई पाठ सिकाउने भनेर उपद्रो गर्न थालियो भने त सभाको गरिमा के हुन्छ ? पाठ सिकाउने माध्यम भनेकै वार्ता, छलफल हो ।’       

संसद अवरुद्ध गर्नु बेइज्जतीपूर्ण कुरा हो : रामनारायण बिडारी

राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संसद अवरुद्ध गर्नु गतल संसदीय अभ्यास भएको बताए । उनले केपी शर्मा ओलीले संसद देखिनसहेकाले पटक–पटक विघटन गरेको बताउँदै  संसदमा बोल्न दिन आफ्ना भनाइ राख्न दिनुपर्ने बताए । उनले तलब खाएर संसदमा आएपछि संसद अवरुद्ध गर्न नहुने बताए ।

उनले माओवादीका सांसदलाई छिटै कारवाही गर्नुको कारण उनीहरुले स्वंयले एमाले प्रवेश गरेको, स्थायी किमिटी सदस्य भएको बताएपछि सभामुखलाई कारवाही गर्न सजिलो भएको जिकिर गरे ।

तर, एमालेमा भने त्यस्तो नभएको उनको तर्क छ । उनले बैशाख २७ गते भएको घटनाको आधारमा भदौमा आएर कारवाही गर्न नमिल्ने र १४ सांसदलाई राजनीतिक दल त्याग गरेका आधारमा कारवाही नगरेको उल्लेख गरे ।

प्रतिनिधि सभा विघटन हुने अवस्थामा प्रतिनिधि सभा जोगाउनका लागि माधव नेपालहरुले काम गरेको हुनाले ऐनविरुद्धको काम नगरेको जिकिर गरे । उनले भने–‘त्यही संसद जोगिएका कारण आज ओलीजी म पनि सांसद हुँ भनेर टक्रक्क बस्न पाउनुभएको छ । यदि माधव नेपालहरुले त्यस्तो नगर्नुभएको भए उहाँपनि सांसद हुुनुहुन्थ्यो, अहिले देश भद्रगोल अवस्थामा पुगेको हुन्थ्यो । त्यसकारण यो संसद अवरुद्ध गर्ने काम वाइयात हो ।’

बिडारीको प्रश्न छ, ‘संसदभित्रै संसदीय मर्यादा कायम गर भनेर नाराबाजी गर्नु संसदीय मर्यादाको कुरा हो ?’

सभामुखले पनि पदको गरिमा राख्नुपर्छ : तारानाथ रानाभाट, पूर्वसभामुख

पहिलेका संसद बैठकहरुमा कुर्सी भाँच्ने, माइक फुटाउने, संसदको रेलिङ भाँच्ने काम गर्थे । धेरैपटक संसद अवरोध हुन्थ्यो । संसदमा विरोध गर्नु समान्य भए पनि झडप गर्न खोज्ने काम अराजक व्यवहार हो । त्यसलाई नियन्त्रण गर्ने विधिहरु छन् । सांसदहरु पनि संविधान, संसदीय ऐन नियम र संसदीय मर्यादाको परम्पराको अधीनमा रहनुपर्छ । रोष्टम घेर्ने भनेको अहिले सभामुखको आसनलाई घेर्न खोज्दा रहेछन्, खास घेर्ने भनेको बोलिरहेको ‘पोडियम’ हो ।

सभामुखविरुद्ध नाराबाजी गर्नु राम्रो हैन । यो–यो परिस्थितिमा सभामुख विरुद्ध काम गर्न पाइन्छ भनेर नियमावलीमा व्यवस्था गरेको हुन्छ । तर, अभद्र व्यवहार गरेर, अपशब्दहरु प्रयोग गर्न, प्रतिपक्ष वा सत्तापक्षलाई अपशब्द प्रयोग गर्न मर्यादाले दिँदैन ।

सभामुखलाई पनि आफ्नो अर्को छुट्याउन मर्यादाले दिँदैन । हामीले निष्काशन गरेकालाई कारवाही किन गरिएन भन्ने एमालेको गुनासो छ । सभामुखले दर्ता गरेको कागजमा कानून आकर्षित भएको छ कि छैन, त्यसबारेमा पारदर्शिता गराइदिनुपथ्र्यो । कि यहाँ नियमावली आकर्षित देखिँदैन, तपाईहरुले भन्नेवित्तिकै कारवाही हुँदैन भन्न सक्नुप¥यो । त्यतिकै भनेर मात्र भएन ऐन, नियमावली केमा छ, फलानो फलानो दफा उपदफाले भनेअनुसार तपाईको माग पूरा हुँदैन भन्न सक्नुप¥यो । कि मैले फलानो फलानो व्यवस्थाअनुसार कारवाही रोकेँ भन्न सक्नुप¥यो । सभामुखलाई उनको सचिवालयले पनि प्रभावकारी सुझाव दिनसक्नुपर्ने हो ।

सभामुख भएर बस्ने ब्यक्तिले सभामुख पदको गरिमा राख्ने विषयमा चिन्ता गर्नुपर्छ । त्यसको गरिमा राख्न ऐन नियम संविधान त छँदैछ, त्यो बाहेक हरेक दललाई वा हरेक दलको संसदीय दलको नेतालाई, पार्टीकै नेतालाई बोलाएर तपाईको पार्टीले मलाई यसरी सहयोग गरेको छ यसरी असहयोग गरेको छ भनेर दुईटै कुरा भन्नुपर्छ । सभामुखले बोलाएपछि जुनसुकै पार्टीका प्रतिनिधि छलफलमा सहभागी पनि हुुनुपर्छ । संसदको गरिमा कायम गर्न, शान्ति कायम गर्न, विजनेशहरुलाई स्वस्थ ढंगले अगाडि बढाउन ल मलाई सहयोग गर्नुप¥यो भनेर संसदीय दललाई उनले अनुरोध गर्न सक्छन् ।

हाम्रोमा अहिले भइरहेको यो पद्दति स्वस्थ संसदीय व्यवस्थाका लागि उपयुक्त हैन । संसदमा जनताले निर्वाचित गरेर पुगेका जनप्रतिनिधिहरु सार्वभौम संस्थाका सदस्य र सार्वभौम जनताका प्रतिनिधि हुन् । संसद भनेको त सरकारको आमा हो । त्यसलाई नै अवमूल्यन गरेर, पद्दति भत्काउने काम गरेर, संसदीय मर्यादाका परम्पराहरु उल्लंघन गरेको कुरा त छोडिदिनुुुुस,  ‘ब्ल्याक एण्ड ह्वाइट’ मै लेखेका कुराहरु पनि उल्लंघन गरिरहेका छन् ।

अहिलेको संसदको गतिरोध अन्त्य गर्न छलफल बाहेक अरु उपाय छैन । छलफलमा बस्नुप¥यो । कसले कति गल्ती ग¥यो, छलफल गरेर समझदारीपूर्वक सदन चलाउने उपाय खोज्नुपर्छ । त्यसकारण सभामुख पनि अत्यन्तै संवेदनशील भएर आफ्नो मर्यादाभित्र रहनुपर्छ । संविधान, कानुन, नियमका आधारमा सत्तापक्ष र प्रतिपक्षलाई उनले परिचालन गर्ने हो । अप्ठेरो पर्नेवित्तिकै संयुक्त वा बेग्लाबेग्लै रुपमा समाधानको उपाय खोज्ने हो ।

सभामुख सोझो वा बांङ्गो दुईटै हुन सक्छ । सभामुख बाङ्गो भयो भनेर सेखी झार्न सदन चल्न नदिने पनि गर्नु भएन । सभामुखलाई पाठ सिकाउने भनेर उपद्रो गर्न थालियो भने त सभाको गरिमा के हुन्छ ? पाठ सिकाउने माध्यम भनेकै वार्ता, छलफल हो । सभामुख र संसदीय दलका नेताहरुले उपायहरु खोज्ने हो । भएन भने माउ पार्टीहरुलाई गुहार्ने हो ।

यसरी अवरोध मात्रै गरेर सदन चलेन भने त यो संविधान, व्यवस्थाको नै विरुद्धमा हुन्छ । संसारका अगाडि हाम्रो गरिमा के हुन्छ ? अहिलेको विश्वमा नेपालको मात्रै यो आन्तरिक मामिला त हैन । अहिले त सूचना प्रविधिले मिनेट मिनेटमा यहाँको समाचार बाहिर गइरहेको हुन्छ । शक्तिराष्ट्रका मान्छेहरु यहाँ बसिरहेका छन् । आज तिनीहरु जुधेर ढुङ्गाले हान्नुभन्दा पहिले नै विदेशीले थाहा पाएको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप