शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभामा अवरोधका बीच प्रतिस्थापन विधेयक, के भन्छन् नेताहरु ?

शुक्रबार, २५ भदौ २०७८, २३ : २१
शुक्रबार, २५ भदौ २०७८

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोधका बाबजुद सरकारले प्रतिस्थापन विधेयक पेस गरेको छ । विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अराजकता अन्त्य गर्नका लागि प्रतिस्थापन विधेयक ल्याइएको बताए ।

आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको जिकिर गर्दै उनले बजेटमात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको बताए ।

प्रतिस्थापन विधेयकको मुख्य पक्ष आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको उनको भनाइ थियो । ‘संवैधानिक व्यवस्था अनुसार मैले आज प्रतिस्थापन विधेयक ल्याएको छु,’ उनले भने, ‘यसको मुख्य पक्ष के हो भने पहिलो कुरा आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने रहेको छ । अर्थ नभएका बजेटमात्र विनियोजन गरेका त्यस्ता योजनाहरुलाई मैले हटाएको छु र चालु खर्च अन्र्तगत तालिम भत्ता लगायतको बजेट १० प्रतिशत कटौती गरेर कोभिडको लागि भ्याक्सिन किन्ने बजेटमा मैले त्यसलाई रुपान्तरण गरेको छु ।’

उता, पूर्वमन्त्री तथा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले सरकारले आज संसदमा के ल्यायो भन्ने आफूहरुले थाहा नपाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा आफूहरुको विरोधका बाबजुद सरकारले प्रतिस्थापन विधेयक ल्याएकोप्रति व्यङ्ग्यात्मक शैलीमा उनले बैठकमा सरकारले के ल्यायो भन्ने आफूहरुलाई थाहा नभएको बताएका हुन् ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सभामुखले निर्वाह गर्नुपर्ने न्यूनतम भूमिका पनि निर्वाह नभएको बताए ।

सभामुख अग्निप्रसाद सापकोटाले असमान व्यवहार गरेको र आफूहरुप्रति असहिष्णु व्यवहार गरेको भन्दै उनले सभामुखलाई मान्न नसकिने बताए । आफूहरुले सभामुखको गलत कामको विरोध गरेको उनको भनाइ थियो ।

‘त्यो कुर्सी (सभामुखको आसन) मा बसिरहँदाखेरी सबै दलप्रति समान व्यवहार गर्नुपर्छ । उहाँले त्यो काम गर्नुभएन,’ बाँस्कोटाले भने, ‘हाम्रो विरोध त्यसप्रति हो । यतिसम्म असहिष्णुता देखाइसक्नु भएको छ कि कार्यव्यवस्था परामर्श समितिको बैठकमा त्यसका सदस्यहरुलाई समेत कार्यसूची र एजेण्डा उहाँ दिनुहुन्न भनेपछि उहाँले संसद कसरी चलाउनुहुन्छ ?’

उनले आफूहरुले संसदमा अवरोध गरेको नभई सभामुखको गलत तरिकाको विरोध गरेको प्रस्ट पारे । उनले भने, ‘हामीले अवरोध गर्न खोज्या हो र ? उहाँको तरिका गलत भयो, त्यसको विरोध गरेको हो । प्रतिवाद गरेको हो ।’

पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले नेकपा एमालेले संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गरेको बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले नेकपा एमालेले सांसद र सभामुखलाई चिन्दिन भनुन्जेल संसदमा यस्तै कोलाहल भइरहने बताए ।

‘हाम्रो संसदीय अभ्यासको क्रममा आज र अस्तिको बैठकमा जे भयो, यो सुखद् कुरा होइन, तर यसको कारण नेपाल कम्युनिष्ट पार्टी एमालेको संसदीय व्यवस्थाभित्र प्रतिपक्षले प्रयोग गर्न सक्ने, आफ्नो असहमति व्यक्त गर्ने तरिकाको चरम दुरुपयोग गर्न खोज्दा यो स्थिति आएको छ,’ उनले भने ।

संसदमा प्रस्तुत हुने कुनै विधेयकको विषयलाई लिएर, सरकारको कुनै एउटा निश्चित निर्णयका विषयलाई लिएर हामी संसद अवरुद्ध गर्दछौँ भनेको भए आफूहरुले प्रतिपक्षसँग संवाद गरेर समस्याको निकास खोज्न दबाब सक्ने भए पनि एमालेले सभामुख नै मान्दिनँ, सांसद नै मान्दिनँ, यो संसदभित्र आएको सदस्यलाई म चिन्दै चिन्दिनँ, त्यसको आधारमा संसद चल्न दिन्न भनेका कारण कसैले पनि संवाद गरेर यसको हल निकाल्न नसक्ने उनको भनाइ थियो ।

उनले भने, ‘म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई के स्मरण गराउन चाहन्छु भने यसैगरी उहाँले संसदभित्र पारित गर्नुभएको विधेयक पारित गर्दै गर्दाको अवस्था स्मरण गराउन चाहन्छु, उहाँले त्यो दिनलाई स्मरण गर्न सक्नुपर्छ, जुन दिनसम्म उहाँहरु सभामुखलाई मान्दिनँ, यो संसद, संविधान, ऐन, नियम, कानूनले चिनेको मान्दिनँ भन्नुहुन्छ त्यो दिनसम्म संसद यसरी चल्ने भन्दा अर्कोबाटो देख्दिनँ ।’

नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिबिना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताए । उनले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनु पर्ने भन्दै तत्काल पेस गर्न हतार गर्नुको औचित्य नदेखिएको बताए ।

‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसदभित्र सबैको सहमति लिएर रिप्लेशमेण्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको सरोकारको विषय हो यो,’ उनले भने । तर वातावरण बनाएर ल्याउनु पथ्र्यो भन्ने उनको भनाइ छ । उनले भने, ‘आजको आजै गर्नुपर्ने कुरा पनि थिएन, त्यो विषय लिएर सर्वदलीय छलफल, सहमतिबाट गरेको भए धेरै राम्रो हुन्थ्यो ।’

त्यस्तै नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताइन् ।

सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ भूमिका खेलेको बताउँदै उनले यसले संसदीय मर्यादाको धज्जी उडेको टिप्पणी गरिन् ।

‘सफल हुन हामी आफू प्रयास गर्ने हो, वास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको धज्जी उडेको छ, सभामुखको यो भूमिका आफ्नो मर्यादा भन्दा बाहिर छ,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप