बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : बजेटको आकार घट्यो, संसदमा हंगामा (भिडियोसहित)

शुक्रबार, २५ भदौ २०७८, २० : २८
शुक्रबार, २५ भदौ २०७८

आज २०७८ साल भदौ महिनाको २५ गते शुक्रबार । सधैँ झै आज पनि हामी रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी सन्ध्याकालीन ब्रिफिङ’ लिएर यहाँहरुसमक्ष आएका छौं ।

आजको मुख्यमुख्य समाचारमा सरकारले एमालेको विरोधका बीच सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जित बजेट ल्याएको, बजेटमा केही आकर्षक विशेषताहरु रहेको, काँग्रेस महाधिवेशन कार्यतालिकामा हेरफेर, एमसीसी उपाध्यक्षको भेटवार्ता जारी, कोरोनाको नियमित अपडेट लगायत रहेका छन् ।

१. बजेटको आकार घट्यो

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आर्थिक विधेयक–२०७८ मार्फत चालु आर्थिक वर्ष २०७८/७९ को परिमार्जित बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा कुल १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेश गरेका हुन् ।  जुन अघिल्लो अध्यादेश बजेट भन्दा १४ अर्ब ७४ करोडले कमी हो ।

जबकि केपी शर्मा ओली नेतृत्व सरकारले अध्यादेश मार्फत कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको थियो ।

१६ खर्ब ३२ अर्ब ८३ करोड मध्ये, चालु खर्च तर्फ कुल ६ खर्ब ७७ अर्ब ९९ करोड, पुँजीगत खर्च तर्फ ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड र अन्तरप्रदेश वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड विनियोजन गरेको सरकारले जनाएको छ । विशेषतः अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्दै बजेट ल्याएको सरकारले केही लोकप्रिय कार्यक्रम समेत ल्याएको छ ।

​२. बजेटमा विभिन्न आकर्षक कार्यक्रम

परिमार्जित बजेटमा कोभिड–१९ बाट प्रभावित करिब ५ लाख परिवारलाई राहत स्वरुप १ पटकका लागि प्रति घर परिवार १० हजार रुपैयाँका दरले नगद अनुदान प्रदान गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए । कृषि तथा पशुजन्य व्यवसायमा बिमा प्रिमियर ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याएको पनि अर्थमन्त्रीले जानकारी दिए ।  शहरी विपन्न नागरिकहरुको लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौंमा उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ रुपमा खानाको व्यवस्था गरिने पनि उनले बताए ।  

थप समाचार


२. प्रतिनिधिसभामा हंगामा

अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रतिनिधिसभा बैठकमा आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ को प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै परिमार्जन बजेट ल्याउँदा पनि उस्तै तनावको अवस्था रह्यो । केही सांसदहरुले रोस्टमतिर अघि बढ्ने प्रयास समेत गरेका थिए ।

यद्यपि नाराबाजी कै बीच प्रतिनिधिसभा बैठकले तीन वटै अध्यादेश स्वीकृत गरेको थियो परिमार्जित बजेट पनि प्रस्तुत भयो । एमालेले माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले संसदमा अवरोध जारी राखेको हो । यसैगरी, प्रतिनिधिसभाको बैठक आगामी भदौ २७ गतेसम्मका लागि स्थगित भएको छ ।

३. सभामुखमाथि खनियो एमाले

प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुको विरोधका बीच सभामुखले बलपूर्वक सदन चलाएकोमा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले संसदीय मूल्य मान्यताको उल्लंघन गरेको आरोप लगाए । उनले अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत बजेटमा के ल्याइयो भन्ने कुरा ठूलो नभएको बताउँदै संसदमा विधि के अपनाइयो भन्ने कुरा मुख्य भएको बताए ।

यसैबीच यसैगरी एमालेका सांसदहरुको चर्को नाराबाजीबीच प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरे ।

सांसद सुवालले राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।

​४. राष्ट्रियसभा बैठकमा पनि अवरोध जारी

यसैगरी एमालेको अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ ।  शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी भदौ २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

​५. एमसीसी उपाध्यक्षको भेटवार्ता जारी

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा मसुरले भेटवार्ता जारी राखेकी छिन् । उनले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, ऊर्जामन्त्री पम्फा भुसाललगायतसँग छलफल गरेकी छिन् । छलफलका क्रममा प्रचण्डले एमसीसीबारे राष्ट्रिय सहमति आवश्यक भएको बताएका थिए ।

६. काँग्रेसद्वारा महाधिवेशन कार्यतालिका परिमार्जन

नेपाली काँग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा महाधिवेशनसमेत सम्पन्न हुन नसकेपछि काँग्रेसले महाधिवेशन कार्यतालिका संशोधन गरेको हो ।

काँग्रेस निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले २० जिल्लाको वडा अधिवेशन नै हुन बाँकी रहेको बताउँदै महाधिवेशन कार्यतालिकामा हेरफेर गरिएको बताए । उनका अनुसार आज डडेलधुरा जिल्लाको वडा अधिवेशन भएसँगै हालसम्म ५७ जिल्लाको मात्रै सम्पन्न भएको छ ।

बाँकी २० जिल्लाको अधिवेशन अब क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर एकसाथ असोज ५ बजे गर्ने निर्णय भएको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार काँग्रेसले वडा अधिवेशन भदौ १८ देखि २१ गतेभित्रै सक्नुपर्ने थियो ।

यस्तै पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार अब पालिकाको अधिवेशन असोज ९ गते हुनेछ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १८ अधिवेशन गरिने भएको छ । यसअघि असोज १० गते गर्ने कार्यतालिका रहेको छ ।

तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिने पुरानो कार्यतालिका यथावत गरिएको छ भने मंसिर ९ देखि १३ सम्म तय भएको महाधिवेशनको मिति पनि तत्काल परिवर्तन गरिएको छ ।

​७. आजदेखि खुल्यो पशुपतिनाथ

हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि खुला गरिएको छ ।  कोरोना भाइरस महामारीको जोखिमका कारण ४ महिनादेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज (शुक्रबार) बिहान ६ बजेबाट भक्तजनहरूका लागि खुला गरिएको हो ।

८. घट्दै कोरोना संक्रमित

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ हजार ६६० जना संक्रमणमुक्त भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना  पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएसँगै मृतकको संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।

९. मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो । सरकार परिवर्तनको तयारीमा पाँच दलीय गठबन्धन जुटेका छन् ।

​१०. र, यो पनि..

नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले रातोपाटीलाई जानकारी दिए ।

​प्रदेश १ मा प्रत्येक वर्ष जबरजस्ती करणीका घटना बढेको देखिएको छ । पछिल्ला तीन वर्षको अवधिमा एक हजार ६२५ वटा जबरजस्ती करणीका घटना भएका छन् । प्रदेशका कुल १४ जिल्लामा बर्सेनि औसत ५ सय बढीको संख्यामा जबरजस्ती करणीको घटना हुने गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ, जसमा ५ वर्षे शिशुदेखि ७० वर्षीया वृद्धा समेत बलात्कारमा परेका छन् ।

​निर्वाचन आयोगले प्रदेश १ प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका नेकपा एमाले १० सांसदले नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा गराएको सनाखतलाई मान्यता दिएको छ ।

​नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुला गरेको छ । प्राविधिक समूह अन्तर्गत विभिन्न रिक्त पदहरुमा दरखास्त आह्वान गरिएको प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवम् प्रशासन विभागले शुक्रबार जनाएको छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरुद्धमा परेको रिट उपर शुक्रबार सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैले सुनुवाई गर्नेगरी सो रिटको पेसी तोकिए पनि रिट निवेदकका कानुन व्यवसायीका तर्फबाट सुनुवाई स्थगितको माग भएपछि सुनुवाई हुन नसकिएको हो । यस्तै आफताब लामको मुद्दा पनि सुनुवाइ भएन ।

थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप