बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीमा काँग्रेसको चुनावी सरगर्मी तीव्र, महानगरसहित कुन पालिकामा कसको दाबी ?

शुक्रबार, २५ भदौ २०७८, १३ : ५९
शुक्रबार, २५ भदौ २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको पहिलो चरणमा वडा अधिवेशन सम्पन्न भएपछि कास्कीमा पालिकास्तरीय अधिवेशनको प्रक्रिया सुरु भएको छ । दोस्रो चरणमा सम्पन्न हुन गइरहेको पालिकास्तरीय निर्वाचनमा उमेदवारका आकांक्षीको सक्रियता बढ्न थालेको छ । 

एक महानगर र ४ गाउँपालिका रहेका कास्कीमा आगामी कार्यकालका लागि यही भदौ २७ गते सम्पन्न हुने निर्वाचनका लागि आकांक्षीहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

कास्कीमा यसअघि सम्पन्न वडा अधिवेशनका क्रममा अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन भएपनि पालिकास्तरीय नेतृत्वका लागि भने निर्वाचन हुने सम्भावना अधिक छ । महानगरको नेतृत्वका लागि आकांक्षीहरुको आकर्षण बढी रहेको छ । काँग्रेसको विभिन्न जिम्मेवारी सम्हालेका दिग्गज व्यक्तित्वहरुले नेतृत्वका लागि दावी गरिरहेका छन् ।

क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरको निर्वाचनमा उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ। काँग्रेस पोखरा महानगर समितिको सभापतिमा हालसम्म ६ जनाले दाबी पेस गरेका छन् । नेतृत्वका लागि महानगरको  निर्वाचित वडाध्यक्ष, पत्रकारदेखि व्यवसायीसम्मले उम्मेदवारी घोषणा गरेका छन् । 

महानगरको आगामी नेतृत्वका लागि वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, अग्रज पत्रकार गंगाधर पराजुली, महिला ज्योति हमाल, पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने, वडा नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोला र मिलन तिवारीले उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समय पोखरामा रहेर पत्रकारिता गरेका पराजुलीले नगर सभापतिमा उम्मेदवारी दिएका छन् । करिब चार दशक पत्रकारिता गरेका पराजुली नेपाल प्रेस युनियन र नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएर काम गरेका छन् । उनी न्यूनतम पारिश्रमिक निर्धारण समिति नेपालको अध्यक्ष समेत भएर कार्यकाल पूरा गरिसकेका छन् भने राष्ट्रिय समाचार समितिको सञ्चालक सदस्यसमेत बनेर कार्य गरिसकेका छन् । 

पराजुली पार्टीको १२ औं महाधिवेशनमा कास्की काँग्रेसको सचिवमा झिनो मतले पराजित भएका थिए । अहिले महानगरको सभापतिमा उमेदवार बनेका पराजुलीलाई बलियो उम्मेदवारका रुपमा हेरिएको छ । 
पराजुलीलाई सञ्चार जगतमा प्रभावशाली व्यक्तित्वका रुपमा लिइन्छ । 

पराजुलीले कांग्रेसलाई जिवन्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आफूले १२ वर्षको उमेरदेखि नै विद्यालयस्तरबाटै नेपाल विद्यार्थी संघको इकाइ समितिको सचिव हुँदै राजनीतिक यात्रा थालेको र  विद्यालय तहकै अध्ययनका क्रममा राजनीतिमा सक्रिय हुदा गिरफ्तारीमा परेको बताउँछन् । उनले विद्यार्थी राजनीतिबाटै पटकपटक गरी २ महिना जेल जीवन बिताएको बताए ।
पराजुलीले महानगरवासीका एजेण्डा र मुद्दालाई शसक्त ढंगले उजागर गर्दै समग्र पोखराको विकासका लागि अभियान चलाउन काँग्रेसलाई सक्षम बनाउन चाहेको उल्लेख गरे । उनले आफू महानगर समितिको सभापतिमा निर्वाचित भएपछि पार्टी संगठनलाई तल्लो तहबाट जागरुक, र संगठित बनाउने अभियानमा लाग्ने बताए ।

त्यसैगरी वर्तमान उपसभापति सुरेन्द्रमान विजुक्छेले आफू सभापतिको स्वभाविक उम्मेदवार भएको बताएका छन् । उनले यसअघि नगर समितिको कोषाध्यक्षको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।  

बिजुक्छेले पार्टी संगठनलाई चुस्त र दुरुस्त बनाउनु पर्ने आवश्यकता औल्याउँदै नेता कार्यकर्तालाई गोलबन्द गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउनु नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले नेपाली कांग्रेसको चरित्र नै समावेशी भएकाले आगामी दिनमा पार्टीलाई समावेशी बनाउने अभियानमा लाग्ने उल्लेख गरे । 

त्यसैगरी ज्योति हमाल गण्डकी मन्त्रिपरिषद्मा महिला सहभागिता नगराइएको प्रति असन्तुष्टि जनाउँदै नगर सभापतिको उम्मेदवार बनेकी छन् । उनले महिलालाई सधैं उपेक्षा गरिएकाले त्यस विरुद्ध आपूmले उम्मेदवारी दिएको दावी गरेकी छन् । 

त्यसैगरी पोखरा महानगरपालिका वडा नम्बर नम्बर ११ का वडाध्यक्ष मोहन बास्तोला र वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछानेले समेत आफूहरुले लामो समयदेखि काँग्रेसमा महत्वपूर्ण भूमिका निभाएको दावी गर्दै उम्मेदवारी दिएका छन् । 

बास्तोलाले कांग्रेसको प्रजातन्त्रिक आन्दोलनलाई थप सशक्त रुपमा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले पोखराका गाउँ क्षेत्रमा प्रभावकारीरुपमा संगठन विस्तार गरेर कांग्रेस प्रति आकर्षण बढाउने दावी गरे । अध्यक्ष बास्तोलाले आउँदो चुनावमा कांग्रेसलाई वडा अध्यक्षदेखि मेयरसम्म जिताउने संकल्प सिहत आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले सभापतिमा निर्वाचित भएपछि कांग्रेसलाई सशक्त र प्रभावकारी बनाउन थप भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यसैगरी कास्कीका अन्य पालिकाहरुमा समेत आकांक्षीहरूले उम्मेदवारी घोषणा गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सभापतिमा मनपति भण्डारी र विजय गुरुङ लगायतले उम्मेदवारी घोषणा गरेका छन् । त्यसैगरी माछापुच्छ्रे«े गाउँपालिकमा वीरेन्द्र गुरुङ, मधुसुदन अधिकारी र रामबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । 
मादी गाउँपालिकामा ओमप्रकाश गुरुङ र अर्जुन गुरुबीच प्रतिस्पर्धा हुने भएको छ। त्यसैगरी रुपा गाउँपालिकामा गीमाया गुरुङ, खेम गुरुङ, आनन्द सुवेदी र विमल न्यौपाने बीच प्रतिस्पर्धा हुने भएको छ ।
महाधिवेशनमा पोखरा महानगरपालिकामा १ हजार ३ सय ७०, अन्नपूर्णमा १ सय ९८, मादीमा १ सय ९२, माछापुच्छ्रेमा १ सय ७३ र रुपा गाउँपालिकामा १ सय ३० जनाले नेतृत्व चयनका लागि मतदान गर्ने छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप