स्वास्थ्य

भारतमा ‘बाल-डेंगु’ व्यापक, नेपालमा जोखिम कति ?

person explore access_timeभदौ २५, २०७८ chat_bubble_outline0

 

कोरोनाको अर्को लहर आएमा बालबालिका समस्यामा हुनसक्ने आङ्कलन र चिन्ता व्यक्त गरिँदै गर्दा भारतमा भने डेंगुले बालबालिकामा व्यापक प्रभाव पारिरहेको र कतिपय सङ्क्रमितहरूले मृत्युवरण समेत गर्नु परेका विभिन्न भारतीय सञ्चारहरूले प्रेषित गरिरहेका छन् । डेंगु फैलिरहेको स्थानका बालरोग अस्पताल वा विभागहरू बिरामी बालबालिकाहरूले भरिभराउ भएका भनिएका छन् । नेपालमा पनि डेंगु फैलने मौसम ढोकैमा आइसक्दा कतै भारतमा जस्तो "बाल-डेंगु" अर्थात्  बालबालिकामा डेंगुको प्रकोप देखिने सक्ने शङ्का उत्पन्न भएको छ र यो स्वाभाविक पनि हो । नेपालमा सामान्यतया असोज-कार्तिकतिर डेंगुले उचाइ लिने गर्दछ ।      

नेपालमा सन् २००४ यता डेंगु पुष्टि हुन् थालेको हो । इतिहासमा नै पहिलो पटक सन् २०१९ मा सबैभन्दा लामो समय, धेरै जिल्ला तथा सबैभन्दा धेरै मानिस डेंगुले सङ्क्रमित भएका थिए । काठमाडौँ सो समयमा नराम्ररी डेंगुले प्रभावित भएको थियो । लेखकले त्यो भन्दा अघिल्लो वर्ष ( सन् २०१८) बालाजु क्षेत्रमा लगभग एक दर्जनको हाराहारीमा डेंगु सङ्क्रमित बिरामीको उपचार गरेको थियो । सन् २०१९ मा डेंगुले मनसुन शुरु हुनु भन्दा अगाडीबाट नै धरान हुँदै काठमाडौँ प्रवेश गर्दा लेखकले पहिलो पटक एक पछि अर्को मानिसमा डेंगु सङ्क्रमित हुँदै गरेको/फैलेको देखेको थियो ।  सुरुवातमा काठमाडौँको खुसिबू (नयाँ बजार) क्षेत्रबाट अत्यधिक डेंगु सङ्क्रमितहरू शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने क्रम शुरु भएको थियो । सो अवस्थालाई सम्बोधन गर्न अस्पतालले इतिहासमा पहिलो पटक "फिभर क्लिनिक" को स्थापना गरिएको थियो जुन डेंगु लक्षित थियो र लेखकले नै सो क्लिनिकको श्री गणेश गरेको थियो । सो "फिभर क्लिनिक" बाट दैनिक सयौँले उपचार तथा परामर्शको सेवा लिएका थिए । यो अस्पतालको एउटा ठुलो सफलता पनि थियो ।     

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सामान्यतया विगतमा डेंगु सङ्क्रमित बालबालिकाहरू भर्ना हुने गरेका थिएन । तर नेपालमा नै "बाल-डेंगु" को  यकिन अवस्था वा तथ्याङ्क भने देखिँदैन/भेटिँदैन । हालसम्मको विभिन्न अनुसन्धानहरूले पनि स-साना बालबालिकामा डेंगुले युवा वा वृद्धहरुको तुलनामा कम प्रभावित पारेको वा मृत्यु गराएको देखिन्छ । नेपालमा गरिएको एक अनुसन्धानले एघार वर्षको अवधिमा (सन् २००६ देखि २०१६ सम्म) पन्ध्र वर्ष मुनिका बालबालिकामा औसतमा वार्षिक ७२ जना डेंगु प्रमाणित हुने गरेको देखिन्छ ।  यद्यपि सबैले परीक्षण नगर्ने वा गर्नबाट वञ्चित हुने हुँदा "बाल-डेंगु"को सङ्ख्या कयौँ गुणा बढी हुन सक्दछ । सन् २०१० र २०१३ मा अरू वर्षहरूमा भन्दा बढी सङ्ख्यामा "बाल-डेंगु" प्रमाणित भएको थियो । दक्षिण पूर्वी एसियाली देशहरूमा औसतमा पाँच प्रतिशत शिशु तथा बालबालिकामा कडा डेंगु देखिएको अनुसन्धानहरूले देखाउँदछ । तर नेपालमा "बाल-डेंगु" को केही तथ्याङ्कहरू देखिए पनि कडा डेंगुको अवस्थाको बारेमा भने खासै जानकारी छैन । वास्तवमा, लेखकले सन् २०१९ मा धरान सहरमा डेंगुले महामारीको रूप लिँदा अस्पताल पुगेका बिरामीहरूलाई बालबालिकाको बारेमा पनि सोधेको थियो तर युवाको तुलनामा बालबालिकाहरू कडा डेंगु भएर उपचार गर्न अस्पतालमा आएको आफूले नदेखेको भनेका थिए । काठमाडौँमा पनि बाल रोग अस्पताल भरिभराउ भएको जानकारी बाहिर आएन  । तर हालै भारतमा बालबालिका डेंगुको चपेटामा पर्दै गर्दा र डेंगु मौसमले नेपालमा प्रवेश गर्दै गर्दा सतर्कता अपनाउनु पर्ने भने देखिन्छ ।

नेपालमा देखिएको डेंगुको जीनको विश्लेषण गर्दा भारतमा देखिएको डेंगुसँग मिल्दो जुल्दो देखिएको विगतमा गरिएका केही अनुसन्धानहरूले देखाउँदछ । अर्थात् भारतमा डेंगुले देखाउने हर्कत नेपालमा पनि नदेखाउला भन्न सकिँदैन । अझ स्पष्ट भन्नु पर्दा, भारतमा बालबालिकामा पारिरहेको प्रभाव जस्तै नेपालमा पनि हुनसक्ने अनुमान गर्न सकिन्छ । नेपालमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे प्रशस्त छन् । अझ आज भोलि तपाई हामीले दैनिक जसो लामखुट्टेको टोकाइको सामना पनि गरिरहेका छौ । भारतमा डेंगु फैलिरहेको स्थानबाट जो कोही व्यक्ति सङ्क्रमित भएको झन्डै एक हप्ताको अवधिमा नेपाल आइपुगे र यहाँका रैथाने एडीस लामखुट्टेले टोके सो लामखुट्टे सङ्क्रमित भई डेंगु फैलाउन सक्दछ । यदि भारतमा हाल देखिएको डेंगु भाइरस बालबालिकालाई कडा डेंगु गराउन सक्ने क्षमताको हो भने नेपालमा पनि त्यस्तै नियति बालबालिकाले भोग्नु पर्ने हुन सक्दछ ।

डेंगु भाइरस एडीस जातको लामखुट्टेको टोकाइबाट सङ्क्रमित व्यक्तिबाट स्वास्थ्य व्यक्तिमा सार्ने गर्दछ । तसर्थ यो किटजन्य रोग अन्तर्गत पर्दछ । सङ्क्रमण भएको ४ देखि १० दिन सम्ममा लक्षणहरु देखिन शुरु हुन्छ । ज्वरो आउनु, आँखाको गेडी दुख्नु, जिउ दुख्नु, वाक वाक वा बान्ता हुनु, शरीरमा स-साना बिबिरा देखिनु आधी डेंगुका मुख्य लक्षणहरू हुन् । रगत परीक्षण गर्दा सेतो रगत र प्लेटेलेट्सको सङ्ख्यामा कमी देखिनु, हेमाटोकृत तथा लिभर एन्जाइम बढ्नु जस्ता सुरुवाती अवस्थामा देखिने गर्दछ । पेट दुख्नु, निरन्तर बान्ता हुनु, क्लिनिकली पेट वा छातीमा पानी जम्नु, हातखुट्टा चिसो हुनु, अत्यधिक सुस्त हुनु, कलेजोको आकार दुई सेन्टिमिटर भन्दा बढी हुनु र त्यस्तै रगत परीक्षणमा तीव्र गतिमा प्लेटेलेट्सको सङ्ख्या घट्नु र हेमाटोकृत बढ्नु जस्ता देखिए त्यो सङ्क्रमित जटिल अवस्था तिर जाँदै छ भनेर बुझ्नु पर्दछ । जटिल अवस्था सामान्यतया ज्वरो कम भएको २४ देखि ४८ घण्टामा देखिन सक्दछ । डेंगुलाई "ब्रेक बोन" ज्वरो अर्थात् हड्डी भाँचिए जस्तै दुख्ने ज्वरो पनि भनिने गरेकोले धेरैले दुखाई कम गर्ने औषधी खादा थप रक्तश्राव हुने सम्भावना बढेर जानेछ । नेपालमा दुखाई कम गर्न ब्रुफिन, फलेक्सन, एस्पिरिन जस्ता औषधीहरू आफै किनेर खाने चलनले डेंगु सङ्क्रमित बिरामी थप जटिल अवस्थामा जान सक्नेछ ।  पारासिटामोल भने आवश्यकता र चिकित्सकको सल्लाह अनुसार लिन सकिनेछ ।

अन्तमा, भारतमा " बाल-डेंगु" अर्थात् बालबालिकामा देखिँदै आइरहेको डेंगु सङ्क्रमण कडा भनिएका छन् । नेपालमा पनि डेंगु मौसमले प्रवेश गर्दै गर्दा  बालबालिकामा डेंगु फैलन सक्ने सम्भावनालाई नकार्न नसकिने हुँदा सतर्कता अपनाउन नै श्रेयस्कर तथा बुद्धिमानी हुनेछ । विशेष गरेर आफू बस्ने घर वा बालबालिका पढ्ने विद्यालय वरिपरि लामखुट्टे वृद्धि विकास हुने वातावरण जस्तै पानी जम्ने अवस्थाहरू सिर्जना हुन् दिनु हुँदैन । विद्यालयमा डेंगु बारे जानकारीमूलक कार्यक्रमहरू गर्ने र त्यसमा बालबालिकालाई पनि सरिक/समावेश गराउन सके डेंगु नियन्त्रण झन् सशक्त हुनेछ किनभने डेंगुले नेपालमा आगामी वर्षहरूमा पनि निरन्तरता पाउनेमा कसैको दुई मत नहोला ।  

पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल  क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।