बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संसदको संकट : सत्तापक्ष नटेर्ने, एमाले नझुक्ने  !

के हुन सक्छ अबको संसदको निकास ?
शुक्रबार, २५ भदौ २०७८, ०७ : १९
शुक्रबार, २५ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेको छ । यही अवस्थामा आज पनि संसद बैठक बस्दैछ । तर, आजको बैठक पनि प्रतिपक्षले सुचारु हुन दिने छाँटकाँट देखिएको छैन ।

भदौ २३ गते एकै दिन बसेका ३ वटा बैठक अवरुद्ध गरेको एमाले आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई जोगाएकोमा सभामुख सापकोटासँग क्रुद्ध बनेको हो ।

एमालेले बैठक अवरुद्ध गर्दै जाने र सभामुखसँग पनि एमालेलाई आश्वस्त पार्ने कुनै अस्त्र नभएको अवस्थामा सदन सुचारु गर्न जटिलता थपिएको छ । आज पनि संसद बैठक बस्दैछ । तर, सत्तापक्ष र प्रतिपक्ष दुबै आ–आफ्नै अडानमा ढिट देखिएका छन् ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई मान्यता दिन एमालेले अस्वीकार गरिरहेकै बेला बिहीबार एमसीसी उपाध्यक्ष फातिमा सुमारले केपी ओलीलाई भेटिसकेपछि सिंहदरबार पुगेर दोस्रो भेटवार्ता माधव नेपालसँग गरिन् । अन्तरराष्ट्रिय समुदायले यसरी अलग्गै दलको मान्यता दिए पनि एमालेले भने माधव नेपाल लगायत १४ सांसदलाई मान्यता दिन अस्वीकार गरेको छ । पार्टीले कारवाही गरिसकेका माधव नेपाल लगायत १४ सांसदको पद खारेज हुनैपर्ने सभामुखसँग एमालेको माग छ ।  

सभामुखबाट समान व्यवहार भएन : एमाले

सभामुख सापकोटाले संसदमा रहेका सबै दललाई समान व्यवहार नगरेको एमालेको गुनासो छ । एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले रातोपाटीसँग कुरा गर्दै भने, ‘सभामुखले सबै दलका सांसदको मन जित्न सक्नुपर्छ, उनीहरुको भावना जित्न सक्नुपर्छ । ती सांसदहरुले यो मान्छे हाम्रो पनि नेता हो भन्ने मान्न सक्नुपर्छ ।’

एमाले संसदीय दलका उपनेता नेम्वाङले अगाडि भने, ‘अहिलेको स्थितिको कुरा गर्ने हो भने त्यहाँ कांग्रेस, एमाले, माओवादी केन्द्रदेखि लिएर जसपाहरु सबैको मन जित्नुपर्छ । सभामुखले भनिसकेपछि सदनमा सांसदहरुले विश्वास गर्छन् । जब यो स्थिति चुँडिन्छ त्यतिबेला समस्या उत्पन्न हुन्छ । अहिले ठीक त्यो स्थिति उत्पन्न भएको छ ।’

यसक्रममा एमाले नेताहरुले विगतका उदाहरणसमेत स्मरण गरेका छन् । जसपाले सांसद सरिता गिरीलाई कारवाही गरेपछि तुरुन्तै एक्सन लिएको, माओवादी केन्द्रले टोपबहादुर रायमाझीहरुलाई कारवाही गरेपछि पनि तुरुन्तै कारवाहीको जानकारी गराएको तर एमालेको हकमा १३ दिनसम्म अल्झाएर राखेको र पार्टी विभाजन भइसकेपछि अब त्यसमा केही गर्नुपर्दैन भनेर सभामुख सापकोटाले राजनीतिक बेइमानी गरेको एमाले नेताहरुको बुझाइ छ ।

सभामुख र संसद सचिवालयलाई पार्टीको केन्द्रीय कमिटीबाट निर्णय भएर सांसदमाथि भएको कारवाही रोक्ने कुनै अधिकार नदिएको एमालेको तर्क छ । सभामुखको काम संसद चलेको भए पढेर सुनाउँने र संसद नभएको बेला सूचना टाँस गर्नेमा सिमित हुुनुपर्नेमा एक कदम अगाडि बढेको भन्दै एमाले सितिमिति पछि नहट्ने सोचमा रहेको छ ।

पूर्वसभामुख नेम्वाङले प्रश्न गरे, ‘सभामुखले यस्तो काम नगरेको भए हाम्रो दल विभाजनबाट जोगिन्थ्यो भन्ने एमालेलाई परेन ? यदि एमालेको ठाउँमा बस्ने हो भने यस्तो सोच आउँदैन ? के अब ती एमालेहरुले उहाँलाई आफ्नो नेता मान्छन् त ? निर्वाचन आयोगले पनि सांसद संख्यामा आधार मानेर पार्टी दर्ता गरेको त हैन, उहाँले हिजो निर्णय गरेको भए हुन्थ्यो, निर्णय गर्नुभएन । अब बीचको बाटो के हुन्छ त्यसबारे सोच्न आवश्यक छ ।’

अबको निकास के त ?

सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले  रातोपाटीसँग कुरा गर्दै राजनीतिक दलहरुबीच सहमतिको खाँचो औंल्याएका छन् ।

पूर्वसभामुख महरा भन्छन्, ‘कांग्रेससँग पनि सहमति आवश्यक छ । हामीले आम सहमति नगरी देश अगाडि जान सक्दैन । किनभने, देशभित्र स–साना मनोविज्ञान छन्, देशबाहिरको पनि यहाँ चासो छ । अमेरिकाको होला, भारतको होला, चीनको होला । त्योभन्दा माथि उठ्न राष्ट्रिय एकता आवश्यक छ । सबै पार्टीहरुले आ–आफ्नो ठाउँबाट माथि उठेर देशको आवश्यकताअनुसार हिँड्ने हो भने सहमतिअनुसार नै अघि बढ्नुपर्छ ।’

तर, अबको निकास के त ? यो प्रश्नमा महरा एमालेले आफ्नो अडान छाड्नुपर्ने र पार्टी विभाजनलाई स्वीकार्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘त्यो कुरा (१४ सांसदको कारवाही ) अब छोडनुपर्छ । फुटिसकेपछि फुटको स्वीकार गर्न सक्नुपर्छ । त्यसो गरिसकेपछि सहमति हुन्छ ।’

महराले एमालेले पार्टी फुटेको कुरा स्वीकार्नुपर्ने र त्यो विभाजन अरुले कारणले नभई आन्तरिक कारणले फुटेको कुरालाई स्वीर्कान सक्नुपर्ने बताए । एमालेले यो कुरा स्वीकार नगर्ने हो भने यसैगरी संसद् अवरुद्ध भइरहने पूर्वसभामुख महराले बताए । यसरी संसद बन्द भइरहँदा कुनै कामकाज नहुने र त्यसको दोष एमालेलाई पनि जाने उनले बताए गरे ।

एमाले नेता नेम्वाङले भने अब सत्तापक्षले नै प्रतिपक्षसँग सम्वाद थाल्नुपर्नेमा जोड दिए । जे हुनु भइसकेकाले अब सत्तापक्षले एक कदम अगाडि बढेर प्रतिपक्ष दलसँग वार्ता गरेर चालू गतिरोधलाई अन्त्य गर्न सक्ने विकल्प रहेको नेम्वाङले बताए ।

सदन चलाउने विषयमा पनि सहमति खोज्ने प्रयास गरिएन भने संसद् अझै अवरुद्ध हुने नेम्वाङले रातोपाटीलाई बताए ।

संसदको जारी अधिवेशनमा हुने अवरोध कसरी अन्त्य गर्ने र संसदलाई कसरी नियमितरुपमा अगाडि बढाउने भन्ने सन्दर्भमा हालसम्म न सभामुख सापकोटाले कुनै पहल थालेका छन्, न त सत्तापक्षीय दलहरुले नै प्रतिपक्षी दलसँग छलफलको थालनी गरेका छन् । 

बरु यहीबीचमा सरकारले अध्यादेशमार्फत आएको बजेटलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा टेबल गर्ने गृहकार्य अगाडि बढाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप