शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश : भौतिक मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

बिहीबार, २४ भदौ २०७८, २१ : ४४
बिहीबार, २४ भदौ २०७८

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अमरबहादुर थापा र सचिव गोपालप्रसाद सिग्देलबीच कार्यसम्पादन सम्झौता भएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री थापा र सचिव सिग्देलले आज कार्यसम्पादन फाइलमा हस्ताक्षर गरी सम्झौता गरेका हुन् । त्यस्तै,सचिव सिग्देलले महाशाखा प्रमुख तथा १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

उक्त कार्यक्रममा मन्त्री थापाले मन्त्रालयको कार्य प्रगति कर्मचारीहरूसँग जोडिएको छ भन्दै कर्मचारीको पूर्ण जिम्मेवारीले जनताका अपेक्षा पूरा हुने बताए । उनले भने, “हामीले नीति निर्माण गर्ने हो, तपाईहरुले त्यो नीति कार्यान्वयन गर्ने हो । कार्यान्वयन तहको महत्वपूर्ण भूमिका हुने भएकाले मासिक,त्रैमासिक,अर्धवार्षिक र वार्षिक प्रगति प्रतिवेदन दिने गरी वार्षिक कार्यतालिका बनाएर अघि बढ्नुहोस् ।”

मन्त्रालयको चालु आवको बजेट रु १२ अर्ब रहेकोले त्यसलाई नियमत: खर्च गर्न सुझाउँदै उनले महाशाखासहित १० वटै जिल्लामा कार्यरत कर्मचारीको कामको मूल्याङ्कनको आधारमा पुरस्कृत र दण्ड दुवै गर्ने उनले बताए । सचिव सिग्देलले कुनै पनि योजनालाई १२ महिनामा बाँडेर गरिने गतिविधिको वार्षिक कार्यक्रम भएकाले त्यसलाई मनमस्तिष्कमा राखेर काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए । उनले भने, “यो वार्षिक कार्यक्रम र अख्तियारी कार्यसम्पादनको करार हो । क्रियाकलाप विभाजन गरेर नियमित काम गर्नुहोस् ।” 

कर्मचारीले ९९ प्रतिशत सार्वजनिक खरिदबारे नबुझेको तर्क गर्दै सचिव सिग्देलले बिडिङ र कन्ट्रयाक्ट डकुमेन्टको कमजोरीले राज्यलाई थप दायित्व बढ्ने भएकोले त्यस्तो कमजोरी गर्ने कर्मचारीबाटै असुल गरिने जिकिर गरे । उनका अनुसार मन्त्रालयले यस वर्ष ८५ प्रतिशत बजेट खर्च गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप