शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमसीसी उपाध्यक्षविरुद्ध प्रदर्शन गर्ने ६२ जना पक्राउ, साँझ छाडियो

बिहीबार, २४ भदौ २०७८, २१ : २९
बिहीबार, २४ भदौ २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणको विरोधमा प्रदर्शन गर्ने ६२ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सवैभन्दा ठुलो संख्यामा नेकपा क्रान्तिकारी माओवादीआबद्ध दलित मुक्ति मोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका नेता–कार्यकर्ता पक्राउ परेका छन् । कोटेश्वरबाट दलित मुक्ति मोर्चा र ‘विप्लव’का समर्थकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बालकोटबाट नक्सालस्थित होटल मेरियटमा फर्किँदै गर्दा विप्लवका कार्यकर्ताले फतिमा सुमार बिरुद्ध कोटेश्वरमा प्रदर्शन गरेका थिए । ठुलो संख्यामा प्रदर्शनकारीलाई पक्राउ गरेपछि एमसीसीको विरोधमा उत्रिएकाहरुले महानगरीय प्रहरी प्रभाग कोटेश्वर घेराउ गरेका थिए । प्रहरीले प्रदर्शनकारीहरुलाई​ वानटन ‘भ्यान’मा राखेर त्यहाँबाट अन्यत्र लगेपछि स्थिति नियन्त्रणमा आएको थियो । 

त्यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोल्डेन गेटबाट प्रहरीले स्वागत नेपाल सहितका प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । विमानस्थलबाट मेरियट होटलतर्फ जाँदै गर्दा फतिमा बिरुद्ध प्रदर्शनमा उत्रिएका ‘१०० ग्रुप’का सदस्यहरुलाई रातोपुलबाट प्रहरीले पक्राउ गरेको हो । एमसीसी उपाध्यक्षलाई तीनकुने र बिजुलीबजार हुँदै म्यारिएटसम्म स्कर्ट गर्ने भनिएपनि प्रदर्शन हुने डरले प्रहरीले रुट परिवर्तन गरेको थियो । उनलाई विमानस्थलबाट रातोपुल हुँदै म्यारियट लगिएको थियो । बिहीबार बिहान र दिउँसो पक्राउ गरिएका ६२ जनालाई साँझ थुनामुक्त गरिएको काठमाडौं परिसरका एसपी बस्नेतले बताए । 

यसैबीच, बाँकेको नेपालगञ्जमा एमसीसी उपाध्यक्ष फतिमा बिरुद्ध राष्ट्रिय जनमोर्चा र राप्रपा नेपालले प्रदर्शन गरेका छन् । दुई पार्टीले संयुक्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप