मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बसन्त चौधरी ‘केएलएफ अवार्ड’बाट सम्मानित

बिहीबार, २४ भदौ २०७८, १९ : ४९
बिहीबार, २४ भदौ २०७८

काठमाडौं । उद्योगी तथा चर्चित कवि बसन्त चौधरी ‘केएलएफ अवार्ड’बाट सम्मानित हुने भएका छन् । भारतको बहुचर्चित कलिङ्गा लिटररी फेस्टिबलले २०२०–२१ का लागि ‘केएलएफ बुक अवार्ड्स’को घोषणा गरेको हो । जसमा ‘केएलएफ पोएट्री बुक अफ दी इयर’ अवार्ड नेपालका बसन्त चौधरीलाई प्रदान गरिने भएको हो ।

वर्ष २०२०–२१ का लागि केएलएफ पोएट्री बुक अफ दी इयरको अवार्ड नेपालका चर्चित कवि बसन्त चौधरीको हिन्दी कविता संग्रह ‘अनेक पल औ मैं’ ले समेत पाउने भएको छ । वाणी प्रकाशनबाट प्रकाशित यो पुस्तक नेपाल, भारत र विश्वभरका हिन्दी भाषीमाझ निकै चर्चित छ ।

प्रत्येक वर्ष हिन्दी भाषामा प्रकाशित नन्फिक्सन, फिक्सन बुक, कविता संग्रह, हिन्दी बुक, बायोग्राफी अटोबायोग्राफी, भाषा, पर्यावरण, बच्चाहरुसँग सम्बन्धित कृति, बिजिनेश बुक्स, लाइफ स्टाइल, इमरजिङ ट्रेण्ड बुक्स, खेल तथा सामरिक लगायतका विषयमा लेखिएका पुस्तकहरुबाट उत्कृष्ट छानी अवार्ड घोषणा हुने गरेको छ ।

कलिंग लिटररी फेस्टिबल(केएलएफ) अन्तराष्ट्रिय स्तरमै चर्चित साहित्य महोत्सव समेत हो, जुन प्रत्येक वर्ष भारतको ओडिसास्थित मन्दिरै मन्दिरहरुको शहरले चिनिने भूवनेश्वरमा आयोजना गर्ने गरिन्छ । 

स्वतन्त्र अवार्ड छनौट समितिबाट छनौट भएका पुस्तकका सर्जकलाई आगामी डिसेम्बर १० देखि १२ सम्म आयोजना हुने साहित्य उत्सवमा अवार्ड वितरण गर्ने कार्यक्रम रहेको छ । 

कलिंग लिटररी फेस्टिबलका संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिदाले कलिंग लिटरेरी फेस्टिवलमा साहित्यकार, कलाकार, पाठक तथा अन्य कैयन सफल व्यक्तिहरुबाट कैयन नयाँ अनुभव प्राप्त हुन्छ । महोत्सवमा लेखक, शिक्षाविद, नीति निर्माता, साहित्यिक, सांस्कृतिक व्यक्तित्व, सरकारी अधिकारी, राजनीतिक तथा सामाजिक कार्यकर्ता, कानून निर्माता, कर्पोरेट जगतका हस्तीहरु, आद्यात्मिक विचारक तथा विद्यार्थी समेतको सहभागिता रहने जानकारी दिए । 

उनका अनुसार केएलएफ बुक अवार्डस् विभिन्न शैलीका साहित्यिक प्रतिभाहरुको पहिचान गर्न, उनीहरुलाई प्रोत्साहित गर्न र सम्मान गर्नका लागि अवसर प्रदान गर्ने माध्यम हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप