शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड

बिहीबार, २४ भदौ २०७८, १७ : ०५
बिहीबार, २४ भदौ २०७८

 विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरुले कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरु सिर्जना गरेको बताइन् ।

‘कोभिड–१९ महामारीले अभूतपूर्व चुनौतीहरु ल्याएको छ । विश्वको कुनै पनि देश यस स्तरको आपतकालको सामना गर्नका लागि पर्याप्त मात्रामा तयार थिएनन्,’ उनले भनिन्, ‘स्वास्थ्य सुरक्षा प्रणालीहरू सबलीकरण गर्ने हाम्रा प्रयत्नहरुमा हाल जारी महामारीबाट सिकेका पाठहरुको उपयोग गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।’

यस महामारीबाट सबै राष्ट्रहरुले निगरानी, क्लिनिकल व्यवस्थापन, प्रयोगशाला परीक्षण, खोप कार्यक्रम, तथा सामुदायिक संलग्नता लगायतका प्रतिकार्यलाई आकस्मिक रूपमा असामान्य स्तरमा क्षमता विस्तार गर्न अति आवश्यक भएको क्षेत्रीय निर्देशक डा. सिंहको भनाइ छ ।

उनले स्वास्थ्य सुरक्षाका लागि राष्ट्रिय कार्ययोजनाहरु तर्जुमा र कार्यान्वयन गर्नुपर्ने बताइन् । ‘हालको महामारीको प्रतिकार्य गर्न र भविष्यमा आउनसक्ने महामारी, आपतकाल तथा प्रकोपहरुका लागि अझ राम्रो तयारी गर्नका लागि स्वास्थ्य आपतकाल तयारी तथा प्रतिकार्य क्षमतालाई थप सबलीकरण गर्न आवश्यक पर्ने प्राथमिकता तथा कार्यहरु हामीले पहिचान गरिराख्नु पर्छ,’ उनले भनिन् ।

बैठकमा सदस्य राष्ट्रहरुले आपतकालीन शासन संरचना तथा जनशक्ति, निगरानी तथा चेतावनी संयन्त्र, प्रयोगशाला, आपूर्ति व्यवस्थापन प्रणाली, स्वास्थ्य स्याहार प्रणालीको तत्परता, सामुदायिक संलग्नता र तयारी प्रक्रियाका विषयमा छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप