मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको अबको बाटो

बिहीबार, २४ भदौ २०७८, १४ : ३२
बिहीबार, २४ भदौ २०७८

 

 

-निमेष गिरी

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अन्तर्राष्ट्रिय महाधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा सम्पन्न हुँदैछ । उक्त अधिवेशनमा उम्मेदवारहरूको चर्चा पनि सुरु भएको छ । उम्मेदवारहरूले मीठा र आकर्षक नाराद्वारा आफ्नो प्रचार प्रसारमा सक्रिय छन् । जुन सामाजिक सञ्जालमा देख्न र पढन पाइन्छ । के ती नारा पूरा होलान् त ? विजय पश्चात उम्मेदवारहरूले ती नारालाई कतिको कार्यान्वयन गरे त ? प्रश्न उठेको छ । सिङ्गो संस्थाले नै घोषणा गरेका प्रतिबद्धता कति पूरा भए ? समीक्षा हुन जरुरी छ । 

एनआरएन स्थापना भएको १८ वर्ष भइसकेको छ । यो १८ वर्षको अवधिमा हाम्रो मातृभूमिले केकस्तो ज्ञान, सीप, क्षमता हासिल गर्न सफल भएको छ ? त्यसको लेखाजोखा गर्नु आजको आवश्यकता हो । त्यसैगरी विभिन्न कालखण्डमा यस सङ्घले निर्धारण गरेका उद्देश्य हासिल गर्न नसक्नुका मूलभूत कारण के–के हुन् ? गहन अध्ययनको विषय बनाउन अत्यन्त जरुरी छ । महाधिवेशन नयाँ कार्यसमिति गठन गर्नका लागि मात्र होइन । यो त सङ्घको विगतका कमजोरीहरूको मूल्याङ्कन र आगामी गन्तव्यको बाटो निर्देशन गर्ने बहस र छलफलको अवसर पनि हो । त्यसैले यस महाधिवेशनमा बृहत्तर छलफलको आवश्यकता छ ।

एनआरएनले विगतमा निर्धारण गरेको उद्देश्य र तिनको अवस्था 

गैर आवासीय नेपाली सङ्घको पहिलो महाधिवेशन सन् २००३ को अक्टोबरमा काठमाडौँमा सम्पन्न भएको थियो । उक्त  अधिवेशनले र त्यसपछिका विभिन्न अधिवेशनले जारी गरेका घोषणा पत्रहरूलाई अध्ययन गर्दा विशेष रूपले सम्बोधन नभएको र कार्यान्वयनका लागि विभिन्न चरणमा पहल गरेको भए पनि हालसम्म कुनै उपलब्धि हासिल हुन नसकोका निम्न कुरालाई लिन सकिन्छ ।

१. वैदेशिक रोजगारीमा रहेका नेपालीको भविष्य सुनिश्चित गर्ने लगानीका योजनालाई कोषको रूपमा स्थापना गर्न नसक्नु ।

२. ज्ञान र सीपका आधारमा ‘सीप बैैङ्क’को रूपमा विश्वव्यापी अभिलेख सङ्कलन गर्न सफल नहुनु ।

३. वैदेशिक रोजगारीमा जानेहरूको दक्षता अभिवृद्धि गर्न ‘दक्षता अभिवृद्धि केन्द्र’ स्थापना गर्न असफल हुनु ।

४. नेपाल सरकार तथा उद्योग, वाणिज्य महासङ्घका हुने गरेका विदेश भ्रमणहरुमा सम्बन्धित मुलुकमा बसोबासरत नेपालीहरूलाई उक्त प्रतिनिधि मण्डलमा समावेश गर्ने नीति कार्यान्वयन नहुनु ।

५. यस सङ्घलाई दल निरपेक्ष बनाउने उद्देश्यमा कुनै पनि पहल कदमी नहुनु ।

६. एक पटकको नेपाली सधैको नेपाली भन्ने भावनालाई नेपाल सरकारमार्फत कार्यान्वयन गर्ने सन्दर्भमा सफलता हात नपर्नु ।

७. न्यून ज्यालामा रोजगारी गरिरहेका वैदेशिक रोजगारीमा संलग्न कामदारहरूको सानो पुँजीलाई पनि सामूहिक लगानीका लागि आकर्षण गर्न नसक्नु ।

उपलब्धिहरू :

गैर आवासीय नेपाली सङ्घले स्थापनापछिको १८ वर्षको अवधिमा यसले विभिन्न किसिमका कार्य गर्दै आएको छ । त्यसको उपज आज नेपाल सरकार र नेपाली जनताका बीचमा आफ्नो उपस्थितिलाई प्रमाणित गरिसकेको छ । यस १८ वर्षको अवधिमा यस सङ्घ र यसको नेतृत्वले निर्धारण गरेका कार्यक्रममा निम्न अनुसारको सफलता हासिल गरेका रूपमा लिन सकिन्छ ।

१. गैर आवासीय नेपाली सङ्घले नेपालको आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुर्याउन १० अर्ब रुपियाँको ‘इन्भेस्टमेन्ट फन्ड’को स्थापना गर्न सफल भएको छ ।

२. यसका एनसीसीहरूको सामूहिक संलग्नतामा आफ्नो केन्द्रीय कार्यालय भवन निर्माण गर्न सफल हुनुका साथै प्रशासनिक खर्चमा आत्मनिर्भर हुने भएको छ ।

३. विभिन्न समयमा मुलुकमा आइपरेका प्रकृतिक विपत्तिहरूमा सहयोगी भूमिका निर्वाह गर्न सफल भएको छ । यस प्रकारका कार्यमा सामूहिक संलग्नताको भावनाको अभिवृद्धिमा विशेष पहल गरेको छ ।

४. वैदेशिक रोजगारीमा गएका नेपालीहरूको आपत् विपत्मा उद्धार गर्न भरपर्दो सारथि संस्थाको रूपमा स्थापित भएको छ ।

५. विभिन्न मुलुकमा व्यवसाय गरिरहेका नेपालीहरू बीच व्यावसायिक साझेदारी गराई नेपालमा लगानीको वातावरण तयार गरेको छ ।

६. नेपालको संविधानमा नै गैर आवासीय नेपालीहरूको विषयलाई लिपिबद्ध गर्न सफल भएको छ ।

७. गैर आवासीय नेपालीहरूको सामाजिक सुरक्षाको सन्दर्भमा नीति निर्माण प्रक्रियामा उल्लेखनीय सफलता हासिल गरेको छ यद्यपि कार्यन्वयन गर्न बाँकी नै छ ।

८. विभिन्न मुलुकमा रहेका नेपालीहरूका लागि साझा चौतारीका रूपमा स्थापित भएको छ ।

माथि उल्लेखित विषयहरूले गैर आवासीय नेपाली सङ्घ आज नेपाल र नेपालीका लागि सहयोगी संस्थाका रूपमा स्थापित भएको कुरालाई प्रमाणित गर्न सफल भएको छ । विश्वका विभिन्न मुलुकमा रहेका करिब ४० लाख  नेपालीका लगि स्थापना भएको यस सङ्घले आम प्रवासी नेपालीका बीचमा आकर्षणको केन्द्र बन्न नसक्नुको मूल कारणको सन्दर्भमा सोच्नुपर्ने देखिन्छ ।

समग्रमा माथि उल्लेख गरिए अनुरूप यस सङ्घले विभिन्न चरणमा जारी गरेका घोषणापत्र अनुरुपका उद्देश्यहरूको प्राप्तिमा सफलता हात नपर्नुका मूलभूत कारणलाई मिहिन ढङ्गले अध्ययन गर्न जरुरी छ । ती उद्देश्यहरूको कार्यान्वयन पक्ष फितलो हुनुका मूलभूत कारण निम्नअनुसार हुन सक्छन् ।

१. यस सङ्घको नेतृत्वको अवधि २ वर्ष मात्र हुनु अर्थात् कार्यकाल समयावधि छोटो हुनु; जसका कारण नयाँ नेतृत्वले विगतका नेतृत्वले निर्धारण गरेको कार्यभन्दा आफूद्वारा घोषित कार्यक्रममा नै बढी केन्द्रित हुन बाध्य हुनुपर्ने ।

२. सङ्घका अधिवेशनहरूमा २ वर्षे कार्यकाल र त्यसले हासिल गरेको उपलब्धिका सन्दर्भमा मात्र छलफल एवं बहस केन्द्रित हुनु । विगतका थाँती रहेको विषयका सन्दर्भमा केकस्ता पहल कदमीको अवश्यक पर्दछ, सो कार्यका लागि नयाँ पदाधिकारीहरूलाई उक्त कार्यको जिम्मेवारी हस्तान्तरण गर्ने पद्धतिको विकास नगरिनु ।

३. सङ्घका नयाँ पदाधिकारीका लागि नेपालको राजनीतिक विचार र दलगत आशीर्वादका आधारमा नेतृत्व स्थापना एवं हस्तान्तरण गर्ने प्रक्रियाले जरो गाड्नु ।

४. हरेक व्यक्तिमा फरक सीप, क्षमता र दक्षता रहेको कुरालाई स्वीकार गरिने भए पनि यस सङ्घको पदाधिकारीमा उपस्थिति जनाई आफ्नो क्षमता, सीप र दक्षतालाई सङ्घको हितमा आर्थिक भार बोक्न बाध्य हुनु; जसका कारण नेतृत्वमा आउन मन भएका तर धन नभएकाहरूका लागि आकाशको फल साबित हुनु अर्थात् एनआरएनए आफैमा महँगो साबित हुनु ।

नेतृत्वको अबको काम

१. यस सङ्घको नेतृत्वले विगतका पदाधिकारीहरूसँग छलफल गरी उपलब्धि हासिल गर्न छलफल चलाउन आवश्यक छ ।

२. नयाँ कार्यसमितिको आगमनसँगै पुरानो कार्यसमितिले स्थापनाकालदेखि हालसम्म उपलब्धि हासिल भएका विषय, प्रक्रियागत अवस्थामा रहेका विषय र उल्लेख भएको तर कुनै प्रक्रियाको थालनी नभएको विषय लिखित रूपमा नयाँ समितिलाई हस्तान्तरण गर्ने प्रक्रियाको सुरुवात गर्नुपर्ने छ ।

३. मानिस राजनीतिक प्राणी हो । त्यसैले संस्थाहरूमा राजनीति हुनु स्वाभाविक भए पनि दलगत र विचारगत राजनीतिलाई न्यूनीकरण गरी नेपाल र नेपालीको समृद्धि र सहयोगका लागि मात्र राजनीति हुन आवश्यक छ भन्ने बुझ्न र बुझाउन जरुरी छ ।

४. साँच्चै नै यस अभियानमा आम प्रवासी नेपालीहरूलाई जोड्ने हो भने अबको नेतृत्वका लागि आर्थिक पिरामिड निर्माण गर्नुभन्दा व्यक्तिको क्षमता, दक्षता, सीपका आधारमा नेतृत्वमा पुग्ने आधार निर्माण गर्न आवश्यक छ ।

५. वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई तुरुन्त कार्यान्वयनमा लैजानुपर्छ । कार्यान्वयनका लागि सरकारलाई आवश्यक दबाब सिर्जना गर्नसक्नु पर्दछ ।

६. गैर आवासीय नेपाली सङ्घले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न विभिन्न परियोजनाको छनोट गरी लगानीमा प्रोत्साहन गर्नुपर्छ । इन्वेस्टमेन्ट फन्ड मार्फत नेपाल फर्किसकेपछि पनि उनीहरूको भविष्यलाई सुरक्षित बनाउन पहल गर्नसक्नु पर्छ ।

निष्कर्ष :

गैर आवसीय नेपाली सङ्घलाई नेपालीको हितका लागि बनाउने हो भने सबैभन्दा पहिले यसका नेतृत्वमा विचार, दल, सिद्धान्त र अर्थभन्दा पनि नेपाल र नेपालीको मन, मस्तिष्कमा राख्न आवश्यक हुन्छ । प्रत्येक व्यक्तिको सोच, दृष्टिकोण र कार्यशैली पृथक् हुनसक्छ । तर यी सबै विविधताबीच नेपाल र नेपालीमा अपनत्व रहने हुँदा सबैको अर्जुनदृष्टि आपसी हित भन्ने कुरालाई नै मूल मन्त्र बनाउनुपर्छ ।

(लेखक एनआरएनए सचिवका उम्मेदवार हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप