सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा उद्योग दर्ता हुने क्रम बढ्दो

बिहीबार, २४ भदौ २०७८, १४ : ३२
बिहीबार, २४ भदौ २०७८

पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ ।  लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी कृषि र वनमा आधारित उद्योगको सङ्ख्या आठ हजार ६७२, ऊर्जा मूलक छ हजार ३८५, उत्पादनमूलक पाँच हजार ६१३, पर्यटनका चार हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीका कारण धेरै व्यक्तिहरु स्वदेश फर्केर लघु उद्यमतिर लागेर स्वरोजगार बन्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू देशभित्रै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम बढेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा लघु उद्यमीको सङ्ख्या २२ हजार ५७९ रहेको तथा तीमध्ये सक्रिय लघु उद्यमीको सङ्ख्या १७ हजार ६८ र निष्क्रियको सङ्ख्या पाँच हजार ५११ रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समयमा रोजगारीका लागि विदेश गएर घर फर्किएका युवा होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, धातुजन्य उद्योग, कृषि तथा पशु फार्म, निमार्णजस्ता साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएका छन् । महिलाका नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पाइएको मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप