प्रदेश २ : जनलोकपाल आयोग गठन, सत्ता साझेदार दल असन्तुष्ट

प्रदेश २ सरकारले नवगठित जनलोकपाल आयोगका अध्यक्ष र दुई सदस्य नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मातहतमा रहने गरी जनलोकपाल आयोग गठन गरी अध्यक्ष र दुई सदस्यलाई नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले आयोगको अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय प्रसाद यादव र सदस्यहरूमा धनुषाका जिल्ला प्राविधिक कार्यालयका पूर्व डिई राजकिशोर साह र महोत्तरीकी शोभा महतोलाई नियुक्त गरेका हुन् । उनको यो निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि चुलिएको छ । सत्तारुढ नेपाली काँग्रेसले आफूहरुलाई जानकारी नै नदिइ नियुक्ति गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश सरकारमा सहभागी काँग्रेस र नेकपा माओवादी केन्द्रलाई बेवास्ता गरे पनि नेकपा एकीकृत समाजवादीलाई भने जनलोकपाल आयोगमा समेटेका छन् । नेकपा एकीकृत समाजवादीका नेता शत्रुधन महतोसँग मुख्यमन्त्री राउतले छलफल गरी सो पार्टीको सिफारिसमा शोभा महतोलाई सदस्यमा नियुक्त गरेका छन् । अध्यक्षमा नियुक्त यादव र सदस्यमा नियुक्त साह भने जनता समाजवादी पार्टी (जसपा) का हुन् ।
नेकपा एकीकृत समाजवादीका नेता महतोले जनलोकपाल आयोगमा नियुक्तिका लागि मुख्यमन्त्रीसँग छलफल भएको र सोही अनुसार आफुले सिफारिससमेत गरेको रातोपाटीलाई बताए । नेपाली काँग्रेसका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले राजनीतिक नियुक्तिका लागि प्रदेश सरकारले सत्ता साझेदार दलसँग परामर्श गरी सहमतिका आधारमा अघि बढ्नुपर्ने खाँचो औंल्याए ।
प्रदेश सरकारको विभिन्न विकास निर्माण कार्यदेखि मन्त्रालय तथा सांसदको गतिविधिसम्मको अनुगमन तथा कारवाहीका लागि मुख्यमन्त्रीलाई प्रतिवेदनसहित सिफारिस गर्नेसम्मको अधिकार जनलोकपाल आयोगलाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण आरोहण सुरु, एकै दिन ३२ आरोही चुचुरोमा
-
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूको धर्ना जारी, तस्बिरहरू
-
आम्दानी नभएपछि चितवनका उद्योग बन्द
-
इङ्लिस प्रिमियर लिग फुटबल : ‘डेब्यू’ खेलमा किन फरक जर्सी लगाएर मैदानमा ओर्लिए लेस्टर सिटीका १५ वर्षीय जेरेमी ?
-
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरकारले माग्यो सुझाव
-
प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन