सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सेनाको इतिहाससँग जोडिएको नगरकोट

बिहीबार, २४ भदौ २०७८, १३ : २५
बिहीबार, २४ भदौ २०७८

नालदुम तथा महादेव पोखरीलाई हाल भक्तपुरको नगरकोट नामले समेटेको छ । यो भक्तपुर तथा काभ्रेपलाञ्चोक जिल्लाको सिमाना क्षेत्र हो । पर्यटनका लागि महत्वपूर्ण भएकाले विदेशी तथा स्वदेशीको लागि एकदमै परिचित स्थान हो भने नेपाली सेनाको लागि ढुङ्गा माटोसँग खेल्ने इलाका भएकोले प्रायः सेनाको सकलमा तथा देश–विदेशमा समेत यस स्थानबारे अवश्य पनि परिचय छ ।

यस क्षेत्रमा नेपाली सेनाको कलेज अफ कम्ब्याट रहेको छ । किन र कहिलेबाट यस क्षेत्रलाई नगरकोट भन्न थालियो भन्ने अभिलेख भेटिन्न । यद्यपि केही प्रमाणका आधारमा (पूर्णिमा अंक ५०, पृ. १९) कान्तिपुरे अन्तिम मल्ल राजा जय प्रकाशले हाल भारतको काँगडा (नगरकोट) तथा कुमाउ क्षेत्रबाट झिकाइएका राजपुत खलकका लडाकु नगरकोटी ३०० जति भाडाको फौजलाई आफ्नो राष्ट्रिय सेना बनाएका थिए ।

भक्तपुरे राजाका पनि नगरकोटी सेना थिए । ती सेना पनि यही क्षेत्रमै बसोबास गर्थे । १८२५ सालको इन्द्रजात्राको रातमा गोर्खाली फौजले हनुमानढोका दरबारमा हमला गरेपछि ती नगरकोटी सेना भागे र राजा जयप्रकाशले भक्तपुरे राजालाई भनिदिएर भक्तपुरको पूर्वी काठ क्षेत्रमा बस्न पुगे । ती नगरकोटीहरूले स्थानीय नेवार लगायत विभिन्न जातसँग विवाह गरी त्यतै बसे । त्यसपछि उनीहरूले आवाद गरेर बसेको क्षेत्रलाई नगरकोट भन्न थालियो ।

यसबारेमा भक्तपुरकै संस्कृति तथा इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठको सोधले पनि पुष्टि गरेको छ । पाटनका देवीदास लगायतका प्रधानहरूले पछि पनि राजा पृथ्वीनारायण शाहलाई यिनै नगरकोटी मार्फत हत्या गराउने काम गर्दै गर्दा १८२८ को माघ महिनामा पृथ्वीनारायण काठमाडौंबाट भक्तपुर जाँदै गर्दा बाटोमा लुकेर बसेका नगरकोटी सर्दार भवानीसिंह र उनको टोलीले एक्कासी तरबार प्रहार गरी पृथ्वीनारायणलाई मार्न खोजे ।

भवानीसिंहलाई तुरुन्तै प्रतिकार गर्दा काटिए र घाइते भए । उनलाई सोधपुछ गर्दा पाटनका प्रधान लगायत ३०० जना जति नगरकोटी दोषी देखिए । अनि प्रधानहरू र धेरै नगरकोटीहरू काटिए (पूर्णिमा, अंक ५०, पृ. १९) ।

नेपालको एकीकरण–पूर्व काठमाडौं उपत्यका र उत्तर पूर्वी भाग विशेष गरी तिब्बतसँगको व्यापारको एक महत्वपूर्ण नाका थियो । यो ठाउँ मल्ल कालमा तिब्बत, खासा, सिन्धुपाल्चोक जिल्लाका दुगुनागढी, जलवीरे, चौतारा, सिपाघाट र काभ्रे जिल्लाका देउपुर नालदुम हुँदै उपत्यकासँग व्यापार गर्ने व्यापारीको लोकप्रिय मार्ग थियो । अरनिको राजमार्ग खुलेपछि यसको महत्व हरायो । यस बाटोबाट यद्यपि बटुवाहरू हिँड्ने गर्छन् ।

पृथ्वीनारायण शाहको उपत्यका विजय पूर्व यो क्षेत्र काठमाडौंका मल्ल राजाको अधीनमा थियो । यस क्षेत्रबाट काठमाडौंका जनताले पाएको लाभबाट भक्तपुर तथा पाटने राजाहरू इखिएका थिए । पाटन तथा भक्तपुरेहरू यस क्षेत्रलाई आ–आफ्नो अधिनमा ल्याउन चाहन्थे । यसबेला उपत्यकाका मल्ल राजाहरूको एक आपसमा पटक्कै मिल्ती थिएन ।

उपत्यकाका जनतालाई हाहाकार पार्न र राज्यहरूलाई कमजोर बनाउन पृथ्वीनारायण शाहले नाकाबन्दी (ब्लकेड) गरेर हमला गर्ने योजना बनाए । जस अनुरूप नुवाकोटपछि बेलकोट, त्यसपछि साँखु र नालदुम हान्ने निधो भयो । तिब्बत–बेत्रावती व्यापारिक मार्ग नुवाकोटले नियन्त्रण गथ्र्यो भने अब तिब्बत–नालदुम साँखु मार्गबाट आउने सुन, नुन, भेंडा, राडीपाखी आदि व्यापारको नाकाबन्दी लगाउन अत्यावश्यक थियो । तत्काल तिब्बत नै मुख्य व्यापारिक केन्द्र थियो । यो काम उनले भक्तपुरसँग मिली गर्ने निधो गरे । भक्तपुरे राजघराना र गोर्खा राजघरानाबीच मितेरी सम्बन्ध थियो ।

गोर्खामा पृथ्वीपति शाहदेखि नै भक्तपुरे राजासँग मितेरी सम्बन्ध थियो । यही नाताबाट राजा हुनुपूर्व नै पृथ्वीनारायण शाह झन्डै ४ वर्ष भक्तपुरको दरबारमा पाहुना भई बसेर राजा रणजीत मल्लका छोरासँग मित लगाएका थिए ।

अब मितबाबु र पृथ्वीनारायण शाहको योजनाअनुरूप वि.सं. १८०३ भाद्र १९ गते बुधबारका दिन भक्तपुरे तथा पृथ्वीनारायण शाहको फौजले पहिलो पटक हमला गरी कान्तिपुर राज्यको नालदुम तथा महादेव पोखरी कब्जा ग¥यो । सल्लाहअनुुुसार यो क्षेत्र कब्जा भएपछि भक्तपुरे राजा रणजित मल्ललाई दिनु थियो ।

पृथ्वीनारायणका भित्री इच्छाचाहिँ कान्तिपुर र भक्तपुरका राजामा यसको कारणले ठूलो फाटो ल्याउनु थियो । चाँगु, साँखु र आसपासको इलाका भक्तपुर राज्यलाई सुम्पी नालदुम तथा महादेव पोखरी इलाका भने आफ्नो कब्जामा नै राख्ने हेतुले पृथ्वीनारायण शाहले यस ठाउँमा स्थान विशेषकै नियन्त्रण गर्न चौतरिया जहाँगीर शाह, खाँचीका मनु शाही तथा देवऋषि उपाध्याय, उपराव आशाजित भण्डारी समेतको नेतृत्वमा केही गोर्खाली सैन्य दल छोडी पुनः नुवाकोट फर्के ।

भक्तपुरे राजाको अधिनमा आफ्नो राज्यको भाग जानु, तिब्बतसँगको पूरै व्यापारको नाकाबन्दीको कारण काठमाडौंका राजा जयप्रकाश मल्लले काठमाडौं, पाटन र केही भक्तपुरे र चौबीसे राज्यहरू समेतको नैतिक र सैन्य समर्थन पाई नालदुम र महादेव पोखरीमा रहेको गोर्खाली सैन्यमाथि हमला गरी तिनलाई भगाई पुनः कान्तिपुरमै गाभे ।

यो गोर्खालीहरूको लागि असह्य भयो र पृथ्वीनारायण शाहको फौजले वि.सं. १८११ मा नै दोस्रो पटक यस स्थानमा हमला गरी कान्तिपुरे फौजलाई भगाई कब्जा ग¥यो । यसपटक कान्तिपुरे फौजले नराम्रो मार खाएकाले गोर्खाली फौजसँग हतोत्साहित भएको थियो । यस स्थानमा पहिलाको भन्दा अलि बढी फौज छाडी पथ्वीनारायण शाह चौबिसे राज्यहरूसँगको झमेलामा लागे । अब त उनलाई पक्का पनि कान्तिपुरेले लिँदैन भन्ने थियो ।

तर यो स्थानको महत्व अति नै भएकोले जयप्रकाश मल्लले गोर्खालीमाथि हमला गर्न सेनापति चिकुटी मास्केको नेतृत्वमा कान्तिपुरे फौज तुरुन्त पठाई एक्कासी ती सेनापतिले वि.सं. १८११ श्रावणको दोस्रो हप्ताको शुरुमै नालदुम र महादेव पोखरीमा कब्जा जमाए । यो पृथ्वीनारायण शाहको लागि ठूलो इज्जतको सवाल बन्न गई ३/४ दिनपछि नै वि.सं. १८११ श्रावण २१ गते बृहस्पतिबारका दिन ज्योतिषीको पक्का साइत निकाली गोर्खाली फौजले नालदुम र महादेव पोखरीमा रहेको सेनापति चिकुटी र उनका फौजमाथि अन्धाधुन्ध आक्रमण गरी नालदुम र महादेव पोखरी इलाका सदाको लागि पृथ्वीनारायण शाहले लिए ।

महादेव पोखरीमा आफ्नो बलियो सैन्यगढ बनाई पृथ्वीनारायण शाह धुलीखेल, चौतारा, साँगा चोक तथा दोलखा इलाकामा समेत लडाईं जित्न सफल भएका थिए । नेपाल एकीकरण अगाडि यस स्थानका लागि तीन पटकसम्म लडाईं लड्नु पृथ्वीनारायण शाहको लगि ठूलो पाठ मिलेको थियो ।

 यो क्षेत्र गोर्खाली सैन्यको हातमा पर्नु उपत्यकाका सबै राजालाई ठूलो क्षति थियो । यसरी नालदुम तथा महादेव पोखरी (हालका नगरकोट)ले एक ऐतिहासिक महत्व बोकेको छ । स्मरण रहोस्, नगरकोट ब्यारेकबाट महादेव पोखरी जाने बाटोको बायाँतर्फ डाँडामा र हाल टावर रहेको स्थलमा यस क्षेत्रको रक्षाका लागि मल्ल फौजले खनेका ट्रेन्च (किल्ला)हरू यद्यपि देख्न सकिन्छ । इतिहासमा नगरकोट नाम भेटिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. प्रेमसिंह बस्न्यात
डा. प्रेमसिंह बस्न्यात
लेखकबाट थप