शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी घोषणा

बिहीबार, २४ भदौ २०७८, १३ : २४
बिहीबार, २४ भदौ २०७८

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 
नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

सो क्रममा शर्माले  १५ वर्ष लगातार काँग्रेसलाई सरकार सञ्चालनको परिकल्पनाका साथ आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी दिए । बीपीले काँग्रेसले लगातार १५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशको आर्थिक समृद्धि हुन सक्ने र जनताको जीवनस्तर पनि माथि उठ्न सक्ने धारणा राख्ने गरेको थिए । सोही मन्त्रलाई आत्मसाथ गर्दै प्रवक्ता शर्माले आफ्नो उम्मेदवारी  बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न पनि भएको बताए । 

‘महामन्त्रीमा मेरो उम्मेदवारी काँग्रेसलाई लगातार १५ वर्षसम्म सरकारको नेतृत्व गराएर बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न हा । म महामन्त्री भएर त्यसको लागि लागिपर्नेछु ।’, शर्माले भने । 

विश्वप्रकाश शर्माले बिपी काेइराला र गणेशमान सिंहको सालिकमा माल्यार्पण पनि गरेका थिए । सम्बोधनपछि सुन्दरीजलमा बीपीले रोपेको कपुरको बोट नजिकै शर्माले रुद्राक्षको बिरुवा रोपेका छन्। बीपीले २०३४ सालतिर सुन्दरीजलमा कपुरको बिरूवा रोपेका थिए। त्यो बिरुवा हुर्केर ठूलो रूख बनिसकेको छ। सुन्दरीजलमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पनि कपुरका बिरुवा रोपेका थिए।

काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी छन् भने त्यसमध्ये केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसअघि नै गगन थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् भने अर्का नेता प्रदीप पौडेलले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् । 
काँग्रेस महामन्त्रीको अरु आकांक्षीमा नेताहरु बालकृष्ण खाँण, एनपी साउद, प्रकाशशरण महत, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, मिनेन्द्र रिजाल, धनराज गुरुङ, गुरुराज घिमिरेलगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप