म यसकारण बसिनँ तीजको व्रत

person explore access_timeभदौ २४, २०७८ chat_bubble_outline0

पानी नखाई व्रत बस्दा श्रीमानको आयु बढ्छ भने मैले खाना खाँदा मेरो श्रीमान् अघाउनुपर्ने होइन ? यो तीज पर्वले सीधा सीधा भन्न खोजेको कुरा यही होइन ? तिमी पानी नखाऊ अनि श्रीमान्को लामो आयुको कामना गर । यदि यो सत्य हो भने तिमी टन्न खाना खाऊ, तिम्रो श्रीमान् अघाउँछन् भन्न सक्ने हिम्मत के यो समाजसँग छ ? छैनभने भ्रमको खेती गरेर आफू पनि रणभुल्लमा नपरौँ र अरूलाई पनि रणभुल्लमा नपारौँ ।

के यो कुरा अहिलेको आधुनिक समाजका मानिसहरूलाई मान्य छ ? सामान्य कुरा पनि हामी किन जटिल बनाउँछौँ र त्यसलाई धर्म र संस्कारको रूप दिन्छौँ ? कुन धर्म र संस्कारमा भनेको छ विभेद गर, अन्याय गर, मानिसलाई हेला गर, अशान्ति मच्चाउ, अन्धविश्वासलाई पछ्याऊ र सभ्य समाज बनाऊ भनेर ? यदि त्यसो भनेको छ भने त्यो धर्ममा विश्वास गर्न भएन ।  जन्म र मृत्युबाहेक यो संसारमा अरू के कुरा प्राकृतिक छ र ? बाँकी सबै सभ्यता, विकास, परम्परा, चालचलन, नीति नियम, मानव निर्मित संस्कार हुन् ।

यो विश्वमा करिब ८ अर्ब मानिस छन् । किन ती सबै मानिस एउटै धर्म र संस्कार मान्दैनन् ? किन एकै तरिकाले सोच्दैनन् ? किन एकै तरिकाको खाना खाँदैनन् ? यो कुरामा त हामी प्रश्न उठाउन सक्छौँ होला नि ? किनकि धर्म र संस्कार हामी मानिसहरूले आफ्नो रहर र सोचअनुसार बनाएको हो । यो समय अनुसार बदलिएको छ र बदलिने छ । त्यसो हो भने धर्मका नाममा त्रास देखाएर महिलामाथि शोषण किन ? किन बनेन यहाँ पुरुषको लागि धार्मिक नियम ? किन बस्दैनन् पुरुषहरू तीजमा व्रत ? मलाई उत्तर चाहियो । के यो तीजको व्रतलाई एक पटक फेरबदल गर्न सक्छ यो समाज ?

यदि हामी महिला तीजको दिन आनन्दले घरमा सुतेर टन्न मासु भात र विभिन्न परिकार खाएर, अझ साथी साथी मिलेर वाइन खाँदै पार्टी गर्छौं र तपाईं पुरुषहरू हाम्रो आयु बढाउनका लागि पानी समेत नखाई निराहार भएर, विशुद्ध भएर हाम्रा लागि जीवनमा एक पटक व्रत बसिदिन सक्नुहुन्छ ? यो हाम्रो विनम्र अनुरोध छ ।

म नवविवाहित नारी । म पानी नखाई नखाई निराहार विशुद्ध व्रत बसेर मेरो श्रीमानको आयु बढाउँदिन भन्नलाई के मलाई अधिकार छ ? सबैका श्रीमतीहरू आआफ्नो श्रीमानको नामको सिन्दुर सिउँदोभरि भरेर उनका लागि साज सज्जा गरेर आयु बढाइदिँदै व्रत बसेको देख्दा कतै मेरो लोग्नेको पनि चित्त दुख्ला कि ? त्यो भने सोध्न बाँकी छ । तर मैले चाहिँ तीजको व्रत नबस्ने निर्णय गरिसकेकी छु ।

तीज नमनाउनु भन्ने मेरो कुरो होइन । किन नमनाउने तीज ? किन राम्रो लुगा नलगाउने ? किन मीठो नखाने ? किन दिदीबहिनी, साथीसङ्गी भेला नहुने ? आफन्तहरू टाढा टाढा भएका कति वर्ष भेट गर्न नपाएका दिदीबहिनी किन भेट गर्न नपाउने ? के जन्मघर छाडेर विवाह गरेर गएकाहरूलाई आफ्नो घर फर्कनलाई दिन मिति तोकिदिनु पर्ने ? अनि माइतीमा आएर रमाइलो गर्ने, मीठो मीठो खानेकुरा खानपर्ने तर त्यसको बदलामा विवाह गरेर गएको घरको श्रीमान्को आयु बढाइदिने झुटो ठेक्का लिनुपर्ने ? यो कति हदसम्मको हेपाहा प्रवृत्ति र थिचोमिचो हो ? यो कुरा हामी महिलाले किन नबुझ्ने ? सानै उमेरमा विवाह गरेर गएकी एक बहिनीको कुरा याद आयो मलाई । उनलाई ग्यास्टिक थियो । खाली पेट बस्न पनि नहुने र बस्न मन पनि नलाग्ने ।

आफ्नो जन्मघरमा कहिल्यै व्रत पनि नबसेकी । विवाह गरेर गएपछि सासू, काकी सासू, नन्द, आमाजू लगायत सबैले अन्धभक्त भएर व्रत बसेको देखेपछि उनलाई पनि व्रत बस्न बाध्यता भएछ । ती बहिनीले थाहै नपाउने गरी पितृसत्ताले लादेको यो कस्तो जबर्जस्ती हो ? युवतीहरूलाई विवाह नगर्दै राम्रो पति पाउन तीजको व्रत बस्न सिकाउने यो पितृसत्तात्मक समाज र यसका पहरेदारहरूले कहिले बुझ्लान् असल पतिको परिभाषा ? के व्रतको प्रभावले मानिस असल हुन्छन् ? त्यसो भए प्रत्येक दिन समाचारमा पतिबाट कुटिएका, दबिएका र अनेक किसिमका हिंसामा परेका नारीले कहिल्यै तीजको व्रत बसेका थिएनन् होला ?

पहिला पहिला माइतीघर जान धेरै कठिन थियो । विवाह गरेर गएको घरमा भोगेका पीडा भन्न र भुलाउनलाई पनि कहिले तीज आउला र मनको बह पोख्न पाइएला भन्नु पथ्र्यो तर अहिले पूरापूर नबदलिए पनि केही त बदलाव आएको छ नेपाली समाजमा । बदलाव हेर्नु छ भने टिकटक हेरे पनि पुग्छ । महिला दिदीबहिनीलाई नाच्नका लागि तीज कुर्नुु पर्दैन । राम्री हुनलाई विशेष अवसर कुरिराख्नु पर्दैन । टिकटक बनाउनकै लागि भए पनि आफ्नो खुसी खोज्न, खुसी हुनलाई स्वस्थ र सुन्दर बन्दै टिकटकमा नाचेको हामीले देख्न पाउँछौँ । तर के हामी महिलाहरूले सबै कुरा अन्धाधुन्ध पछ्याएर कुसंस्कारलाई पनि चुप लागेर पछ्याउन पर्ने हो ? एक पटक सोचौँ र राम्रा कुरालाई ‘यस’ र नराम्रोलाई ‘नो’ भन्ने हिम्मत र चेत राखौँ ।

एक पटक हामी विचार गरौँ, सबै चाडपर्व रीतिरिवाजमा महिलालाई किन यति सास्ती ? हर पर्वमा किन महिलामाथि बहुआयामिक भारहरू ? हेर्नुहोस् त, जति पनि चाडपर्व छन्, ती सबैलाई चलायमान बनाउने जिम्मा महिलाकै छ । चाहे व्रत बसेर होस् वा पाठ पूजाको जिम्मा लिएर होस् वा प्रत्येक दिन घरमै धूप दीप गर्ने कुरामा पनि महिलाहरू नै सक्रिय हुनुुपर्ने बाध्यता छ । चाहे दशैँ, तिहार होस् वा एकादशी, श्राद्ध वा पाठपूजा, सरजाम जम्मा गर्नेदेखि किनमेल, पकाउने, ख्वाउने, भाँडा माझ्ने, आदि महिलाकै जिम्मामा हुन्छ ।

के धर्म र चाडपर्व, रीतिरिवाजको पहरेदार बन्नुपर्ने सधैँ महिलाले नै हो ? हो भने किन ?

तीज लगत्तै आउँछ आर्को भयङ्कर पर्व ऋषि पञ्चमी; जसमा महिलाको योनी फोहोर हो, फोहोर रगत निकाल्छ । त्यही भएर व्रत बसेर पाप कटाउने मान्यता छ । व्रत लिने महिला दिदी बहिनीहरू धेरैलाई लाग्छ महिनावारी हुनु पाप हो । त्यसो हो भने हाम्रो जन्म नै पाप हो । जुन रगतको डल्लोबाट हामी बनेका छौँ, त्यसैलाई हामी फोहोर र पाप मानेर पाप पखाल्न त्यो पर्व मनाउँछौँ भने हामी महिलाले हेपाइ नखाएर कसले खान्छ ?

यहाँ तीजका गीतहरूको विषयमा अलिकति चर्चा गरौँ ।

‘जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदै रुँदै बेँसी मेलैमा

तीजको दर खान मन थ्यो

माइती घर जान मन थ्यो

...

दियौ बाबा रहरैमा

गाउँकी केटी सहरैमा

जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदै रुँदै बेंसी मेलैमा’

 

यो गीत १३ दिनमा एक करोड पटक हेरियो र यति छोटो समयमा यति धेरै पटक हेरिएको रेकर्ड पनि बनायो । दिदी बहिनीहरू टिकटक बनाउँदै रमाइरहनु भएको छ । तर के हामीले एक पटक यो गीतमा के छ ध्यान दिएका छौँ ? छोरी मान्छेले केवल पीडा भोग्नुपरेको कुरा र नारी जातिलाई एकदमै कमजोर र आफ्नो इच्छामा बाँच्न नसक्ने पात्रको रूपमा उभ्याइएको छ । के हाम्रो आँशु, पीडा, रोदन, दुःख र हामीले भोगेका हिंसा मात्र बिक्नुपर्ने ? हामी महिलाहरूले ती कुरा मात्रै सेलिब्रेट गर्नुपर्ने ?

 

होइन भने पोहोर साल सुफिया थापाको ‘अबको तीज, नो व्रत प्लिज, नो खुट्टाको पानी... महिला पुरुष दुवै नै बराबरी’ भन्ने गीत किन ब्यान्ड गरियो ? किन चरी जेलैमा गीतलाई ब्यान्ड गरिँदैन ? किन यो गीत ट्रेन्डिङमा पर्दा खुसीको समाचार बन्छ ? किनभने यस्ता गीतले पितृ सत्तालाई अझै बलियो बनाउन मद्दत गर्छ । वास्तवमा पितृ सत्ता कमजोर छ । महिलाको आँशु साथमा लिएर हिँड्छ । नो व्रत प्लिजभन्दा पितृ सत्ताको खुट्टा काम्यो । नारीहरू अब सचेत भएछन्, अरूको दास हुनबाट मुक्त हुन खोज्दैछन् भन्ने कुराले खतराको घण्टी बज्यो । महिलाहरू आफ्नो कमाइमा बाँच्ने, आफ्ना हक अधिकार माग्न लड्ने, आफूलाई मन परेको लुगा लगाएर नाच्ने, मन लागे व्रत बस्ने, नलागे नबस्ने भनेर स्वतन्त्र हिसाबले अभिव्यक्ति दिँदा, गीत गाउँदा पितृ सत्ता डराएर गीत नै ब्यान्ड गर्न पुग्यो ।

के व्रत बस्ने कुरा जबरजस्ती हो ? हो भने किन ? कसले गर्दैछ यो जबरजस्ती ? के लुकेको छ यो व्रत र तीजको पर्वमा ? हामी महिलाहरूको महान् चाड हरितालिका भनेर मनाइरहेको तीज के साँच्चिकै हामी महिलाहरूको हो त ? हामीले हाम्रो खुसीको लागि स्वतन्त्र हिसाबले मनाउन पाइरहेका छौँ ? हामीलाई जबरजस्ती व्रत बस्न लगाइन्छ । जबरजस्ती श्रीमान्को नामको सिन्दुर पोते लगाएर पानी नखाई व्रत बस्न भनिन्छ । नभए तिम्रो श्रीमान्को आयु घट्छ भनेर त्रास देखाइन्छ । अनि हामी एक दिन त हो भनेर सकि नसकी व्रत बसिदिन्छौँ । तर एक पटक सोचौँ त त्यहाँ कत्रो राजनीति र शक्तिको खेल लुकेको छ ?

तपाईं हामी कतिजनालाई विश्वास लाग्छ हामीले पानी नखाई व्रत बसिदिएर श्रीमान्को आयु बढ्छ भनेर ? तर पनि हामी बुझ पचाई—पचाई व्रत बसिदिन्छौँ । बरु हामी टन्न खाएर श्रीमान्सँग हात समाएर कतै घुम्न जाऊँ, खुसी साटासाट गरौँ । एकअर्काको मङ्गल कामना गरौँ । परिवारको खुसीको कामना गरौँ । सबैको मङ्गलको कामना गरौँ न ! हुन्न ? तर अन्धभक्त भएर आफ्नो स्वास्थ्य नबिगारौँ ।

उपवास आफैमा गलत छैन । व्रत बस्नु स्वास्थ्यको लागि राम्रो हो तर किन महिलाको मात्रै स्वास्थ्य राम्रो बनाउनुपर्ने ? यदि व्रत बसेर राम्रो हुन्छ भने अघिल्लो दिन रातिको २ बजेसम्म बिरामी हुने गरी किन खाने ? किन ज्यानले नधान्ने गरी गहना लगाउने र फेसन सो गरेर अरूलाई देखाउने ? तडक भडक गरेर महिनौँदेखि किन तीज मनाउने ? अनि अन्त्यमा गएर पितृ सत्ताको दासी बनेर पुरुषको सामु घुँडा टेकेर, म पढेलेखेको छु, मैले श्रीमान्को लामो आयुका लागि होइन व्रत लिँदा स्वास्थ्य राम्रो हुन्छ भनेर लिएको छु भन्नेहरूलाई सोध्न चाहान्छु– वर्षमा एक दिन व्रत बसेर स्वास्थ्य राम्रो हुन्छ ?

म यहाँ सम्पूर्ण आमा, दिदी, बहिनी महिलाहरूलाई सोध्न चाहन्छु । अहिलेको एक्काइसौं शताब्दीमा हामीमध्ये धेरैको हातमा प्रविधि र ज्ञानको पहुँच पुगेको छ, के अब हाम्रो दायित्व आफूले बुझेको, पढेको ज्ञानलाई आफ्नो व्यवहारमा लागू गर्दै आउँदो पुस्तालाई बाटो देखाउनुपर्दैन ? यदि हामी महिलाको हकअधिकारका लागि हाम्रो अभियन्ता अधिकारकर्मी, सचेतकहरूले लडिदिएको र दिलाइदिएको अधिकारमा बाँचिरहेका छौँ । त्यतिले पुग्दैन । हामी हरेकले आफ्नो भागको दायित्वबोध गरेर हरेक असमानताको विरुद्धमा आवाज उठाउने हिम्मत राखेमा अवश्य एक दिन समानता आउनेछ । सबै जनालाई तीजको शुभकामना !

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।