बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा देउवासँग पौडेल समूहको छलफल : के–के भयो सहमति ?

बिहीबार, २४ भदौ २०७८, ११ : ०४
बिहीबार, २४ भदौ २०७८

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूबीच  छलफल भएको छ । पार्टीको १४ औँ महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा पौडेल पक्षका नेताहरूले सभापति देउवासँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवासँग कुराकानी गर्ने आफू पक्षीय नेताहरू लिएर बिहीबार बिहान पौडेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए । क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी २० जिल्लाको समस्या समाधान गरी वडा अधिवेशन सुरु गर्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई बताए । 

भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि  २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ । काँग्रेसले प्रदेश १ को मोरङ र प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको छैन ।

यस्तै बागमती प्रदेशको काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रे र रसुवा तथा लुम्बिनीको कपिलवस्तु, बाँके र बर्दिया तथा कर्णालीको डोल्पा र सुर्खेतको पनि वडा अधिवेशन अनिश्चित छ । सुदूरपश्चिमका कैलाली र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक नहुँदा ती जिल्लामा पनि वडा अधिवेशन अनिश्चित बनेको छ । उक्त समस्याको निवास खोजेर तत्काल वडा अधिवेशन सुरु गर्न पौडेल पक्षले सभापतिको ध्यानाकर्षण गराएको थियो । 

पौडेल पक्षीय एक नेताका अनुसार नेताहरूबीच सबै जिल्लाको वडा अधिवेशन सकिएपछि मात्र पालिका अधिवेशन सुरु गर्ने विषयमा छलफल भएको थियो । ७७ जिल्लामा पालिका अधिवेशन एकै पटक गर्ने नेताहरुबीच सहमति भएको ती नेताले बताए ।

भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने भएको छ ।

असोज १० गतेका लागि तोकिएको एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि प्रभावित हुन सक्ने निर्वाचन समितिको भनाइ छ । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

यस्तै छलफलमा प्रधानमन्त्री देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिन अझै मन्त्रिपरिषद् विस्तार नगर्ने आग्रह गरेको बताएका थिए । पौडेल समूहका नेताहरूले गठबन्धनसँग मन्त्रालयको टुङ्गो लगाएर काँग्रेसको भागमा पर्ने मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सुझाएका थिए । देउवाले गठबन्धनसँग छलफल नै भइरहेको जवाफ दिएको बैठकमा सहभागी एक नेताले रातोपाटी जानकारी दिए । 

भदौ २८ गते माधव नेपालको पार्टी दर्ता सम्बन्धी एमालेले दर्ता गराएको मुद्दाको पेसी तोकिएको छ । त्यसको फैसला आएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने काँग्रेस नेताहरूको भनाइ छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि त्यो सङ्केत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप