शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसद्‍मा एमालेको तेस्रो धार : भित्र नाराबाजी, बाहिर रामकुमारीसँग फोटो सेसन

बिहीबार, २४ भदौ २०७८, १० : १५
बिहीबार, २४ भदौ २०७८

बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकको सुरुवातमै एमालेले अवरोध थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले पन्ध्र–पन्ध्र मिनेटका लागि दुईपटक बैठक स्थगित गर्नुप¥यो । एकैदिन तीनपटक बैठक बसे पनि एमाले सांसदहरुले संसदको कामकारवाही अघि बढ्न दिएनन् । तर, एमालेकै तेस्रो धारका १० सांसदहरुको भने व्यथा बेग्लै थियो ।

एमालेले कारवाही गरेका माधव नेपाल सहितका १४ जना सांसदलाई ‘गैरसांसद’ भन्दै उनीहरुलाई कारवाही नगरेसम्म बैठक अघि नबढ्ने भन्दै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि उभिएर नारा लगाएका थिए । यसरी नारा घन्काउनेहरूको अग्र पङ्तीमा एमाले सांसद खगराज अधिकारी, निरु पाल, महेश बस्नेत लगायत थिए । तर, त्यहीबेला एमालेका तेस्रो धारका सांसदहरु भने साइड लागे ।

एमाले सांसद भीमबहादुर रावल जुलुसमा मिसिएका थिएनन् । संसदमा बिरोध भइरहेको अधिकांश समय उनी मोवाइल चलाएर बसेका थिए । त्यस्तै गोकर्ण विष्ट पनि संसद भवनको ढोका छेवैमा बसेका थिए । योगेश भट्टराई, यज्ञराज सुनुवार लगायतका पूर्व माधव नेपाल पक्षका सांसदहरु भीडबाट छेउ लागेका थिए ।

उता केपी ओलीका कट्टर समर्थक सांसदहरु भने आक्रोशित मुद्रामा नारा लगाइरहेका थिए । सभामुखको आसनलाई लक्षित गर्दै अगाडि बढेकी सांसद गंगा चौधरीलाई मर्यादापालकले छेकेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

बैठक सकिएपछि सभाहल बाहिर आएका पूर्व माधव नेपाल समूहका एक सांसदले भने– ‘बिरोध गर्न दिलदेखि नै आउनुपर्‍यो, त्यसले मष्तिष्कलाई सन्देश दिन्छ । मष्तिष्कले अह्राएपछि मात्रै विरोधका लागि मुठ्ठी उचालिने हो । अहिले हामी त्यहाँसम्म पुग्न सकेका छैनौँ । बिस्तारै त्यो धारमा अघि बढ्दै जान्छौँ । अहिलेका लागि दिलदेखि नै त्यो कुरा सम्भव छैन ।’

सभामुखविरुद्ध एमालेको प्रत्याक्रमणका क्रममा विरोधमा उत्रिएका सांसहरुलाई हेर्दा त्यहाँ केपी ओली समर्थक र पूर्व माधव नेपाल पक्षका सांसदहरु स्पष्ट छुट्टिएको थियो ।

प्रतिनिधिसभाको हलमा एकैदिन ३ पटक बसेको बैठकमा नेकपा एमालेका सांसदहरु तिनै रामकुमारी झाँक्री लगायत १४ जना गैरसांसद रहेको र उनीहरु सदनमा भएसम्म सदन चल्न नदिने भन्दै नारा लगाइरहेका थिए । तर, बाहिरको दृश्यको भने फरक थियो ।

बैठक सकिएपछि संसद भवनको प्राङ्गणमा नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्री नेकपा एमालेका सांसद योगेश भट्टराई र गणेश पहाडी सञ्चारकर्मीको अगाडि सामुहिक फोटो खिचाइरहेका थिए । जसले प्रतिनिधि सभाभित्र जस्तो गतिविधि भए पनि बाहिर उनीहरुबीच ब्यक्तिगत मित्रता राम्रो छ भनेर सन्देश दिन खोजेको थियो । फोटो खिचाइसकेपछि सांसद भट्टराई विभिन्न देशहरुको उदाहरण दिँदै नेपालको संसद निकै शान्त र मर्यादित रहेको बताइरहेका थिए ।

अब भदौ २५ गते बस्ने बैठकमा एमाले सांसदहरुको भूमिक कस्तो हुनेछ त्यो भने हेर्न बाँकी छ । बुधबार विरोधका बीच सभामुखले अधिवेशनमा संसदको अध्यक्षता गर्ने सांसदहरुको नाम वाचन गरे भने गृहमन्त्री वालकृष्ण खाणँले राजनीतिक दलसम्बन्धी ऐन दोश्रो संसोधन २०७८ अध्यादेश पेस गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप