सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

महिला फुटबल : नेपाल र बंगलादेश भोलि भिड्दै

बुधबार, २३ भदौ २०७८, १९ : ४४
बुधबार, २३ भदौ २०७८

एएफसी महिला एसियन कप छनोट–२०२२ अघि बंगलादेशसँग तय भएको दुई मैत्रीपूर्ण खेल अन्तर्गत भोलि (बिहीबार) नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भ्रमणकारी टोलीसँग पहिलो खेल खेल्दै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

प्रि–म्याच कन्फरेन्समा दुबै देशका प्रशिक्षकले आफ्नो पक्षमा नजिता निकाल्न आत्मविश्वासी भएको प्रतिक्रिया दिए । दुई मैत्रीपूर्ण खेलका लागि बंगाली महिला फुटबल टोली सोमबार नेपाल आइपुगेको हो । उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोट अघि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको र प्रतिस्पर्धा गर्न नेपाली टोली आतुर भएको नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बताए ।

छनोट अघिको अभ्यास खेलको रुपमा हेरिएको खेलमा दर्शकलाई पनि अनुमति दिइने भएको छ । एन्फाले उक्त खेलको टिकट मूल्य सामान्यतर्फ २ सय र भीआईपीमा ५ सय रुपैयाँ तोकेको छ ।

एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा प्रतियोगिता हुनेछ । नेपालले छनोट खेल फिलिपिन्ससँग खेल्दै प्रतियोगिता सुरुआत गर्ने तालिका छ । नेपालको पहिलो खेल फिलिपिन्ससँग असोज २ गते हुनेछ भने दोस्रो खेल हङकङसँग असोज ५ मा हुनेछ ।

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर असोज ८ गते हुने छ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप