बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सभामुख निष्पक्ष भएनन् : भट्टराई, एमाले संसद्को हत्यारा : झाँक्री

बुधबार, २३ भदौ २०७८, १९ : ४०
बुधबार, २३ भदौ २०७८

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेर संसदीय मर्यादा विपरीत काम गरेको दाबी गरेका छन् । आचरणबाहेक सभामुखले लिएको निर्णयमाथि आलोचना गर्न नमिल्ने विषयलाई लिएर संसद् अवरुद्ध गरेर एमालेले संसदीय मर्यादा विपरीत काम गरेको नेता पुनको तर्क छ । 

संसद् अवरुद्ध भएपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सभामुखका निर्णयहरुलाई पालना गरेर जानु संसदीय सर्वोच्चता भएको उल्लेख गर्दै संसद् अवरुद्ध पार्ने संसदीय परम्परा विश्वमा कहीँ नभएको दाबी समेत गरे । नेता पुनले सभामुखको गरिमा बचाउन, संसद्मा आएका बिजनेसहरूलाई सुचारु गराउन संसद् चल्न दिन पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग आग्रह गरे । उनले भने, ‘प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेको छ । यो चाहिँ संसदीय मर्यादा विपरीत छ । एकातिर आचरण सम्बन्धी विषयबाहेक सभामुखले गरेका निर्णयहरूमा सभामुखको आलोचना गर्न मिल्दैन । यो संसदीय सर्वोच्चता हो । यसो गर्दै गयो भने संसद् नै चल्दैन । एउटा मर्यादा हामीले नै निर्धारण गरेका हौँ । विगतमा यस्तै अभ्यास गरेका छौँ । जसले संसद्को नेतालाई आचरण सम्बन्धीबाहेक अरूमा आलोचना गर्ने, वा भएका निर्णयहरूको खण्डन गरेर, आलोचना गरेर, संसद् अवरुद्ध गर्ने कुनै संसदीय परम्परा नै छैन । र यो पहिलो घटना हो । त्यसैले उहाँहरूले बेठिक परम्परा सुरु गर्नु भएको छ ।’

नेता पुनले अदालतमा विचाराधीन विषय प्रवेश गराएर संसद् अवरुद्ध पार्ने गल्ती कुनै पनि राजनीतिक दलले गर्न नहुने पनि बताए ।

यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेका कारण आफ्नो दलले विरोध गर्नु परेको स्पष्ट पारे । उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरूलाई कारबाहीको सूचना जारी नगरेर सभामुख अग्नि सापकोटाले आफ्नो दललाई फुटाउन सघाउ पु¥याएको आरोप समेत लगाए । 

सचिव भट्टराईले भने, ‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केशका विभिन्न दलहरूलाई विभिन्न ढङ्गले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रदान हुन्छ । पार्टीका सांसदहरूलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उलङ्घन भयो भने, ह्वीप उलङ्घन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’

यता, सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले एमालेलाई संसद्का हत्याराको संज्ञा दिइन् । सांसद झाँक्रीले संसद्का हत्याराहरूले संसद् बचाउन लागेका आफूहरूलाई विभिन्न आरोप लगाउने गरेको उल्लेख गर्दै त्यसबारे टिप्पणी गर्न आफूले नचाहेको प्रतिक्रिया दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप