शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनगणनामा चार अर्ब खर्च, ३९ हजार गणक परिचालन गरिने

पहिलो पटक जनगणनाका लागि ट्याबलेटको प्रयोग हुने
बुधबार, २३ भदौ २०७८, २१ : ००
बुधबार, २३ भदौ २०७८

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ का लागि कुल चार अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा हरेक १० वर्ष अवधिमा जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ को १२ औं श्रृंखलाको लागि करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विभागले गरेको महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । 

जसमध्ये, सर्वसाधारण जनताको घरदैलो गर्ने जनगणकहरूको पारिश्रमिक र तलब सुविधामा मात्र एक अर्ब ८० करोड रुपैयाँ खर्च हुने विभागले जनाएको छ । जनगणना गर्न विभागले कुल ३९ हजार गणक परिचालन गर्दैछ ।  यस्तै, देशैभर आठ हजार ५०० जना सुपरीवेक्षक परिचालन गरिने गरिने समेत विभागले जनाएको छ । सुपरिवेक्षकको भर्ना नियुक्ति गत भाद्र २० गतेदेखि शुरू भइसकेको छ भने ३९ हजार जनगणकहरूलाई यही कात्तिक १३ देखि २६ गतेसम्म नियुक्ति दिइने तथ्याङ्क विभागले जनाएको छ ।  

आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गते (१५ दिनसम्म) राष्ट्रिय जनगणना संचालन हुँदैछ । सरकारले सातवटै प्रदेशबाट कुल ७५३ स्थानीय तहमध्ये ३४९ स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिसकेको छ भने ८० जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ । 

पहिलोपटक जनगणनामा ट्याबलेट प्रयोग गरिँदै 

सरकारले इतिहासमै पहिलो पटक जनगणनाका लागि डिजिटल प्रविधि (ट्याबलेट) प्रयोग गर्ने भएको छ । हस्तलिखित प्रश्नोत्तर कागजको साटो पहिलोपटक सरकारले ट्यावलेटको प्रयोग गर्ने भएको हो । तर, यो काठमाडौं उपत्यका भित्र मात्र प्रयोग गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । 

करिब ४० लाख जनसंख्या भएको काठमाडौंमा ट्याबलेट प्रयोग गरि तथ्याङ्क टिपोट गरिने विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । बढ्दो प्रविधिसँगै सबै जिल्ला तथा स्थानीय तहमा डिजिटल प्रविधिमार्फत नै जनगणना गर्ने सरकारको चाहना हुँदाहुँदै पनि खर्चिलो हुने र त्यो धान्न नसकिने हुँदा पहिलो चरणमा काठमाडौंमा मात्र प्रयोग गर्न लागिएको उनको भनाइ छ । यदि देशैभरी यसैगरी जनगणना गर्ने हो भने करिब ५० हजार ट्याबलेटको आवश्यकता पर्ने र त्यो अहिलेको खर्चले धान्न नसक्ने उनले बताए । 

‘मेरो गणना, मेरो सहभागिता मुल नारासहित हुँदै गरेको राष्ट्रिय जनगणना २०७८ यही आउँदो कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्मका लागि तोकिएको जनगणना कोरोना महामारीका कारण प्रभावित हुन पुगेको थियो । नेपालमा मात्र नभएर कोभिड–१९ कै कारण विश्वका अन्य ६७ मुलुकको जनगणना समेत प्रभावित हुन पुगेको थियो ।

 

थप १२ प्रश्न सोधिने
१२औं शृङ्खलाको राष्ट्रिय जनगणना २०७८ को तीव्र तयारी गरिरहेको केन्द्रीय तथ्याङ्क विभागले यसपटकको जनगणनाका लागि थप १२ प्रश्न सोधिने जानकारी दिएको छ  यसअघि कुल ६८ प्रश्न सोधिएकोमा यसपटक थप १२ प्रश्न गरेर कुल ८० प्रश्न पुर्‍याइएको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । 

जसमध्ये, यसपटक जनसंख्यालाई मात्र केन्द्रीत नगरेर सरकारले जनसंख्या रहने समुदायको आर्थिक, सामाजिक, राजनीतिक तथा धार्मिक वस्तुस्थितिलाई समेत तथ्याङ्कमा समेटिने उनले बताए । जसका लागि पहिलो पटक सरकारले राष्ट्रिय जनगणनामा व्यक्तिको माग विवरण संकलन नगरि व्यक्तिको घर÷आवास तथा व्यवसाय रहने अवस्था र बैंकिङ गतिविधिको समेत लेखत राख्ने उनले जानकारी दिए । जसमा व्यक्तिको बैंक खाता छ÷छैन समेत एकिन गरिने उनले जानकारी दिए ।

यस्तै, अन्यमा उद्योग, कलकारखाना, सिनेमा लगायत विविध प्रश्नहरू समेत समेटिने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप