नेपाली काँग्रेसको सङ्कट र समाधानको उपाय

person explore access_timeभदौ २३, २०७८ chat_bubble_outline0

ऐतिहासिक दस्तावेजलाई केलाएर हेर्ने हो भने नेपाली राजनीतिक घटनाक्रम सबैभन्दा परिवर्तनशील बनेको मुलुक हो । राणा शासनदेखि लिएर प्रजातन्त्र, पञ्चायत पुनः प्रजातन्त्र हुँदै अहिले गणतन्त्रको अवस्थाको बीचमा विभिन्न आरोह अवरोहको प्रत्यक्ष साक्षी र कारक बन्दै राजनीतिक घटना चक्रभित्र प्रमुख निर्णायक बनेको नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ ।

भौगोलिक रुपमा दुई ‘सुपर पावर’ राष्ट्रहरु, माओत्सेतुङको विचारधाराको मुलुक र गान्धीको अहिंसावादी प्रतिनिधित्व गरेको नेपाल आज इतिहासको अर्को कठघरामा उभिएको छ ।

विश्वकै सर्वशक्तिमान मुलुक बन्ने अभियानमा लागेको चीन र संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक प्रणाली अपनाएको भारत जस्तो देशसँग प्रभावशाली आर्थिक कूटनीति, सामाजिक तथा राजनीतिक कूटनीतिको धरातलमा नेपाल उभिन नसके देश एक गम्भीर दुर्घटनामा पस्ने परिस्थितिको यथार्थता मनन् गर्नुपर्ने अर्को गम्भीर अवस्था सिर्जना भएको छ ।

दुई ठूला शक्तिसम्पन्न मुलुकको बीचमा रहेर पनि आर्थिक विकास र भौतिक विकासमा खासै उन्नति गर्न नसक्नुको कारण आज देशका प्रत्येक सम्मानित नागरिकले बुझ्न  र थाहा पाउनु अपरिहार्य छ । प्रत्येक राजनीतिक दलहरु र ती राजनीतिक दलका नेतृत्व वर्गहरुले बीपी कोइरालाले भनेको जस्तै देशको एक मुठी माटो शिरमा राखेर तीतो सत्य जवाफ नदिए इतिहासले उहाँहरुलाई कहिल्यै माफ गर्ने छैन ।

२०४६ सालको जनआन्दोलन र प्रजातन्त्रको उपलब्धिपछि करिब दुई दशक नेतृत्वमा रहेको नेपाली काँग्रेसले इतिहासको कठघरामा धेरै प्रश्नको उत्तर दिनै पर्दछ । बीपीको राजनीतिक मार्गदर्शनलाई कति अवलम्बन गर्न सक्यो, समाजवाद, प्रजातन्त्रको सुदृढीकरण, विकेन्द्रीकरण, आर्थिक सम्पन्नता जस्ता विषयहरुलाई ओझेलमा पार्दै नातावाद, कृपावाद, परिवारवाद, भ्रष्टाचार जस्ता विषयहरुको कति सम्बोधन भए, कति भएनन् ? जस्ता विषयहरुको प्रत्येक नेपाली काँग्रेसका कार्यकर्ताहरूले देशको एक मुठी माटो समातेर विवेचना गर्नैपर्ने आजको आवश्यकता हो ।

प्रत्येक महत्त्वपूर्ण जिम्मेवार ओहदामा बसेर चिल्ला गाडी चढ्ने, काठमाडौंमा महल ठड्याउँदै, राज्य संयन्त्रको बागडोर सम्हाल्दै बसेका नेतृत्व वर्गले कर्तव्यबोधका साथ आत्मालोचना गर्दै यथार्थताको पहिचान गर्दै समग्र तलदेखि माथिसम्मका नेताहरु एउटै पानामा उभिन पर्ने आजको अर्को अपरिहार्यता छ । यसका साथै राजनीतिक दलहरुले करिब १५ हजार नागरिकको रगतमा होली खेल्ने होस् अथवा केही समय राज्य शक्तिमा बसेर नेपालीले रगत र पसिनाबाट आर्जेको कमाइ राज्यभित्र करको दायित्वको नाम राख्दै देशदेखि विदेशसम्म महल ठड्याउन संलग्न भएका सबै राजनीतिक दलहरूका नेतृत्व वर्गले पनि खाडीमा रगत र पसिना बगाएका मजदुरदेखि देशभित्र बिहान बेलुका पेटभरि एक छान नखाईकन बस्न विवश नेपालीहरुको आँशु पुछिने मलमपट्टी जवाफ दिनैपर्नेछ ।

ती नागरिकले केका लागि जीवन गुमाए ? उनीहरुको बलिदानी केका लागि थियो ? त्यसको प्रतिफल उनीहरुका परिवार, यो समाज अनि देशले के पायो ? त्यसको उत्तर कसले दिने ? निश्चित व्यक्तिको निहित स्वार्थका लागि हजारौं जनताको रगत बगेकोमा कुनै द्विविधा छैन । यदि देशका लागि हजारौँको बलिदान भएको भए अहिलेसम्म पनि देशमा राजनीतिक कु–संस्कार किन विद्यमान रहिरहनु ? सु–संस्कारको खोजीमा वा अन्य कुनै बहानामा भविष्यमा फेरि त्यस्तै नरसंहार नदोहोरिएला भनेर आम जनता कसरी विश्वस्त बन्ने ? त्यस प्रश्नको उत्तरका लागि श्रीमान्, श्रीमती, छोरा वा छोरी गुमाएका हरेक नागरिक व्यग्र प्रतीक्षामा छन् ।

अर्कोतिर विकसित, विकासोन्मुख मुलुकलाई नितान्त व्यक्तिगत स्वार्थका कारणले अशिक्षा, भोक, रोग, अन्याय र पीडाका घेरामा रहेका अधिकांश नेपालीको आवश्यकता सम्बोधन गर्नुको सट्टा अनावश्यक बाह्य प्रभावमा परी इतिहासकालदेखि कसैको अधीनमा नरही सार्वभौम स्वाधीनतामा रहेको नेपाललाई अनावश्यक विवादमा लैजाने अकर्मण्यता जस्ता विषयहरुमा हुँदै गइरहेको नेपाली काँग्रेसको महाधिवेशनले स्पष्ट पार्नुपर्ने अर्को आवश्यकता हो ।

बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको स्वर्णिम नीतिको कुरा वा संयुक्त राष्ट्र सङ्घमा दिएको भूपरिवेष्ठित, साना देशहरुको सार्वभौमसत्ताको सन्देशको कुरा अथवा छिमेकी तथा मित्रराष्ट्रहरूको बीचमा कूटनीतिक सन्तुलन र मर्यादाको अवधारणा जस्ता विषयहरु आज नेपाल र नेपालीको लागि अत्यन्त संवेदनशील देखिन्छ । वर्तमान नेपाल जस्ता अति कम विकसित मुलुकका नेतृत्वहरुको अज्ञानता, व्यक्तिगत स्वार्थ, बाह्य प्रभावले गर्दा ती देशहरुले विकराल परिस्थितिको सामना गर्नुपरेको कैयौँ उदाहरणहरु छन् ।

कतिपय देशहरुमा नरसंहारको अवस्था देखिएको छ भने कतिपय मुलुकहरुमा बाह्य शक्तिको प्रत्यक्ष उपस्थिति रहेको छ । जसका कारण उत्पन्न भएको द्वन्द्वमा सोही देशले आफ्ना नागरिक गुमाउनु परेको छ, देशमा नरसंहारको अवस्था देखिएको छ ।

सुडान, हाइटी, इराक, लिबियालगायत कैयौँ देशहरु र पछिल्लो उदाहरण अफगानिस्तान बन्न पुगेको सर्वविदितै छ । राजनीतिक विचारधाराको हिसाबले जुनसुकै विचारधारमा रहे पनि राष्ट्रियता तथा कूटनीतिक मर्यादाको सवालमा सबै राजनीतिक दलका नेतृत्वहरु, नागरिक समाजलगायत सबै क्षेत्रका सम्मानित नागरिकहरु एउटै पानामा नउभिए मुलुकका लागि सबैभन्दा ठूलो घातक सिद्ध भई सङ्कटको दलदलमा नेपाल फस्ने तीतो सत्य यथार्थता छ ।

नेपाल जस्तो सानो मुलुकमा पनि सयभन्दा बढी राजनीतिक दलहरु रहनु, दलहरु राष्ट्रिय स्वार्थभन्दा अन्तर्राष्ट्रिय प्रभावमा पर्नु, राजनीतिक दल आफैंमा समस्याको विषय नभए पनि राष्ट्रप्रति उनीहरुको अज्ञानता, परिणाम विकराल समस्याको परिणाम बन्न सक्छ । राजनीतिक दल बीचको एकता नै मुलुक बचाउने सबैभन्दा ठूलो अस्त्र हो भन्ने कुरालाई नजरअन्दाज गर्नु नेपालका राजनीतिक दलका नेतृत्ववर्गको अज्ञानता राष्ट्रको समस्या हुनसक्ने कुरा मनन्योग्य भन्ने विषयमा द्विविधा नहुनसक्छ ।

सत्ता प्राप्तिका लागि राजनीतिक दलका आन्तरिक नेतृत्वबीच देखिएको कु–संस्कार किन नहोस्, अन्य राजनीतिक दलहरुभित्र रहेको स्वार्थीपना किन नहोस् ? यो चरित्र समग्र राष्ट्र निर्माणमा बाधक भएको र समग्र नेपालीको सुनौलो भविष्यमाथि अन्धकार छाएको नेतृत्वमाथि सबै दलका कार्यकर्ताले विश्लेषणात्मक छलफल र मनन् गर्नपर्ने आजको अर्को आवश्यकता हो ।

आज समग्र नेपाली काँग्रेसका कार्यकर्ताको बीचमा धेरै सवालहरू छाएको छ । वर्तमान सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले विगत लामो समयदेखि पटक–पटक गरेर सत्ता सम्हाल्न पाएको अवसरलाई सदुपयोग कसरी गर्ने ? महामानव बीपी कोइरालाको अवधारणालाई कसरी पूर्ण पालना गर्ने ? बीपीको पाँच दशक अगाडिको मेलमिलापको नीति अवधारणालाई कसरी अङ्गीकार गर्ने ? बीपीले प्रत्युत्पादन गरेको राष्ट्रिय मेलमिलाप, सत्य, न्याय, करुणा, क्षमा दान र शान्ति तथा समृद्धि जस्ता सिद्धान्तहरुको कसरी अनुशरण गर्ने ? जस्ता मुद्दाहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने अपरिहार्यता छ ।

राजनीतिक दल बीचको विचारको द्वन्द्व, राजनीतिक दलभित्रको द्वन्द्वका कारण मुलुकले भोग्नुपरेको परिणामलाई मध्यनजर गर्दै आसन्न महाधिवेशनमा पनि राष्ट्रिय मेलमिलापको औचित्य पुष्टी गर्दै बीपीको मार्गदर्शनलाई पालना गर्नु आजको आवश्यकता देखिन्छ ।

नेपाली काँग्रेसले आफ्नो पहिलो प्राथमिकतामा नागरिकको सामाजिक सुरक्षा, आर्थिक उन्नतिका साथै शैक्षिक र नैतिकतामा जोड दिनुपर्छ । महाधिवेशनमा सामाजिक सुरक्षा लोक कल्याणकारी राज्यको अवधारणालाई अघि सार्दै न्यायोचित बाँडफाँडका साथै राज्यका लागि नागरिकको कर्तव्य र बहन गर्नुपर्ने दायित्वलाई अघि सार्नुपर्दछ, साथै राष्ट्रिय अर्थतन्त्रभित्रका मुद्दाहरूमा गम्भीरताका साथ छलफलमा ल्याउनुपर्ने आजको आवश्यकता वा गाम्भीर्यता हो भन्ने कुराबाट विचलित हुनुहुँदैन ।

पार्टी नेतृत्वले आमजनता एवं कार्यकर्ताको स्वास्थ्य, शिक्षा, सामाजिक तथा आर्थिक सुरक्षाका साथै बाँच्नका लागि पाउनुपर्ने न्यूनतम आवश्यकतालाई प्रमुख मुद्दाका रुपमा केवल कागजमा मात्र नभई व्यावहारिक रुपमा अगाडि बढाउने स्पष्ट मापदण्ड तयार गर्नुपर्दछ । राष्ट्रहितका लागि व्यक्तिगत र पार्टीको स्वार्थभन्दा माथि उठेर गर्नुपर्ने कार्यमा विचलित नभई सही निर्णय लिन सक्नु अहिलेको नेतृत्वको प्रमुख आवश्यकता हो । पार्टीभित्र देखिने गरेका विभिन्न असन्तुष्टि एवं फरक विचारलाई छलफलमा ल्याई त्यसको निराकरण गरेर अघि बढ्न सकेमा मुलुक निर्माणमा सहयोगी सिद्ध हुने कुरामा दुई मत छैन ।

राष्ट्रका लागि होस् वा पार्टीका लागि होस् सहकार्य, सहयात्राको नारालाई आत्मसात गर्दै अगाडि बढाएर साझा दृष्टिकोणमा सहकार्य गर्नु राष्ट्रका लागि अग्रगामी कदम हुनसक्छ । व्यक्तिवादी सोचलाई त्याग्दै विश्वका अन्य मुलुकहरुले भोगेको समस्यालाई मध्यनजर गर्दै त्यस्ता समस्याबाट राष्ट्र र पार्टीलाई मुक्त गराउनु अहिलेको अर्को अपरिहार्यता हो ।

प्रत्येक सामाजिक तथा राजनीतिक आन्दोलनमा हरेक व्यक्ति सामूहिक जीवनपद्धति, भिन्नतालाई स्वीकार्ने र सम्मानजनक जीवन बाँच्ने कुराको सुनिश्चितता, शान्ति तथा सुरक्षाको प्रत्याभुति चाहन्छ । पहिचानको सम्मान, विविधताको स्वीकारोक्ति, मानवीय सम्बन्ध, आत्मसम्मान र स्वतन्त्रताको प्रवर्द्धछन र सङ्घीय स्वतन्त्रता, सांस्कृतिक विविधताको संरक्षणलाई सम्मान गर्दै सामाजिक, राजनीतिक, आर्थिक पक्षको सुदृढीकरण चाहन्छ । त्यसैले नेपाली काँग्रेसले जनताको तहमा बसेर यस्ता विषयलाई सम्बोधन गर्नु मुलुकलाई समृद्धि बनाउनु र जनतालाई पार्टीप्रति विश्वस्त दिलाउनु पनि अर्को अपरिहार्यता हो ।

राजनीतिक दलहरु नै प्रजातन्त्र या लोकतन्त्रको संवाहक हो भन्ने कुरामा दुई मत देखिन्न । तर, लोकतन्त्र केवल निश्चित वर्ग, राजनीतिक दल, तह र तप्काका मानिसको हितका लागि मात्र नभएर समग्र देशको आर्थिक सम्पन्नता हुँदै सार्वभौमिकताको रक्षा गर्नु पनि हो ।

परापूर्वकालदेखि जोगिइराखेको देशको सम्प्रभुता र सार्वभौमिकताको रक्षार्थको निम्ति वर्तमान परिस्थितिमा संवेदनशीलताको गहिराइमा जान पर्ने देखिन्छ । सङ्कट व्यवस्थापनको एक महत्त्वपूर्ण सिद्धान्तले भन्छ, ‘सक्छौ भने सङ्कटको समाधान गर, सक्दैनौँ भने समाधान गर्ने नाउँमा अरु थप क्षति नपुर्याऊ ।’ यस सिद्धान्तलाई अनुशरण गर्दै भविष्यमा पनि देशको सार्वभौमिकतालाई दखल पुर्याउनबाट बचाउनु मातृभूमिप्रतिको दायित्वको बोध पनि त्यत्तिकै संवेदनशील छ ।

प्राकृतिक हिसाबले सर्वगुण सम्पन्न मुलुक नेपालमा बाह्य शक्तिले गिद्दे दृष्टिले नजर लगाउनु सामान्य कुरा हो, तर त्यसबाट मुक्त हुनका लागि नेपालभित्रका राजनीतिक दल, नेतृत्वमा रहेका नेतृत्ववर्ग र विशेष गरी नेपाली काँग्रेसको भूमिकामा स्पष्ट नेतृत्वदायी हुनुपर्दछ ।

संसारमा भएका असल राजनेताहरू विल्सन चर्चिल, एलिजाबेथ फ्रष्ट, विड्रो विल्सन, माओ, गान्धी, बीपी कोइरालाले खेलेको भूमिका र सङ्कटको मोचन गरेका इतिहासबाट पाठ सिक्नु आजको अर्को अनिवार्यता छ । विगतको नेपाललाई हेर्दै अहिलेको नेपालको कल्पना गर्नुभन्दा पनि भविष्यको नेपालको कल्पना गर्नु उपयुक्त हुन्छ, अन्य मुलुकभन्दा फरक हुन कसरी सकिन्छ भन्ने कुराको ध्येय रहनु आवश्यक हुन्छ । आज देशमा विनाशकारी शक्ति होइन, समन्वयकारी शक्तिको आवश्यकता छ ।

तत्कालको नेपाल निर्माणका लागि भन्दा पनि भविष्यको नेपालको परिकल्पनालाई मजबुद गराउनु आजको आवश्यकता हो । वर्तमान राजनीतिक नेतृत्वले निश्चित र क्षणिक स्वार्थ त्याग्दै राजनीतिक दल बीचको आपसी सम्बन्धका साथै पार्टीभित्रका आन्तरिक गुट र उपगुटको निराकरण गर्ने संस्कार नै एउटा राजनीतिक दलको जीवन्त आचरणको महत्त्वपूर्ण बोध गर्ने संस्कारको विकास गर्नुपर्ने देखिन्छ ।

अन्त्यमा सर्वप्रथम नेतृत्व वर्गमा देश र जनताप्रतिको उत्तरदायित्व र भावना जागृत गराउने, जनतालाई नागरिक शिक्षाका साथै, वास्तविक प्रजातन्त्रको आभास दिलाउने, मुलुकमा शान्तिपूर्ण सांस्कृतिक शिक्षा, सहनशीलता, साझेदारीको विकास, आपसी समझदारीको प्रवर्द्धन, अन्तरसांस्कृतिक बहस, लैङ्गिक समानता र सौहार्दपूर्ण ऐक्यबद्धतालाई अवलम्बन गर्दै अगाडि बढ्न सकेमा नेपाल साथै नेपाली काँग्रेसको भविष्य पनि सुनिश्चित र सुखद् हुने कुरामा दुई मत छैन ।

नेपाली काँग्रेसले समग्रमा केवल सत्ताका लागि मात्रै साझेदारी नभई विचार र दृष्टिकोणमा पनि साझेदारी र सहकार्य गर्ने गरी एक निर्दिष्ट मापदण्ड तयार पार्नु नै काँग्रेस महाधिवेशनले प्रमुख मुद्दा बनाउनुपर्नेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।