कथा : अमल्ची

person explore access_timeभदौ २३, २०७८ chat_bubble_outline0

खत्री मास्टरको लासमा उसको छोराले मुखाग्नि दिएपछि कुनै चिज झल्याँस्स सम्झेजस्तो गरी आफ्नै ज्याकेटका गोजी छाम्यो । अलग अलग गोजीबाट तीन बुक तास निकाल्यो र मृत बाउको सिरानमा राखिदियो ।

खत्री मास्टरलाई तासे मास्टरको उपनाम पनि दिएका थिए मान्छेहरूले । तासको भोगी नै थिए उनी । तास भएपछि दिनको भोक गायब हुन्थ्यो । रातमा निद चाहिन्नथ्यो । ठुटेबजार मेलामा सात दिन सात रात तास खेलेको रेकर्ड बनाएका थिए ।

जल्दो चितामा पनि यिनी तासका साथ जल्न पाए । छोरालाई कसैले अह्राएको त होइन । उसकै विवेकले सिरानेमा तास राखिदियो । कतिले हँस्यौली गरे– “बूढाले माथि गएर पनि खेल्न पाउने भए । बूढाको आत्मालाई शान्ति मिल्ने भयो ।”

पोहोर साल चोकको माइलो राई म¥यो । माइलो राई विगत पाँच छ वर्षदेखि एकदमै ट्वाँके भइसकेको थियो । बिहान झिसमिसेमै आधी कठुवा रक्सी घुट्क्याइसकेको हुन्थ्यो । बिहानै रक्सी पिउन पाएन भने उसका हात थरथर काँम्थे । भातको गाँस मुखमा पु¥याउन पनि उसलाई हम्मेहम्मे पर्दथ्याे ।

किराँती रीतअनुसार उसको लास गाउँपारिको सालघारीमा राखियो । एक मान्छे गहिरो चिहान खनेर लास राख्ने काम भयो । लाससँगै कान्छी भाउजूले उसले रक्सी खाने कठुवा, उसले हरहमेसा कम्मरमा झुण्ड्याउने दापसहितको खुकुरी र उसले जाँड खाने डबका सिरानमा राखिदिइन् । त्यसपछि बिजुवाले मुन्धुमी रीत गरेर लासलाई छोप्ने काम गरियो । राई माइलो रक्सीको अमल्ची थियो । त्यसैले रक्सीको कठुवा चिहानमा राखियो । ऊ तासजुवा खेल्दैनथ्यो । तास खेल्ने भए सायद तासका बुक पनि चिहानमा चढाइन्थ्यो होला ।

खत्री मास्टरको छोराले भने बाउको चितामा तास मात्र चढायो । रक्सी त उसले दस वर्षअघि नै खान छाडिसकेका थिए । पहिले त ऊ रक्सीको पनि भोगी नै थियो । रक्सी पिउन्जेल आफ्नो तलब सकल्ती रूपमा कहिल्यै घर ल्याएनन् । त्यतिखेर चौमासिकै पिच्छे तलब थाप्न सदरमुकाम झर्नुपर्थ्यो । बैङ्कबाट तलब झिकेको दिनदेखि सात दिन सात रात मोटे तामाङको होटलमा बसेर तास र रक्सीमा पैसा चिरिप्प सक्थे । घर उक्लिने बेलामा मोटेसित ऋण सापटी काढेर घरका लागि सरसामाग्री किनमेल गर्थे ।

निरन्तरको रक्सी सेवनले शरीरमा रोग देखा प¥यो । जचाउन विराटनगर गए । डाक्टरले भनिदियो, “रक्सी पूर्ण रूपले छोड्यो भने दबाइले काम गर्छ । नत्र औषधी नगरे पनि हुन्छ ।” त्यसपछि उनले गाउँ फर्केर गीता पुजे । गीता पुजेदेखि रक्सी खाने साथीहरूको सङ्गत छुट्यो । रक्सीको अम्मल त गीताले छुटायो । तर तासको अम्मल कहिल्यै छुटेन ।

   मृत्युको आखिरी घडीमा पनि तासकै घिडघिडो रहेछ । सात दिनदेखि वाक्य बसिसकेको थियो । अब यता फर्किने त कुनै गुन्जाइस थिएन । खानपिन बन्द थियो । दिशा पिसाब बन्दजस्तै थियो । घिटिक्क घिटिक भएर प्राणपखेरु घाँटीमा अड्किबसेको थियो र पनि हातले हमेसा तास फिटेको, तास बाँढेको र तास थुतेर हानेको भाउ लाइरहन्थे ।

 होस त छँदै थिएन तर उनको अचेतन मनमा तास प्रतिको उग्र व्यामोह अझै सजीव थियो । आज प्राण जाला भन्यो, भोलि प्राण जाला भन्यो जाँदैनथ्यो; झन्झन् ठूलो कष्टकसलामा फँसिरहेका थिए । वैतरणी गरियो । दस दान गरियो । मृत्युञ्जय पाठ गरियो । बाहुन बोलाएर चण्डी पाठ गराए । सत्सङ्गी गीता पूजनका मित्र मण्डलीले गीता पाठ गरिदिए तर पनि सहज ढङ्गले मृत्यु हुन सकेन ।

 सबै क्रम उपक्रमहरू पूरा गरिसक्ता पनि प्राण नगएपछि उनको तासे मण्डलीको कुनै एक मित्रले सुझाव गरे– “होइन मास्टरको हातको अभिनय हेर्दा यिनको घिड्घिडो त तासका पत्तीमा अड्केको छ कि क्या हो ? लु एक बुक तास ल्याउनु प¥यो । हातमा तास राखिदिँदा पो सहजै परलोकतिर लाग्थे कि ?”

अरूले पनि हो मा हो मिलाए– मनासिब ! मनासिब ! सही कुरा आयो । मान्छेको अन्तिम घिड्घिडो केही न केहीमा अल्झेको हुन्छ भन्छन् । मास्टर तासका प्रेमी नै हुन् । हुन सक्छ उनले तास फिट्न नपाएर पो यो भाउ लाएका हुन् कि ?

त्यतिन्जेलमा छोराले तासको गड्डी ल्याइसकेको थियो । मधौरुका हातमा तास राखिदिएपछि आँखामा यस्तो रौनक छायो; सारा मुखमण्डलमा अनौठो चमक फिँजारियो । बूढा जुरुक्कै उठ्लान् कि जस्तो तेज पैदा भयो । दुवै हातले बडा मजासित तासको बुकलाई स्पर्श गरे । तीनचोटि तास फिटे । अनि दायाँ हातको हत्केलामा तासको गड्डी च्यापेर दायाँ हातले तास भाग लाउन थाले । एक चरण भाग लगाइ नसक्तै आँखाको ज्योति क्रमशः निभ्दै गयो । दुईचोटि घिटिक् घिटिक् गरे । फुस्स प्राण गयो ।

 उनको तासे मण्डली मित्र जस लिनलाई भीडबाट कुर्लियो, “मैले भनेको थिएँ नि त तासमा घिडघिडो अड्केको हुनसक्छ भनेर देख्नु भो ! हो कि होइन रहेछ ।” “हो हो” तपाईंले चाल पाउनुभएको रहेछ, भीडबाटै कसैले सही थाप्यो । “अब तपाईंको पालामा पनि यसै गर्नुपर्नेरहेछ, बुद्धि जानियो ।” कसैले उनलाई व्यङ्ग्य ग¥यो ।

जानिफकारहरू भन्छन्– उनको एकतिहाइ जिन्दगी तासका खालमा पलेँटी कसेर सकियो । अर्थात् उनी साठी वर्ष चार महिना बाह्र दिन बाँचे । त्यसमध्येको बीस वर्ष एक महिना तीन दिन जतिको समय तासमा खर्च गरेको अनुमान गरिन्छ । छनलाई उनी गाउँको प्राथमिक विद्यालयमा एक शिक्षकका रूपमा कार्यरत थिए । तर दिलचस्पीका साथ पठनपाठन कार्यमा कहिल्यै संलग्न नभई पच्चीस वर्ष पढाएर स्वैच्छिक अवकाश लिए ।

 जागिर खाँदाको बखतमा पनि हुनलाई कक्षाकोठामा हुन्थे तर यिनको मन तासकै खालमा कतिखेर पुग्नु, हमेसा बुर्कुसी मारिरहेको हुन्थ्यो । कहिलेकाहीँ त बच्चा कम आएका छन् भने तीन घण्टीमै छुट्टी दिएर अफिस कोठामै पिउन र अर्काे शिक्षक साथीसित भिड्न थालिहाल्थे ।

सरकारी स्कुलका मास्टरले सामान्यतः तीन खालका बिदा पाउने गर्छन्, वर्षभरिमा छ दिन अपर्झट बिदा, छ दिन पर्व बिदा र बाह्र दिन बिरामी बिदा; यी तीनै खालका बिदा यिनी शैक्षिक सत्रको छ महिनामै लिइसकेका हुन्थे । अरू मास्टरले घरायसी काममा, बिरामी परेका अवस्थामा साह्रोगाह्रो परेको अवस्थामा बिदा खर्च गर्थे । अबि, पबि लिए पनि बिरामी बिदा हतपत खर्च गर्न लोभिन्थे ।

बिरामी बिदा सञ्चित गर्न पाइने र जागिर छोड्दाको बखतमा त्यसको पैसा पाइने भएकाले अप्ठ्यारो नपर्दासम्म बिरामी बिदा चोखै राख्थे । खत्री मास्टरलाई बिदा जोगाउनुको कुनै चिन्ता थिएन । उसलाई तास खेल्न पाउँदा सर्वस्व गुमाएको पनि याद हुन्नथ्यो । नाथे बिदाको त के कुरा रह्यो र ? अबि, पबि र बिबि खर्च गरी गरी तासको खालमा भुलिन्थे ।

 पचपन्नदेखि साठी सालसम्मको द्वन्द्वकालमा उनले चार चोटि सख्त कारबाही भोगे; त्यो पनि माओवादी विद्रोहीहरूको हातबाट । हरघडी तासको खालमा नारिएको आरोपमा पहिलो चोटि सय खेप कान समातेर उठबस गराएर छोडियो । दोस्रो पटक पनि पुनः तासको खालमा भेटिएपछि तीन पत्ती तास चपाएर निल्न लगाइयो । त्यति गर्दा पनि उनको आदत छुटेन । लुकीछिपी खेलिरहे । खेलिरहे । तेस्रो चोटि पनि समातिए । त्यस पटक चाहिँ ढाडमा सात भाटा हानियो । भाटा हानुन्जेल त कायल भए पनि; तर त्यसको दुई दिन पछिबाट पुनः खेल्न थालिहाले ।

अर्काेचोटि चाहिँ उनलाई आर्थिक दण्ड गरियो । पाँच हजार रुपैयाँ बुझाएपछि उनले माफी पाएका थिए । त्यसपछिको एकाध वर्षमा त शान्तिवार्तामार्फत माओवादी विद्रोहीले अवतरण लिए । त्यसपछि त उनले डराइराख्नु पनि परेन । यत्रो चार चार चोटि कारबाहीमा पर्दा पनि यिनले कहिल्यै चेतेनन् । अर्थात् कारबाही खाएको एक दुई दिनसम्म त डराउँथे । हैट ! अब खेल्नुहुन्न भन्ने लाग्थ्यो । तर तेस्रो दिनदेखि भित्रबाट यस्तो तलतल जागेर आउँथ्यो । मनमा यस्तो छट्पटी बढ्थ्यो । कुदेर तासे मण्डलीको भूमिगत अड्डामा पुगिहाल्थे ।

तास फिट्न पाएपछि मनका सारा उकुसमुकुस शान्त बन्थे । भित्रको औडाह उफान हराएर हृदयमा शीतलता छाउँथ्यो । के दिन, के रात, के बिहान, के साँझ हमेसा तासको अम्मलले उनलाई एक अजीवको दुर्व्यसनी बनाएको थियो । सार्वजनिक बिदा शनिबार र चाडबाडका बिदा आउनु भनेको उनलाई तास खेल्नको लागि खुदै पर्दथ्याे ।

कहिलेकाहीँ तासका खालमा एकाध दिन गयल परे भने उनका मित्र मण्डली खोज्दै घरमा आइपुग्थे । उनी १०२ डिग्री सेल्सियस ज्वरो आएर ओछयान परेका हुन्थे । तर मित्र मण्डलीले धर दिँदैनथे ।  “ओ ! मास्टर साब ! के भो, धेरै दिन भयो त आफ्नो अड्डामा गयल परेको ?” मित्र मण्डलीको कुराले आँखा खोल्थे ।

 “तपाईं नभएर कोरमै पुगेन क्या ! उठ्नुस् ! अडेस लागेर पनि दुई चार हात खेलूँ ।”

साथीले गोजीको तास निकालेपछि यिनको नौनाडीमा दधिचिको हड्डीबाट देवताको शरीरमा बल पसेजस्तो कताबाट प्राण भरिन्थ्यो भरिन्थ्यो । छिनभरमै जुरुक्क उठेर दरी बिछ्याउँथे । आइरहेको हनहनी ज्वरो कता हराउँथ्यो हराउँथ्यो । “लौ सकिएन । यस्तो आलस्तालस भएको मधौरुले पनि खेल्नु त ? अति नै भो क्या ! यस्तो उखपात गरेको त राम्रो हुँदैन भन्छन् ।” मास्टर्नी च्याँठिएपछि मित्र मण्डली सट्याक्सुटुक बाटो तताउँथे । सन्च हुँदा पनि त्यही तास बिरामी हुँदा पनि त्यही तास, उनको बाँच्ने आधारै तास बनेको थियो ।

गीता दर्शनको सारतत्त्व बुझेर उनले गीता पुजेका थिएनन् । गीता पुज्नु भनेको रक्सी छोड्ने एक बाहना मात्र थियो । गाउँमा अरू दुई चार जना रक्सीका घैलाहरूले गीता पुजेर रक्सी खान छोडेको दृष्टान्त सबै सामु प्रष्ट थियो । पुज्नको लागि पुज्थे गीताको पुस्तक । बिहान बिहान वाचन गर्ने श्लोकको अर्थ के हो ? त्यसलाई बुझ्ने, थाहा पाउने लेठो कहिल्यै बेसाएनन् । बाबुले पनि यसरी नै पुज्थे । पाठ गर्थे । निधारमा सेतो चन्दनको ठाडो टीको लाउँथे । टोपीमा बुकीफूल सिउरिन्थे । घाँटीमा एक सय आठ रुद्राक्षको माला झुन्ड्याउँथे । बाबुकै लयमा उनले सबै कर्मकण्ड पूरा गरे ।

गीतामण्डलीहरू वर्षमा तीनचोटि सात सात दिनका लागि धुनी लगाउँथे । धुनी बस्नुलाई विम्बा बस्नु पनि भनिन्थ्यो । त्यो सात दिन विम्बामा रातभरि रागभजन गाउनुपर्ने र धुनीमा रहनुपर्ने अनिवार्य नियम थियो । तासको अम्मली भएकाले एक दुईचोटि त्यसमा पनि गयल परेका थिए उनी । धुनी बस्न गयल पर्नेलाई गीताका गुरुले कारवाही गर्थे । गीता मण्डलीबाट हटक गर्ने, काढ्नेसम्मका कुरा हुन्थे । माफी मिनाहाको लागि याचना गरेर खीर, मालपुवा, सेलरोटीको भण्डारा लाएपछि फेरि कारबाही फुकुवा हुन्थ्यो । मास्टर खीर रोटीको कारबाहीमा पनि परेकै हुन् । कारण अरू केही नभएर उनलाई विम्बा भन्दा तासकै खाल जरुरी महत्त्वको विषय बन्यो । तासको खालमा भुलिँदा विम्बामा गयल परियो र कारबाही भोग्ने अवस्थामा पुगे ।

जमानामा बस्तीपुर हाइस्कुलबाट म्याट्रिक पास गरेका मास्टर थिए उनले । तर सदरमुकामतिर झर्दा उनले कहिल्यै पुस्तक पत्रपत्रिका किन्ने हेर्ने काम गरेनन् । घरमा समाचार सुन्न एउटा पुरानो जापानिज पानासोनिक रेडियो थियो । कहिलेकाहीँ समाचार सुनी टोपल्थे । तर देश दुनियाँका बारेमा थाहा पाउनु, ज्ञानविज्ञानको जानकारी राख्न पुस्तक पढ्नुपर्छ, पत्रपत्रिका हेर्नुपर्छ भन्ने सोच कहिल्यै आएन ।

सदरमुकाम झरेर घर फर्किंदा पनि उनले तासका नयाँ नयाँ गड्डी किनेर झोलामा राख्न चाहिँ कहिल्यै बिर्सेनन् । उनलाई पुराना तास फिट्नुमा त्यति मजा आउँदैनथ्यो । त्यसैले बढीमा हप्ता दिनभन्दा धेरै पुराना तासको गड्डी फिटेनन् । नयाँ झिकिहाल्थे । नयाँ तास फिट्नु पनि उनको एक अभिनव शौख थियो ।

                       ०००

खत्री मास्टर हिजो बिते जस्तो लाग्थ्यो; आज एघारौँको काम सम्पन्न भयो । हिन्दू विधिविधान अनुसार भोलि उनको शुद्धाइँ कार्य हुँदैछ । अर्थात् बाह्रौँ दिनको काम सम्पन्न हुँदैछ । उनका परिवारजनको जुठो बार्ने काम सकिन्छ । दस दिने दाजुभाइहरु त हिजो दशौँ दिनमा गहुँत खाएर चोखिए । उनीहरूको लागि नुन फुकिसकेको छ ।

राति भएपछि मृतक खत्री मास्टरका घरमा मान्छेको घुइँचो लाग्छ । भन्नलाई किरियापुत्री रुङ्न मान्छे आएका हुन्छन् । एकतिहाइ त त्यही हेतुले आएका होलान् । तर दुई तिहाइभन्दा बढी मान्छे रातभरि तास फिट्नुको रौँनकले कुत्कुतिएर जम्मा भएका हुन्छन् । ओल्लो पल्लो तीन गाउँका तासे अमल्चीहरू बूढा मरेको पहिलो रातबाटै आउन थालेका हुन् ।

मृत मास्टरको आत्माले पनि गद्गद् शान्ति पाओस् भनेरै आधा दर्जन खाट जोडेर आँगनमा पाँच सात झोली तासेलाई मजाले खेल्नसक्ने वातावरण मिलाइदिएका छन् ।

खालैपिच्छे उज्यालोको राम्रो प्रबन्ध छ । कहीँ सोलार बत्तीको उज्यालो छ । कहीँ लालटिनको उज्यालो छ । कहीँ मट्टीतेलवाला कुपीको व्यवस्था छ । जति गु्रप खेल्न आए पनि उनीहरूलाई तासका नयाँ गड्डी र एकथान उज्यालोको आदेश मास्टरको छोराले किरियापुत्री घरबाटै गर्छ, घरपरिवारमा खट्ने काम गर्नेहरूलाई । बेलाबेलामा चिया सर्वतको व्यवस्था पनि गरिएको छ ।

बूढाको किरियाकाजभरिका बाह्र दिन त्यस घरका आँगन दलान कोठा चोटा मतानमा तास खेल्नेहरूकै रौनकले जगमग बन्यो । मानौँ तासको एक अनुपम पर्वले यस घरलाई देदिप्यमान बनाइरहेको छ । किरिया बार्ने छोराहरू पनि खुसी छन् । मास्टर पत्नी पनि खुसी छिन् ।

बाह्रौँ दिनको बिहानीपख मास्टरनी बूढी गहिरो निद्रामा पर्छिन् । तीन बजेतिर पहिलोचोटि निद्रा खुलेको हो । तर उठ्नुपर्ने कुनै हतारो थिएन ओछ्यानमै लम्पसार परिरहेकी थिइन् । फेरि निद्राले झप्प छोप्यो । सपनाको एउटा दृश्य मथिङ्गलमा नाच्यो ।

मास्टर कहाँकहाँ कुनै अनाकन्टर एकान्त थलोमा बन्दी बनेका रहेछन् । श्रीमती चाम्रेको पोको बोकेर पति भेट्न गएकी रहेछिन् । उनी त्यहाँ रिसले राँक्किएर बसेका रहेछन् । भोकले होला भनेर गुम्छाको पोको खोलेर चाम्रेको थाल हातमा राखिदिइन् ।

उनले एकै झट्कामा थालसहित चाम्रे फ्याँकिदिए । राताराता आँखा फुकालेर पत्नीलाई घुरेर हेरे ।

“तँलाई यो चाम्रे ल्याउनु के जरुरी थियो । म यहाँ भोको छु र ? मलाई सिपाहीहरूले बेलाबेलामा खान दिइराखेका छन् ।”

“अनि के चाहियो त ? यसरी किन रिसाउनु भएको ?”

“आफूलाई तास खेल्न नपाएको कति दिन भो । रातमा निद्रा आउन छोडेको छ । एक बुक तास ल्याइदिनु पर्दैन ।”

        “ए त्यसो पो ! अब नरिसाउनु आजै पठाइदिन्छु तासको बुक ।”

त्यसपछि उनी लुरुलुरु घर फर्किन् । बाटोमा आउँदा आउँदै उनलाई बेस्सरी ठेस लाग्यो ।  त्यहीबेला झल्याँस्स ब्युँझिन् । सपना सम्झेर एकछिन झोक्राइ बसिन् । धेरैबेरसम्म झोक्राइ बस्न अवकाश थिएन । कारण आज बाह्रौँ दिनका पण्डित पुरेतहरूलाई दानदक्षिण गर्ने र सम्पूर्ण विधि विधान पूरा गर्नुपर्ने दिन थियो ।

बिहानैबाट रीत अनुसारका कर्मकण्डहरू थालनी भए । धन्दापात गर्ने मान्छेको घरमा कुनै कमी थिएन । आफन्त इष्टमित्र छरछिमेकी धुरिएका थिए । एक बजेअगाडि नै पुरोहितहरूको पढ्ने काम सकियो । रह्यो दान दक्षिणाको कुरा । ढकीढकीमा पुरोहितै पिच्छे सिदा दान तयार थियो । चामल, दाल, नुन, वेसार, घिउ, मसला, फलफूल, सेलरोटी, मालपुवादेखि लुगाकपडासम्म ढकी ढकीमा खचाखच छन् ।

प्रत्येक ढकीमा बोहोता बोहोतामा एकएक बुक तास पनि राखिदिएकी छिन् मास्टारनी बजैले । आफूले पाएको दानसिधा सयार्ने क्रममा मूल पुरोहित आश्चर्यचकित बने । उनले हजारौं ठाउँमा हजारौँको काजकिरिया गराए होला । सुनदान, गाईदान, वस्त्रदान त पाएकै हुन्; तासका गड्डीको दान देखेका थिएनन् । उनलाई नौलो अनुभूति पैदा भयो । खुसुक्क मास्टर्नी बजैका कानमा सोधनी गरे– “होइन यो तास किन दान गर्नुभएको ?” उनले मसिनो स्वरमा जवाफ दिइन्– “उहाँले पठाइदिनु भन्नुभएको छ त्यसैले ।

पुरोहितले खाँटी कुरा के हो ? झनै बुझ्न सकेनन् । झन् अन्योलमा परे । छोरोले अघि सरेर सहजीकरण गर्‍यो ।

 “पुरोहित पनि त आखिर तासको प्रेमी नै हो नि काम लाग्छ क्या ! हजुरलाई । पिताजीको आत्मालाई पनि शान्ति मिल्छ होइन र ?” बाहुनका आँखामा अलिअलि कुरो बुझेको भाव चम्किरहेको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।