बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भरतमणिले नै जित्लान् त कमेडी च्याम्पियन ?

बुधबार, २३ भदौ २०७८, १० : ३१
बुधबार, २३ भदौ २०७८

कमेडी च्याम्पियन–२ को उत्कृष्ट तीन (फाइनलिष्ट) प्रतियोगी भरतमणि पौडेलको यतिबेला सबैतिर छाउन सफल भएका छन् । उनी जहाँ जान्छन्, त्यहाँ उनको भव्य स्वागत र सम्मान समेत हुने गरेको छ ।  मंगलबार गृह जिल्ला ताप्लेजुङ पुगेका भरतमणिलाई त्यहाँ पनि भब्य स्वागत गरिएको छ । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्यालीसहित फुङ्लिङ भित्र्याएर उनलाई नौमति बाजा र बिभिन्न कल्चरल भेषभूषामा सजिएका जिल्लावासीले उनलाई बजार परिक्रमा गराइएका थिए ।

कमेडी च्याम्पियन सिजनको दुईको उपाधि चुम्न सक्ने शुभकामना दिँदै ताप्लेजुङका नागरिकले उहाँलाई फूलमाला, खादा र अबिरको बर्षा समेत गराए । सोमबार पनि भरतमणिको पक्षमा झापाको सडकमा ‘भोट फर भरतमणि’ नारा गुन्जिएको थियो । उनलाई अबिर, माला र खादाले सजाएर भद्रपुरदेखि बिर्तामोडसम्म उनका लागि भोट माग्दै मोटरसाइकल र्यालीसहित समर्थकले ‘भोट फर भरतमणि’ नारा गुन्जाएका थिए । र्यालीमा हजारौ समर्थकको सहभागिता रहेको थियो । र्यालीमा भरतमणिलाई ‘कमेडी च्याम्पियन २’को विजेता बनाउन भोट गर्न अपिल समेत गरिएको थियो ।

यति मात्र कहाँ हो र सामाजिक संजालमा समेत भरतमणिको चर्चा राम्रो छ । उनले पछिल्लो समय दिएको पूर्व युवराज पारस शाहको गेटअपको तस्बिर पोष्ट गर्दै विजेताका लागि शुभकामना दिने गरिएको छ । कमेडी च्याम्पियनका विजेता भरतमणि हुनुपर्छ र बनाउनुपर्छ आवाज अहिले जताततै देख्न र सुन्न सकिन्छ ।

चर्चा त उनको ब्यापक छ । तर उनलाई कमेडी च्याम्पियनको विजेता बन्न चर्चाले मात्र पुग्दैन । प्रशस्तै भोटको पनि आवश्यकता पर्दछ । किनभने कमेडी च्याम्पियनको फाइनलमा उनीसहित सन्तोष थापा र विक्की अग्रवाल पनि छन् । तीन मध्ये दर्शकको भोट जसको बढी हुन्छ, त्यसलाई विजेता बन्न सहज हुनेछ ।

भरतमणिले जित्लान् त कमेडी च्याम्पियन ?  अहिले नै भन्न सकिने अवस्था भने छैन । भरतमणि भने आफु विजेता भएपनि नभएपनि दर्शकहरुका लागि आगामि दिनमा पनि नियमित र उत्कृष्ट कमेडी दिन पछि नहट्ने बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप