शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङमा निषेधाज्ञा हट्यो, पर्यटकलाई कडाइ

मङ्गलबार, २२ भदौ २०७८, २१ : ५७
मङ्गलबार, २२ भदौ २०७८

मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि २०७८ वैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो । 

अठार वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएको र सङ्क्रमण दर न्यून रहेकाले जनजीवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझावअनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले मुक्तिनाथ मन्दिरबाहेक सबै क्षेत्र खुलाउने निर्णय गरेको जानकारी दिए। 

    निषेधाज्ञा हटाएपछि पोखरा–जोमसोम हवाई सेवा, लामो तथा छोटो दूरीका यातायात, पर्यटन क्षेत्र, होटल तथा रेष्टुराँ, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक सङ्घसंस्थाको गतिविधि निर्वाधरूपमा सञ्चालन हुनेछन् । आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ । जोमसोम विमानस्थल कक्ष, म्याग्दी र मुस्ताङको सीमा नाका घाँसा प्रहरीचौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

    जिल्लाका नागरिकले मुस्ताङ आउजाउ गर्नुपर्दा सम्बन्धित स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै नागरिकता अथवा परिचयपत्र देखाए हुने भएको छ । निषेधाज्ञाले मुस्ताङका होटल व्यवसायी सङ्कटमा परेका छन् । निषेधाज्ञा खुकुलो पारिएसँगै अर्थतन्त्र चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए । 

    पाँच सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मुस्ताङमा ५०८ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप