शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा महन्थलाई राहत

मङ्गलबार, २२ भदौ २०७८, १६ : ५९
मङ्गलबार, २२ भदौ २०७८

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश २ मा राहत मिलेको छ । प्रदेश २ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा विभाजन भएको हो । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने मंगलबार अन्तिम दिन हो ।

लोसपाका नेताहरु प्रदेश २ प्रदेशसभामा १६ सांसद आफ्नो पक्षमा रहनु उत्साहजनक रहेको बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अधिकांश नेता–कार्यकर्ताको बाहुल्यता रहेको लोसपाले राजपाबाट निर्वाचित कतिपय जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउन भने सकेन । तत्कालीन राजपाबाट प्रदेशसभामा २५ सांसद निर्वाचित थिए ।

‘केन्द्रमा ठूला नेताहरु जसपामा गए, त्यस आधारमा प्रदेश तथा स्थानीय तहमा हाम्रो हालत खराब हुने हो कि भन्ने अवस्था देखिन्थ्यो,’ लोसपाका एक नेताले भने, ‘तर सन्तोषजनक परिणाम नै देखियो ।’

जसपामा दुई धारबीच शक्ति संघर्ष हुँदा प्रदेश २ का ५५ जना सांसदमध्ये १२ जनामात्र महन्थ ठाकुरको पक्षमा थिए । तर लोसपाका पक्षमा सनाखत हुँदा १६ जना पुग्नुलाई लोसपाका नेताहरु ‘उत्साहजनक’ बताउँछन् ।

लोसपाले उपेन्द्र यादवको पक्षमा गइसकेका दुईजना सांसदलाई आफूतिर तान्न सफल भएको छ । जसपामा जाने निश्चित गरिसकेकी प्रदेशसभा सदस्य रानी शर्मा र तत्कालीन संघीय समाजवादी पार्टीबाट निर्वाचित प्रल्हाद गिरीलाई लोसपाले अन्तिम समयमा आएर आफ्नो पक्षमा ल्याउन सफलता पाएको छ ।

लोसपाका प्रदेश सांसद जितेन्द्र सोनल भन्छन्, ‘केन्द्रमा पूर्व राजपाका केही ठूला नेताहरु जसपामै बसे पनि प्रदेश र स्थानीय तहमा त्यसको असर देखिएको छैन ।’ स्थानीय तहका जनप्रतिनिधि तथा आम कार्यकर्ताको आकर्षण लोसपामै रहेको उनले दाबी गरे ।

लोसपालाई सबैभन्दा ठूलो नोक्सान सप्तरी र सिरहामा भएको छ । सप्तरीमा पूर्व राजपाका चारजना प्रदेश सांसद, एक प्रतिनिधिसभा सदस्य र पाँचजना पालिका अध्यक्ष थिए । तीमध्ये लोसपामा एक प्रतिनिधिसभा सदस्य र एकजना पालिका अध्यक्षमात्र सामेल भएका छन् । बाँकी सबै जनप्रतिनिधिले जसपालाई रोजेका छन् ।

धनुषामा लोसपाले संघीय सांसद र प्रदेश सांसद पाउन सकेन । पूर्व राजपाले स्थानीय तहमा उपमहानगरपालिकासहित दुईटा पालिकाको मेयर जितेको थियो । त्यसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह जसपामै रहे ।

महोत्तरीमा लोसपाको सन्तोषजनक अवस्था छ । महोत्तरीमा जसपाका ११ जना प्रदेश सांसदमध्ये पूर्व राजपाका आठजना थिए । त्यसमध्ये पूर्व राजपाबाट प्रदेशसभामा समानुपातिक सांसद बनेकी डा.रिना यादवबाहेक अरु लोसपामा सामेल भएका छन् । त्यस्तै तीनजना संघीय सांसदमध्ये महन्थ ठाकुर र शरतसिंह भण्डारी गरी दुईजना लोसपामा छन् ।

त्यस्तै स्थानीय तहमा ७ जना पालिका अध्यक्षमध्ये ६ जनाले लोसपामा सनाखत गरेका छन् । १० जना उपमेयरमध्ये सबैजना लोसपामा सनाखत गरेका लोसपाका प्रदेश सांसद अभिराम शर्माले बताए ।

तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी महोत्तरीको सोनमा गाउँपालिकाका उपाध्यक्षले लोसपाका पक्षमा सनाखत गरेको बताइन्छ ।

सर्लाहीमा जसपाबाट संघीय सांसद ३, प्रदेश सांसद ८ र पालिका अध्यक्ष ७ छन् । त्यसमध्ये संघीय सांसदमध्ये दुईजना महेन्द्र राय यादव र प्रमोद साह जसपामा नै रहे भने चन्दा चौधरीले लोसपा रोजेकी छन् । त्यस्तै, आठजना प्रदेश सांसदमध्ये तीनजनाले लोसपामा सनाखत गरेका छन् । सातजना पालिका अध्यक्षमध्ये पाँचजनाले लोसपामा सनाखत गरेको प्रदेश सांसद उपेन्द्र महतोले बताए ।

रौतहतमा जम्मा पाँचजना प्रदेश सांसद र एकजना संघीय सांसदमध्ये डा.डिम्पल झा र बाबुलाल साहले लोसपामा सनाखत गरेका छन् । उनीहरु पूर्व राजपाका प्रदेश सांसद हुन् । रौतहटमा जसपाका एकजना मात्र संघीय सांसद (अनिलकुमार झा) छन् । उनी लोसपामै छन् । स्थानीय तहमा जसपाका चारजना पालिका प्रमुख छन्, जमध्ये एकजनाले लोसपामा सनाखत गरेका छन् भने तीनजना जसपामा बसे ।

बारामा लोसपालाई घाटा लागेको छैन । त्यहाँ ६ जना प्रदेश सांसदमध्ये पूर्व राजपाका दुईजना थिए । ती दुईजना लोसपामै रहेको दाबी गरिएको छ । जितेन्द्र सोनलले लोसपाका पक्षमा सनाखत नै गरेका छन् भने सभामुख सरोज यादवले सनाखत गर्न नमिले पनि उनी लोसपामै रहेको दाबी गरिएको छ ।

बारा जिल्लाबाट जसपाका तीनजना संघीय सांसद थिए । त्यमध्ये एकजना अकवाल मियाँ पूर्व राजपाबाट चुनाव जितेका हुन् । उनी लोसपामा छन् । रामबाबु यादव र रामसहाय यादव भने जसपामै बसे । बारामा जसपाका सात जना पालिका प्रमुख र १० जना उपप्रमुख छन् । सातजना प्रमुखमध्ये तीन जनाले लोसपाका पक्षमा सनाखत गरेका छन् । त्यस्तै, १० जनाउपप्रमुख मध्ये पाँच जनाले लोसपामा सनाखत गरेका छन् ।

लोसपाले पर्सामा प्रगति गरेको छ । तत्कालीन संघीय समाजवादी फोरमबाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका विमल श्रीवास्तव लोसपामा गएका छन् । पर्साबाट जसपाका जम्मा ४ संघीय सांसदमध्ये तत्कालीन फोरमबाट तीन जना र तत्कालीन राजपाबाट एक जना विजयी भएका थिए ।

पर्सामा जसपाका १० प्रदेश सांसद छन् । त्यसमध्ये पूर्व राजपाबाट रमेश कुर्मी र अन्जु यादव गरी दुई जनामध्ये अन्जु यादव जसपामै बसिन् भने तत्कालीन फोरमबाट जितेका प्रल्हाद गिरी लोसपामा सामेल भएका छन् । १० प्रदेशसभा सदस्यमध्ये आठ जना जसपामा रहे भने दुई जना लोसपामा गए ।

पर्साबाट पूर्व राजपाले.स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा जितेको थिएन । तर पूर्व संघीय समाजवादीबाट उपमेयरमा जितेकी कुसुमदेवी कुर्मीले लोसपामा सनाखत गरेकी छन् । उनी सहिद शत्रुधन पटेलकी आमा हुन् । असोज ३ गते संविधान जारी भइरहँदा शत्रुधनले वीरगञ्जमा सहादत प्राप्त गरेका थिए ।

प्रदेश र स्थानीय तहबाट जुन अनुपातमा जनप्रतिनिधिले लोसपाका पक्षमा सनाखत गरेका छन्, त्यसले लोसपाका नेताहरुले राहत महसुस गरेका छन् । सनाखतको समय सुरु भएपछि जसपा र लोसपाका नेताहरु प्रदेश २ मा केन्द्रित भएका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव, रेणु यादव, मृगेन्द्रकुमार सिंहलगायतका शीर्ष नेताहरु प्रदेश २ मा डेरा जमाएर बसेका छन् ।

त्यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा, केशव झालगायतका नेताहरु पनि प्रदेश २ मै डेरा जमाएर बसेका छन् ।

दुवै दलका नेताहरुले प्रदेश सांसद तथा स्थानीय प्रतिनिधि तानातान गरेका थिए । जसपाका नेताहरुले आफ््ना पार्टीका सांसद तथा स्थानीय प्रतिनिधि जोगाउन पहल गरेका थिए भने लोसपाका नेताहरु ती सांसद तथा जनप्रतिनिधिलाई आफ्नो पक्षमा तान्ने दाउमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप