बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इनिसिएटर अर्थात् पहलकर्ता

मङ्गलबार, २२ भदौ २०७८, १५ : २०
मङ्गलबार, २२ भदौ २०७८

झण्डै २ लाख वर्षअगाडि अफ्रिकाबाट मानव जातिको विकास शृङ्खला सुरु हुन्छ । यो दुई लाख वर्षमा मानिस अफ्रिका हुँदै विश्वका प्रायः ठाउँमा मात्र पुगेन समुन्द्रमुनि हाई–वे निर्माण गर्नेदेखि मङ्गल ग्रहमा रकेट अवतरण गर्न सफल भइसकेको छ । २१ औँ शताब्दीमा विज्ञान र प्रविधिको विकासले दुनियाँ अब आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) को व्यापक प्रयोगउन्मुख छ । विश्व मानव जाति यो अवस्थामा आइपुग्दा नेपालको भने किन विकास हुन सकेन ? अर्थात् हामीले चाहेको समृद्धि किन प्राप्त गर्न सकेनौँ ? यो गम्भीर प्रश्नको जबाफ खोज्न निकै ढिलो भइसकेको छ । यो प्रश्नको जवाफ किस्ता किस्तामा होइन, तत्काल र एकमुस्टमा खोज्न अपरिहार्य छ ।

वस्तुतः कुनै पनि परिणामका लागि कारण जरुरी हुन्छ । कारणबिनाको परिणाम अन्धविश्वासीसँग त पक्कै छ । किनभने उसलाई पहिले नै थाहा छ, यो सबै दैवीशक्तिले गर्दा भएको हो तर विज्ञानतः कारणबिनाको परिणाम सम्भव नै छैन । त्यसकारण नेपाल गरिब हुनुको पनि कारण छ भन्ने साझा बुझइमा पुग्नु नै हाम्रो सम्पन्नताको प्रस्थान बिन्दु हो । मानव जातिको विकास क्रमको सिलसिला हे¥यो भने हरेक परिवर्तनमा त्यहाँ कोही न कोही इनिसिएटर अर्थात् पहलकर्ता प्रकट हुन्छ । तत्कालका लागि उसलाई नयाँ भाष्य स्थापित गर्न कठिन मात्र होइन जोखिमपूर्ण पनि हुन्न सक्छ । तर, अन्ततः उसको विचार–दृष्टिकोण स्थापित हुन्छ र आम मानिसले हिजोभन्दा आज सुखद र सहज जीवन प्राप्त गर्छ । यो दृष्टान्त मानिसको विकास क्रममा मात्र होइन समाजको अग्रगति र समृद्धिको सवालमा पनि ठ्याक्कै लागू हुन्छ । यसलाई अनुभूति गर्न विकसित देशलाई उदाहरणका रूपमा आफै हेर्न सक्छौँ । समाज होस् वा राजनीति, खोज–अनुसन्धान होस् वा आविष्कार त्यहाँ इनिसिएटर अर्थात् पहलकर्ता थियो, छ र हुनेछ । तत्कालीन मूल्य वा अवस्थाका विरुद्ध कसै न कसैले प्रश्न गर्दैनथ्यो भने मानव जाति आश्चर्यजनक विज्ञान प्रविधिको युगमा आइपुग्ने नै थिएन !

समाजको अग्रगति र मुलुकको समृद्धिका लागि हरेक क्षेत्रले इनिसिएटर माग गर्दछ । तर यी सबैको निर्धारण राजनीतिले गर्छ । गतिलो पोलिटिकल इनिसिएटर देशले पायो भने त्यसको प्रभाव स्वरूप सबै क्षेत्रमा इनिसिएटर जन्मने सिलसिला सुरु हुन्छ । यसको उदाहरण, रुवाण्डा पनि हो । रुवाण्डामा सन् २००० मा जब पाउल कागामे सतामा उदाए, पहिली उनले रुवाण्डाको जातीय द्वन्द्व, विद्यमान प्रणाली, कर्मचारीतन्त्र, राजनीति, अर्थतन्त्रलागायत सबै क्षेत्रको डाइग्नोसिस् गरे । समस्यालाई केन्द्रमा राखेर ट्रिटमेन्ट प्लान अर्थात् दीर्घकालीन कार्यक्रम–योजना र रणनीति तय गरे । पहिचान भएका समस्या, त्यसको वैज्ञानिक समाधान र मुलुक समृद्धिको स्पष्ट मार्गचित्रसहित कागामे प्रशासन दृढतापूर्वक अग्रसर भयो । फलतः चरम जातीय द्वन्द्व र गरिबीको अवस्थामा रहेको रुवाण्डा कागामेजस्ता इनिसिएटरको हातमा पुग्दा २० वर्षको छोटो अवधिमा नै एक उदाहरणीय देश बन्न सक्यो ।

रुवान्डासम्म पनि पुग्नुपर्दैन, नेपालकै कुलमान घिसिङलाई हेर्न सक्छौँ । जब विद्युत् प्रधिकरणमा कुलमानले नेतृत्व समाले, उनले अठार घण्टासम्मको लोडसेडिङको जादुमय ढङ्गले अन्त्य गरी नेपाललाई उज्यालो बनाए । यहाँ कुरो पात्रको पटकै होइन, कुरो त इनिसिएटर अर्थात् पहलकर्ताको हो । हातमा अधिकार भएकाहरू इनिसिएटर बन्न सक्दा मुलुकको हित हुन्छ र नसक्दा अहित । अधिकार भएकाहरूमा केही गर्ने हुटहुटी हुन जरुरी हुन्छ । त्यही हुटहुटीले नेतृत्वलाई इनिसिएटर बनाउँछ र त्यसता नेतृत्वबाट देशले केही न केही योगदान पाउने हो । तर नेपाली राज्य शक्तामा कागामे त धेरै परको कुरा कुलमान जति व्यवस्थापकीय क्षमता भएका मानिस पनि भएनन् । नेपालको राजनीति र राज्यसत्ता केवल गुजाराको मानसिकताबाट प्रेरित भयो । यो कुनै भावोत्तेजनाको कुरा होइन, परिणामबाट पुष्टि भइरहेको कुरा हो ।

खैर, रुवाण्डा मात्र होइन, विश्वका विकसित हरेक देशका आआफ्ना कथा छन् र कथाको सुरुवात हुन्छ, त्यस देशका तत्कालीन राजनीतिक इनिसिएटरको आगमनसँगै ! अतः अबको नेपाली राजनीतिले सामाजिक न्याय र समृद्धिको इनिसिएटर जन्माउनुपर्छ । एकथान पार्टी हुनु र त्यो पार्टीमा केही लाख मान्छे आबद्ध हुनु मुख्य कुरा होइन, मुख्य कुरा त त्यो पार्टी र त्यसका नेता कार्यकताले नागरिकको आकाङ्क्षा र देशको आवश्यकतालाई वैज्ञानिक ढङ्गले नेतृत्व गर्न सक्छ कि सक्दैन भन्ने हो ।

नेपालमा राजनीतिक व्यवस्था परिवर्तनका लागि पुष्पलाल, बीपीदेखि प्रचण्डसम्म राजनीतिक इनिसिएटर बनेर उदाए । बीपी र पुष्पलालहरूले अगुवाइ गर्ने आँट गर्दा मुलुकमा प्रजातन्त्र आयो । प्रचण्ड–बाबुरामहरूले साहस गर्दा देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक, समावेशी व्यवस्था प्राप्त भयो । उपेन्द्र यादवलगायतले विद्रोहको विगुल फुक्दा सङ्घीयता स्थापित हुनपुग्यो । राजनीतिक आन्दोलन र सङ्घर्षको निश्चित उद्देश्य हुन्छ । तर नेपालको सन्दर्भमा समृद्धिको प्रश्न त्योभन्दा थप जटिल हो । किनकि नेपालमा समृद्धि हासिल गर्न सामाजिक न्यायको प्रश्नलाई वैज्ञनिक ढङ्गले हल गर्नैपर्ने हुन्छ । अतः नेपालमा समृद्धिको इनिसिएटर त्यो मात्र बन्न सक्छ, जसले नेपाली समाज निर्माण र विकासको इतिहास वस्तुनिष्ठ ढङ्गले बुझेको छ । उच्च व्यावस्थापकीय क्षमता भएको, सुशासन र अग्रगमनको पक्षमा डटेर लड्न सक्ने, साइन्स एन्ड टेक्नोलोजी बुझेको, सपना देख्ने र त्यसलाई अविचलित पछ्याउँदै दुनियाँको गतिलाई अनुभूति गर्न सक्ने आदि गुण उसमा हुनैपर्छ ।

यो बयान गर्दैगर्दा स्वभावैले प्रश्न उठ्छ, राजनीतिक परिवर्तनका लागि ठूल्ठूला आन्दोलन र सङ्घर्षको बलमा राज्यशक्ता परिवर्तनको सफल नेतृत्व गरेका नेतृत्वहरू कहाँ चुके त ? यो गम्भीर प्रश्नको जवाफ नाङ्गो आँखाले देखिँदैन । नागो आँखाले त नेताले समृद्धिको भाषण गरेको, पार्टी चलेको, सभा बैठक र छलफल भइरहेको आदि कुरा मात्र देख्छ । तर नेताको उद्देश्य के हो ? पार्टीहरू कसरी चलेका छन् र तिनको प्राथमिकता के हो ? नेपाली राजनीतिमा हुर्किएको संस्कार र संस्कृति के हो इत्यादि विषय देखिँदैन । त्यसकारण, मूलभूत रूपमा नेपालका राजनीतिक दल र त्यसका नेता कार्यकर्ताको राजनीतिक संस्कारमाथि चर्चा गर्नुपर्ने हुन्छ ।

नेपाली समाज निर्माणको सैद्धान्तिक स्रोत धार्मिक भाष्य हो । धार्मिक भाष्यले अग्रजको सेवा गर्न सिकाउँछ । ठूलो मान्छेको पाउ पर्नुलाई पुण्य कर्म मान्दछ । यसले पहिले जन्मिएकालाई ठूलो मान्छे हो भनेर सिकाउँछ । यो स्थापित मात्र होइन अकाट्य सामाजिक मूल्य हो । यो धार्मिक मूल्यले नेपालका राजनीतिक दल र नेताको मनोविज्ञानमा पनि काफी स्थान लिएको छ । आर्थत् नेपाली राजनीतिमा ठूल्दायी मनोविज्ञान हाबी छ । पार्टीमा जिम्मेवारी र लाभका लागि त्यो व्यक्ति योग्य ठहर्छ, जसको छिप्पिएको इतिहास वा गुटको दर्बिलो साथ छ ! यसको दुष्प्रभाव यतिमा मात्र सीमित नभएर यसले पार्टीमा अघोषित सिन्डिकेट पैदा गर्न पुग्छ । यो संस्कारको मुख्य विशेषता भनेकै क्षमतालाई खारेज गर्नु हो, जुन शतप्रतिशत विज्ञान विरोधी छ । इतिहासका आधारमा भूमिका वा लाभका लागि योग्य हुने कुरा नेपाललगायत विकासोन्मुख (गरिब) देशहरूको स्थापित राजनीतिक मान्यता हो । यो मान्यताको पराजयबिना समृद्धिको अगुवाइ गर्ने स्तरको पार्टी र नेता बन्नै सक्दैन । राजनीति राष्ट्रिय स्वार्थ र आफ्नो वैचारिक मूल्यबाट च्यूत भएपछिको अवस्था हो यो । यस्तो राजनीतिले परिणामसँग कुनै सरोकार राख्दैन, राख्छ त केवल निजी लाभसँग । अतः तथ्यले के पुष्टि गर्छ भने  नेपालको विकास नहुनुमा अवैज्ञानिक राजनीतिक संस्कार र संस्कृति एउटा महत्त्वपूर्ण पाटो हो ।

सर्सर्ती विश्व राजनीतिलाई हे¥यो भने विकसित देशमा क्षमताले स्थान पाउँछ तर नेपालमा इतिहासले । नेपालको दुर्गती यसैमा अन्तर्निहित छ । जुन देशमा क्षमताले स्थान पाउँछ ती देश विकास भएका छन् भने जहाँ इतिहास प्रधानता हुन्छ, ती देशहरू नेपाल जस्तै भएका छन् । यसको गतिलो उदाहरण रुस हो । वर्तमान रुसका राष्ट्रपति भलादिमिर पुटिनक्षमताका आधारमा राज्य सत्ताको नेतृत्वमा ल्याइएका नेता हुन् । सन् १९९९ मा तत्कालीन राष्ट्रपति बोरिस यल्तसिनले आफ्नो उत्तराधिकारीका रूपमा पुटिनलाई सीधै अगाडि सारेका थिए । त्यहाँ कसैले पनि आफूलाई केन्द्रमा राखेर जोडघटाउ गरेनन् । किनभने रुसका लागि राष्ट्रिय स्वार्थ प्रधान हो । विश्व सम्राज्यवादी शक्तिसँगको सङ्घर्षमा कस्तो नेतृत्वले रुसको विजयलाई सुनिश्चित गर्न सक्छ, त्यो मुख्य थियो । अतः परिणाम केन्द्रित राजनीतिको उपज भलादिमीर पुटिनको उदय भयो ।

नेपाली राजनीति यति स्खलित भयो कि व्यक्तिगत फाइदाका लागि त राजनीति गर्न सकिन्छ र भइरहेको पनि छ तर समाज र देशका लागि पटक्कै नसकिने ठाउँमा पुग्यो । यसका मूलतः दुईवटा कारण छन्, पहिलो नेपाली राजनीति निजी मामलाको वरिपरि मात्र रुमल्लियो । दोस्रो, राज्यसत्ताको जिम्मेवारीमा पुग्नेहरूले विज्ञानलाई पक्रिनै चाहेनन् र सकेनन् । विज्ञानलाई नपक्रिँदा शत्तामा पुगेकाहरू केवल केही थान कर्मचारीको सरुवाबढुवा गर्न, दुई चार पैसा कमाउन, नमस्ते खान्, आफ्नालाई करारको जागिरमा भर्ती गर्न र झण्डा हलाएर हिँड्नमा सीमित भए । अतः प्रश्न पार्टी सत्तामा पुग्नु ठूलो कुरा होइन, ठूलो कुरा त पार्टी र त्यसका नेता कार्यकर्ताले विज्ञानलाई पक्रिन सक्ने कि नसक्ने, डेलिभरी दिन सक्ने कि नसक्ने भन्ने हो !

छिपिएको इतिहास वा आशीर्वादबाट राज्य सत्ता वा कुनै जिम्मेवारीमा पुग्नेले आफूलाई यति महान ठान्छ कि मानौँ पृथ्वीको आन्तिम ठूलो मान्छे नै उही हो, यसपछि कोही ठूलो मान्छे नै हुँदैनन् ! उसले समाजबाट प्राप्त गरेको भ्रमपूर्ण ज्ञान र रुढिवादी चेतनाका कारण ऊ मानसिक कब्जियतबाट ग्रसित हुन्छ । मानसिक कब्जियतको परिणाम उभ्रमपूर्ण रुढिवादी ज्ञानलाई त्यागेर विज्ञान प्रविधिलाई पक्रिन सक्दैन । कम्युनिस्ट नै किन नहोस् विज्ञान नबुझेको शासक भएपछि उसले कुनै न कुनै रूपको रुढिवादको सेवा गर्न पुग्छ । खोज अनुसन्धानका परियोजना उसको प्राथमिकतामा पर्दैन, पर्छ त केवल कुलदेवताको संरक्षण र मठमन्दिर बनाउने आयोजना । उसले विज्ञान प्रविधिको खोज अनुसन्धान र विकासका लागि ५ लाख पनि बजेट छुट्याउँदैन तर कुलदेवता र मठमन्दिर संरक्षण र निर्माणका नाममा करोडौँ रकम छुट्याउँछ । दुनियाँको प्रगति र नेपालको दुर्गति देखेर उसलाई किञ्चित दुःख लाग्दैन । म नेतृत्व हो अर्थात् मैले मुलुकको समृद्धि र मानव जातिको अग्रगतिका लागि पहल लिनुपर्छ, त्यो उसले सोच्दैन, सोच्छ त केवल आफ्नो सम्पन्नताको उपाय ।

एउटा राजनीति गर्ने मान्छे यसरी गलत ज्ञान, मनोविज्ञान र प्रवृत्तिमा फस्नु गम्भीर अवस्था हो । अझ, कम्युनिस्ट नेता नै यसरी रुढिवादमा भासिनु विडम्बनापूर्ण हो । यावत् कारणले नेपालका कम्युनिस्ट पार्टीको करिब करिब पहिचान नै गायब भइसकेको छ । म कम्युनिस्टको शुभेच्छुक हुँ । प्रायः मानिसले मलाई कम्युनिस्ट नै भनेर चिन्छन् । मलाई मार्क्सवाद मनपर्छ । किनकि मार्क्सवाद विज्ञान हो । त्यसकारण म धर्मसँग जोडिएका कुनै पनि कर्मबाट अलग बस्छु । तर मैले दशैँमा टीका लगाउँदिनँ भन्यो भने मान्छेले मलाई त क्रिस्चियन होस् भन्छन्, कम्युनिस्ट होस् भन्दैनन् ! कम्युनिस्ट पार्टी र उसको विचार समाप्त भएको यो प्रमाण हैन र ?

मलाई के कति फाइदा वा घाटा हुन्छ, हिसाब गरेर बस्नु त्यो अवैज्ञानिक हुन जान्छ । यो प्रवृत्तिले विज्ञानको सेवा गर्दैन । त्यसकारण राजनीतिक दल, नेता कार्यकर्ता र शासक मात्र होइन मुलुकको समृद्धि र अग्रगतिका लागि अब सबैले विज्ञानलाई पक्रिनै पर्छ । यसको अगुवाइ फेरि पनि राजनीतिले नै गर्नुपर्छ । अमूल सामाजिक, सांस्कृति र राजनीतिक परिवर्तनका लागि नेता केवाल एकथान नेतामा मात्र सीमित नभएर इनिसिएटर बन्न सक्नुपर्छ । राजनीतिक दल तिनका नेता–कार्यकर्ता, शासक–प्रशासक र आम नागरिकको भ्रमपूर्ण चेतनालाई रूपान्तरण नगरी मुलुकको समृद्धि हासिल गर्न सकिँदैन । त्यसकारण वैज्ञानिक चेतनासहित नेपाली समाजको रूपान्तरण गर्न सक्ने इनिसिएटर राजनीतिमा मात्र होइन हरेक क्षेत्रमा अपरिहार्य छ । यो पहलले मात्र हरेक क्षेत्रमा वैज्ञानिक कल्चर निर्माणको सुनिश्चितता गर्दछ । वैज्ञानिक कल्चरको विकासले मात्र नेपाली समाजको अग्रगति हासिल हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश विकल्प
प्रकाश विकल्प
लेखकबाट थप