स्थानीय तहका कर्मचारीलाई तालिम दिने प्रतिष्ठानमै तालाबन्दी
स्थानीय तहका कर्मचारीलाई प्रशिक्षण (तालिम) दिन खोलिएको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमै कर्मचारीहरूले तालाबन्दी गरेका छन् । उनीहरूले प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
प्रतिष्ठानका कर्मचारीहरू विभिन्न माग राख्दै गत साउनदेखि नै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले कालोपट्टी बाँधेर विरोध जनाउने, पोष्टर टाँस्ने र आफ्नो शाखा वा जिम्मामा रहेका सबै काम ठप्प पार्ने लगायत काम गरिसकेका छन् ।
गत आइतबार (भदौ २०) देखि प्रतिष्ठानमा आन्दोलित कर्मचारीले कार्यकारी निर्देशकले प्रयोग गर्ने बाहेकका सबै सवारीसाधन चलाउनसमेत दिएका छैनन् । आजदेखि कार्यकारी निर्देशकको कार्यकक्षमै ताला लगाइदिएका छन ।
भदौ मसान्तभित्र पनि आफ्ना माग पूरा नभए कार्यकारी निर्देशककै राजीनामा माग्ने उनीहरूले चेतावनी दिएका छन् ।
यस्ता छन् माग
कर्मचारीहरूले प्रतिष्ठानदेखि आफूलाई प्राप्त हुने लाभसम्म समेटेर आन्दोलन गरिरहेका हुन् ।
उनीहरूले प्रतिष्ठानको कार्यक्षेत्र तथा भूमिकाको खाका तयार गरी विषयगत मन्त्रालयसँग चाँडै छलफल गरी ऐन÷नियम बमोजिम काम सुनिश्चित गर्न माग राखेका छन् ।
नयाँ ऐन र विनियमावलीको साटो हालकै विनियमावली संशोधन गर्नुपर्ने, प्रतिष्ठानलाई सांसददेखि स्थानीय तहमा निर्वाचित पदाधिकारीको क्षमता विकास गर्ने केन्द्र बनाउनुपर्ने, महाशाखा प्रमुखहरुले पदीय जिम्मेवारी वहन गर्न नसकेकाले कार्यकारी निर्देशकले नै जिम्मा लिनुपर्ने र संगठन संरचना स्पष्ट गर्नुपर्ने माग कर्मचारीहरूको छ ।
साथै, लामो समयदेखि कार्यरत अस्थायी तथा करारका कर्मचारीहरूको पेशागत सुरक्षा गर्न, स्थानीय तहलाई हस्तान्तरण गरिएका प्रशिक्षण केन्द्रका कर्मचारीहरू व्यवस्थापन गर्न, संघीय सरकारका राजपत्रअनंकित कर्मचारीहरूको तालिम केन्द्रबाटै गराउने माग पनि प्रतिष्ठानमा आन्दोलित कर्मचारीहरूले राखेका छन् ।
आफूहरूले गत भदौ ९ गते पेश गरेको २२ सुत्रीय माग चाँडै पूरा गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
स्थानीय तहको प्रशासकीय एवम् व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्ने उद्देश्यले २०४९ सालमा प्रतिष्ठान स्थापना गरिएको थियो ।