शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संखुवासभा सामूहिक हत्या : ६ जनाकै टाउकोमा चोट

मङ्गलबार, २२ भदौ २०७८, १४ : १८
मङ्गलबार, २२ भदौ २०७८

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो ।

सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ । संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहालले रातोपाटीसँग भने–‘सवैको टाउकोमा चोट देखिएको छ ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्काएर सामुहिक हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सोमबार राती पुगेका अनुसन्धान अधिकारीहरुले घटनास्थलमा ‘डग स्निफिङ’ गराएका छन् । घटनास्थल अनुसन्धान गर्न जमर्न सेफर्ड जातका लैला र पिपु नामका कुकुर परिचालन गरिएको थियो ।

‘ट्रयाकर डग’ले गरेको संकेत र सम्भावित सवै कोणबाट अनुसन्धान भइरहेको एसपी दाहालले बताए ।

मादी नगरपालिका–१ घर भएका तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

तेज बहादुरकी आमा ८४ वर्षीया पार्वती, पत्नी कमला र बुहारी रञ्जनाले सुनका गहना लगाएका थिए । उनीहरुले लगाएको सवै गहना शवसँगै फेला परेको एसपी दाहालले बताए ।

शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याउने तयारी भइरहेको छ । शव घरबाहिर चार ठाउँमा फेला परेको छ । ८ वर्षीय बालकको शव घरभन्दा पर बारीमा फेला परेको छ । रञ्जन कार्कीको शव खोलामा र ५२ वर्षीय तेज बहादुरको शव सडकमा फेला परेको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।

परिवारका एकजना सदस्य जिवित फेला परेका छन् । बौद्धमान कार्की सकुशल फेला परेका हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप