शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध

मङ्गलबार, २२ भदौ २०७८, १४ : १७
मङ्गलबार, २२ भदौ २०७८

मध्यपहाडी पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध छ । गत बिहीबार रातिको अविरल वर्षाका कारण धौलागिरिको मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प छ ।  यसबाट चौतर्फी सकस र सास्ती सुरु भएको छ ।  चाडपर्वका मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि धौलागिरिका चार बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङमा दैनिक अत्यावश्यकीय उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न तथा तरकारीको अभाव भएको छ । अभाव बढेसँगै अत्यावश्यक वस्तुको भाउ मनपरी लिन थालिएको उपभोक्ताको गुनासो छ । 

तराई लगायतबा ठाउँबाट आयात रोकिँदा एक केजी हरियो बोडीलाई रु १०० बढीमा खरिद गरेको उपभोक्ता हरि रानाले गुनासो गरे । “आयात छैन भनेपछि स्थानीय किसानले समेत यही हो बेला भनेका छन्” तरकारी किन्न बजार निस्कनु भएको उनले भने, “स्थानीय सरकार र प्रशासनले नत अनुगमन गरेका छन्, न यसमा ध्यान दिएका छन् । मर्कामा हामी उपभोक्ता परेका छौं, सानो बाहनामा मूल्य बढाउने व्यापारीलाई कारवाही गर्नुपर्दछ ।”

मध्यपहाडी पुष्पलाल राजमार्ग आयोजना कार्यालय पर्वतको योजना अनुसार काम सम्पन्न भएमा आज बेलुकीदेखि एकतर्फी यातायात खुलाइने छ ।  ठूलो पहिरो र सडक बनाएको कारण यसै भन्न सकिने अवस्था भने छैन । चामल, दाल चिनीलगायतका बस्तु स्टोर गरी राखिएको भए पनि सिमेन्ट, निर्माण सामग्री तथा पेट्रोलियम पदार्थको भण्डारण खाली भइसकेको बागलुङका व्यवसायीले बताएका छन् । 

पसलमा सिमेन्ट आयात बन्द हुँदा घर निर्माणका लागि माग गरिएको सिमेन्टलगायतका निर्माण सामग्री पठाउन नसकिएको व्यवसायी दयाराम पौडेलले जानकारी दिए । कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउन थालिएको उपभोक्ताको गुनासो छ ।  

तीज नजिकिएको सन्दर्भमा उपभोग्य वस्तुको माग बढिरहेको भए पनि आयात नहुँदा माग धान्न समस्या भइरहेको छ भने अर्कोतर्फ कार्कीनेटा हुँदै घुमाउरो कच्ची सडकबाट ल्याइएको फलफूल तथा तरकारीको दोब्बर मूल्य पर्न थालेको छ । कतिपय होलसेल तरकारी पसलमा तरकारीको अभाव देखिएकाले बन्द गर्ने अवस्थामा पुगेको व्यवसायी बताउँछन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले सडक बन्दले आयात ठप्प हुँदा व्यापारीले मनपरीे मूल्य बढाउन नपाइने र बजारमा छड्के अनुगमन गरिने जानकारी दिए ।

मूल्यवृद्धिको कहिकतैबाट गुनासो नआए पनि सम्भावित मनपरी रोक्न बजार अनुगमन गर्ने योजना बनाएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । भण्डारणमा सामान छैन भनेर कालोबजारी गरेको पाइएमा कारवाही गरिने उनले बताए । 

“बाटो बन्द भन्नासाथ भण्डारणमा भएको सामान लुकाएर महँगो मूल्यमा बेचेको पाइएमा तत्काल कारवाही हुन्छ,” उनले भने । जिल्लाबाट निर्यात हुने स्थानीय उत्पादन समेत  बजारमै थन्किएको छ । बजारमा पेट्रोलियम पदार्थको प्रतिलिटर २०० सम्म कारोवार भइरहेको भए पनि पेट्रोल पम्प भने बन्द अवस्थामा छन् । पेट्रोल पम्प बन्द भए पनि किराना पसलमा पेट्रोल पाइएको नाम नबताउने सर्तमा एक उपभोक्ताले बताउनुभयो । महँगो मूल्यमा पेट्रोलियम पदार्थ कालोबजारीबाट खरिद गरी सवारी गुडाउन बाध्य भएको सवारी चालकले गुनासो गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप