शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीजपछि जग्गा किन्ने योजना थियो, राति नै ६ जनाको हत्या भयो

स्थानीयको अनुमान : पेशेवरको हात छ, प्रहरीको अनुमान : चिनजानकै व्यक्ति हुन सक्छ
मङ्गलबार, २२ भदौ २०७८, २३ : ००
मङ्गलबार, २२ भदौ २०७८

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका कागजको मात्रै नगरपालिका हो, वास्तविकतामा चाहिँ यो एउटा विकट गाउँ हो । जिल्ला सदरमुकाम खाँदबारी र चैनपुर बजार हुँदै मादी नगरपालिकासम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । बरु, तेह्रथुमको वसन्तपुर हुँदै मोटरसाइकलमा जाँदा मादी नगरपालिका १, उम्लिङसम्म त्यो भन्दा अलि सहज रूपमा पुग्न सकिन्छ ।

मादीमा बास बस्नका लागि होटलहरुको प्रबन्ध छैन, स्थानीयवासीको घरमा बास मागेर रात कटाउनुपर्ने हुन्छ । यो स्थितिमा बाहिरको मानिसका लागि सङ्खुवासभाको मादीसम्मको यात्रा निकै नै कठिन छ । अहिले वर्षायाममा वसन्तपुरबाट यात्रा गर्दा हिलोको सामना गर्नुपर्ने भएकाले नयाँ मानिसका लागि मोटरसाइकलको यात्रा कठिन छ । स्थानीय युवाबाहेक अरूलाई यो बाटोमा मोटरसाइकल चलाउन मुस्किल छ ।

यसरी बाहिरी दुनियाँबाट टाढा रहेको मादी नगरपालिकाको उम्लिङमा आइतबार राति एकै परिवारका ६ जनाको विभत्स हत्या भयो । हत्या कसले र कुन उद्देश्यले गराएको भन्नेबारे मंगलबार बिहानसम्म रहस्य खुलिसकेको छैन । बाहिरी जिल्लाका अपराधीहरुले त्यहाँ पुगेर हत्या गरेका हुन् वा जिल्लाभित्रैका अपराधी संलग्न थिए भन्ने पनि खुलिसकेको छैन ।

एकै परिवारका  ६ जनाको हत्या गरिएको  यो कहालीलाग्दो घटना कुन उद्देश्यले, कोबाट भएको हुन सक्छ त ? यसबारेमा प्रारम्भिक जाँचबुझमा खटिएका प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको कुराकानीका क्रममा उब्जेका केही निरुत्तरित प्रश्नहरू यहाँ प्रस्तुत गरिएको छ ।  प्रहरीले अनुसन्धान गर्दै जाँदा सम्भवतः चाँडै नै यी प्रश्नको जवाफ खुल्दै जानेछ ।

 


घटनाको वस्तुस्थितिबाट चर्चा सुरु गरौँ ।

भूगोल : धरानबाट सङ्खुवासभाको मादी जाने हो भने धनकुटा, तेह्रथुमको वसन्तपुर हुँदै टुटे देउराली र चौकी भएर उम्लिङ झर्न सकिन्छ । उम्लिङको अलि तल खोलाको नजिकै  कार्की परिवारको घर छ । यो स्थान मादी नगरपालिकाको वडा नम्बर १ मा पर्छ । 

वसन्तपुरबाट मात्रै उम्लिङसम्म पुग्न मोटरसाइकलमा साढे ३ घण्टाजति लाग्छ । बाटो हिलो भएकाले मोटरसाइकल कुदाउन प्रायः स्थानीयले सक्छन्, अरूलाई गाह्रो छ । खाँदबारी, चैनपुरतिरबाट पनि त्यति नै समयमा मादी पुग्न त सकिन्छ, तर वसन्तपुरतिरबाट भन्दा गाह्रो छ ।

हत्याको प्रकृति : कार्कीको परिवारमा तीन पुस्ताका मानिसहरू एकै ठाउँ बस्दै आएका थिए । उमेरले ८५ कटेका बौद्धमान कार्की सधैँझैँ आइतबार पनि साँझ ६ बजे नै खाना खाएर सुते । बिहान ब्युँझँदा ८४ वर्षकी श्रीमती घरभित्रै पल्टिइरहेकी थिइन्, बौद्धमानले ठाने, उनी सुतिरहेकी होलिन्, तर राति नै धारिलो हतियार प्रहार गरेर ८४ वर्षीया पार्वताको हत्या भइसकेको वयोवृद्ध बौद्धमानले पत्तै पाएनन् ।

 घरभित्र बौद्धमानका छोराबुहारी, नातिनी बुहारी, पनाति र पनातिनी पाँचैजना थिएनन् । एकैछिनपछि बाटोमा, बारीमा र खोल्सामा शवहरू असरल्लै देखेर छिमेकीहरु हस्याङ– फस्याङ गर्दै घरमा आएपछि पो बौद्धमानले थाहा पाए, अपराधीहरू आफ्नो छोरादेखि पनातिसम्मको पुस्तालाई राति नै हत्या गरेर फरार भइसकेका रहेछन् ।

आइतबार राति सामूहिक हत्या भएकाहरूमा बौद्धमानकी श्रीमती पार्वता कार्की (८४ वर्ष), छोरा तेजबहादुर कार्की (५२), बुहारी कमला कार्की (५२), नातिनी बुहारी रञ्जना कार्की(३२), पनाति विपिन कार्की( ८) र पनातिनी गोमा कार्की (५) छन् । घरका मूली हजुरबुवा बौद्धमान मात्रै जीवित छन् ।

वृद्धा पार्वताको शव घरभित्रै थियो भने तेजबहादुरको शव घर नजिकैको बाटोमा भेटिएको थियो ।

कमला र रञ्जना (सासू–बुहारी) को शव केही पर खोल्सामा भेटिएको थियो ।

दुई बालबालिकाको शव भने घरमाथिको खरबारीमा फेला परेको थियो ।

घरछेउको मकैबारी माडिएको र चुराहरू फुटेको देखिएकाले उनीहरुलाई लखेटेर, नियन्त्रणमा लिएर शरीरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक विश्लेषण छ । प्रहरीका अनुसार नातिनातिनाको शव घरदेखि माथिको खरबारीमा फेला परेको थियो । तेजबहादुरको शव सडकमा भेटिएको थियो । रञ्जना र कमलाको शव घर नजिकैको खोल्सोमा थियो । साथै मृतकहरूको चप्पल यत्रतत्र छरिनुले पनि लखेटेरै हत्या भएको प्रहरीको विश्लेषण छ ।

स्थानीय एक जनप्रतिनिधिले रातोपाटीसँग भने, ‘सबैजनाको शव उस्तै किसिमले घोप्टो पारिएको अवस्थामा भेटिएको छ, त्यसैले यो घटना पेसेवर अपराधीहरूबाट भएको हुनुपर्छ ।’ 

सासू–बुहारीको शव खोलामा एकैठाउँ लगभग खप्टिएको अवस्थामा थियो भने बालवालिको शव खरबारीमा केही मिटरको दुरीमा थियो । घरमा सुतेको बेला बाहिर निकालेर हत्या गरिएको अनुमान गरिए पनि मृतकका खुट्टामा जुत्ता चप्पल देखिनुले घटनालाई थप रहस्यमय बनाएको छ । अपराधीले सबैलाई जुत्ता–चप्पल लगाउन लगाएर बाहिर निकालेको जस्तो देखिन्छ ।  

बौद्धमानका दुईजना नाति वैदेशिक रोजगारीमा गएका छन् । नातिनी बुहारी रञ्जना दुई छोराछोरीसहित सगोलमै बस्दै आएकी थिइन् भने अर्की नातिनी बुहारी तराईतिरै बस्दै आएकी छिन् । ती बुहारीतर्फ पनि सन्तानको जायजन्म भएको छ । विदेशमा पसिना बगाएर कमाएको पैसाले परिवारलाई तराईमा जग्गाजमीन किनेर बसाइँ सार्ने योजनामा थिए बौद्धमानका नातिहरू ।

स्थानीयका अनुसार परिवारका अन्य सदस्यसँग पनि मिलेर झापामा ८० लाख रुपैयाँमा जग्गा किन्ने तयारी थियो । त्यसका लागि बैना रकम पनि दिएको थियो ।

पैसा’ का लागि हत्या भएको अनुमान

कुनै पनि अपराधका पछाडि विभिन्न कारणहरू लुकेका हुन्छन् । कसैले चरम रिसईबीमा वंशकै विनाश गरिदिने उद्देश्यले हत्या गरेको हो कि ? मानसिक सन्तुलन गुमेको नजिकको कुनै व्यक्तिले आवेश वा बेहोसीमा यस्तो गराएको हो कि ? अथवा, कुनै प्रेमजन्य परिघटनाका कारण आवेश प्रेरित घटनाका रूपमा यस्तो घटना भएको हो कि ? वा आर्थिक लेनदेन वा धन सम्पत्ति लुट्ने उद्देश्यले डाकाहरुबाट यस्तो हत्या गरिएको हो ? यस्ता विविध प्रश्नहरू कुनै पनि हत्याको अनुसन्धानमा ठोकिने प्रश्नहरू हुन् ।

आखिर कार्की परिवारको हत्या के कारणले भयो होला त ? मादी नगरपालिकाका मेयर विदुर लिङथेप सुब्बा रातोपाटीसँग भन्छन्, ‘छिमेकमा कार्की परिवार एकदमै रमाइला र मिलनसार थिए, कसैसँग उनीहरूको रिसिइबी वा झगडा थिएन ।’

 मेयर सुब्बाले अगाडि भने, ‘झापातिर जग्गा किन्नलाई बैनाबट्टा गरिसकेको र तीज सकिनेवित्तिकै जग्गा पास गर्न झर्ने तयारी थियो भन्ने सुनिएको छ, त्यसका लागि घरमा केही पैसाको जोहो गरिएको अपराधीहरूले सुइँको पाएको हुन सक्छ ।’

 यद्यपि यो हत्याको कारण के हो भन्ने आजसम्म स्पष्ट नखुलिसकेको मेयर सुब्बाले बताए । उनले रातोपाटीसँग भने, ‘यो सबै हाम्रो अनुमान मात्रै हो, प्रहरीले अनुसन्धान गर्दै जाँदा रहस्य पत्ता लाग्ला ।’

अनुत्तरित ५ प्रश्न :

१. रातिको समयमा परिवारका सबै सदस्यलाई लखेटेर हत्या गरेको देखिएकाले यो सामूहिक हत्यामा अपराधीहरूको ठूलै समूह परिचालन भएको हुन सक्ने प्रहरीको विश्लेषण छ । तर, यस्तो जघन्य अपराधमा कतिजना अपराधीको संलग्नता थियो ? यो प्रश्न भने अनुत्तरित नै छ ।

२. अपराधको घटनामा बाहिरी जिल्लाका पेसेवर अपराधीहरूको संलग्नता छ कि जिल्लाभित्रै वा नगरपालिकाभित्रबाट यस्तो घटना गराउन सम्भव भयो ? स्थानीय जनप्रतिनिधिहरूको अनुमानमा यो हत्या पेसेवर अपराधीबाट भएको जस्तो देखिन्छ । यदि त्यस्तो हो भने बाहिरी जिल्लाबाट गाउँमा कसरी र कहिले अपराधीहरू छिरे ? वसन्तपुरको बाटोबाट छिरे कि चैनपुरतिरको बाटोबाट ? अनि उनीहरू कहाँ बास बसे, के साधन प्रयोग गरे ?

 ३. बाहिरी जिल्लाको अपराधीले मात्रै त्यस्तो विकट गाउँमा जग्गा किन्ने पैसा राखेको छ भनेर कसरी सूचना पायो ? कार्कीको घर रहेको भूगोल अनि त्यहाँ पैसा छ भन्ने कुरा परिवार बाहिरको व्यक्तिलाई कसरी थाहा भयो ? कसले सूचना दियो ? तराईमा जग्गा बैना गरेको सूचना ‘लिक’ भएर अपराधीसम्म कसरी पुग्यो ? जग्गा खरिद गर्नका लागि घरमा कति पैसा राखिएको थियो ? कुन बैङ्क वा मनी ट्रान्सफरबाट रकम निकालेर घरमा लगिएको थियो ? र, त्यसबारे को–को जानकार थिए ? 

४. यदि अपराधीहरूको उद्देश्य सम्पत्ति लुट्ने मात्रै थियो भने वृद्धादेखि बालबालिकासम्मको सामूहिक हत्या किन गरियो ? सम्पत्ति लुट्ने क्रममा पहिचान खुल्ने डरले अपराधीले हत्या गरेको मान्ने हो भने  पनि ५ र ८ वर्षका बालबालिका पक्कै पनि बौद्धमानजस्तै निदाएकै हुनुपर्छ, उनीहरूलाई किन खरबारीमा घोप्टो पारेर हत्या गरियो ? के अपराधीलाई बच्चाले पनि चिन्ने अवस्था थियो ?

 ५. यो हत्याको घटनामा अहिलेसम्म गरिएको प्रारम्भिक अनुमान भन्दा बेग्लै अरू कुनै रहस्य पो लुकेको छ कि ?

 यी विविध प्रश्नहरूको रौंचिरा विश्लेषण र अनुसन्धान पक्कै पनि प्रहरीले गर्ने नै छ ।

 घटनाको अनुसन्धानमा खटिएको प्रहरीको टोलीले धारिलो हतियार प्रयोग गरेर  एकै परिवारका ६ सदस्यको सामूहिक हत्या गरेको निष्कर्ष प्रारम्भिक अनुसन्धानबाट निकालेको छ । ‘घटनामा धारिलो हतियार प्रयोग भएको देखिन्छ र हत्यामा एक जनाभन्दा बढीको संलग्नता हुन सक्ने हाम्रो अनुमान छ,’ प्रहरी  उपरीक्षक भीम दाहालले रातोपाटीसँग भने, ‘थप विषय बिस्तारै खुल्दै जानेछ ।’

 प्रहरीको आशङ्का

प्रहरीका अनुसार खेती किसानी गर्ने तेजबहादुरको परिवार सामान्य आर्थिक अवस्थाको हो । दुई छोराले विदेशबाट पठाएको केही रकम घरमा थियो । घटनास्थल र घर सुरक्षित राखिएका कारण धरानबाट गएको प्रहरी उपरीक्षक  भीम दाहाल र फरेन्सिक टोलीले घरभित्र लुटपाट भएको छ कि छैन भनेरसमेत अनुसन्धान गर्ने जनाइएको छ । परिवारको अन्य व्यक्तिसँग रिसिइबी भएको चाहिँ हालसम्म खुलेको छैन ।

दुई बच्चासहित परिवारकै हत्या गरिएकाले घटनामा चिनजानकै व्यक्ति संलग्न हुन पनि सक्ने प्रहरीको आशङ्का छ । आफन्तको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई केही साँघुरो बनाउँदै गएको प्रहरीको भनाइ छ । अहिले प्रहरीले घटना भएको आसपासको समयमा घटनास्थल वरपर सक्रिय मोबाइल नम्बरहरूको पनि विश्लेषण थालेको छ ।

‘बीटीएस लोकेसनका आधारमा सक्रिय मोबाइलहरुलाई ट्रेस गरेर हेरिरहेका छौं,’  डीआईजी बीसीले रातोपाटीसँग भने, ‘हत्यामा भएका व्यक्तिले चलाउने मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर) पनि विश्लेषण भइरहेको छ, अनुसन्धानमा संलग्न अधिकृतहरूले शव विभिन्न ठाउँमा भेटिनु र चप्पलहरु यत्रतत्र छरिनुले लखेटेर हत्या गरेको हुन सक्ने आशङ्का गरेका छन् ।’

 घटनासँग जोडिएको धेरै विषयले सामूहिक हत्यामा चिनजानकै व्यक्तिको समेत हात रहेको हुन सक्ने अनुमानसहित अनुसन्धानको बाटो त्यसतर्फ पनि सोझिएको उनले बताए । तर, छरछिमेकले घटना भएका बेला कुनै गतिविधि नसुनेको वयान दिएको उनको भनाइ छ ।

घटनाको अनुसन्धानमा ‘लैला’ र ‘पिकु’ खटिए

एकै परिवारका ६ सदस्यको हत्या भएको घटना सम्बन्धमा प्रहरीले मंगलबार बिहानदेखि नै अनुसन्धान सुरु गरेको छ । आइतबार राति भएको सो घटना सोमबार बिहान प्रकाशमा आए पनि दुर्गम क्षेत्र रहेको र प्रहरी टोली साँझमात्र घटनास्थल पुगेका कारण मंगलबार बिहानैदेखि अनुसन्धान सुरु गरिएको हो ।

 विराटनगर र धरानबाट गएको प्रहरीको टोलीले घटनाको अनुसन्धान थालेको छ । सङ्घीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोली र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ नेतृत्वको विशेष अनुसन्धान टोली घटनास्थल पुगेर बिहानबाट अनुसन्धान थालेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक अरुण बीसीले रातोपाटीलाई बताए ।

दाहाल नेतृत्वको विशेष टीममा ‘ट्रयाकर डग’ (तालिम प्राप्त कुकुर) पिकु र लैलासमेत सहभागी छन् । साथै फरेन्सिक विज्ञको टोली पनि अनुसन्धानमा संलग्न छ । ‘तालिम प्राप्त कुकुर र विशेष अनुसन्धान अधिकृतसहितको टीम घटनाको सुक्ष्म अनुसन्धानका लागि परिचालन गरिएको छ,’ डीआईजी बिसीले भने । बिहानैदेखि पानी परिरहेकाले अनुसन्धानमा केही समस्या हुने देखिएको उनले बताए ।

कर्तव्य ज्यानजस्ता समवेदनशील घटनामा अपराधी पहिचान गर्न ‘ट्रयाकर’  विधाको कुकुर प्रयोग गरिन्छ । प्रहरीले संखुवासभाको घटनामा अपराधी पहिचान गर्न ‘ट्रयाकर डग’ प्रयोग गरेको हो ।

लैला र  पिकु  घटनास्थलको गन्ध सुँघेर अपराधी पत्ता लगाउने क्षमता भएका विशेष तालिमप्राप्त कुकुर हुन् । प्रहरीले यस्ता विभिन्न आपराधिक घटनामा  अपराधीसम्म पुग्न यी कुकुरको सहायता लिने गरेको छ र कयौं घटनामा प्रहरीले सफलता पनि प्राप्त गरेको छ ।

प्रहरीले मादीमा एकै परिवारका ६ सदस्यको हत्यासम्बन्धी घटनाको अनुसन्धानमा पनि ‘ट्रयाकर डग’ लैला र पिकुलाई परिचालन गरेको छ । यी कुकुरले घटनास्थलबाट अपराधी हिँडेको बाटो पहिल्याएर अपराधीसम्म पुग्न प्रहरीलाई मद्दत गर्नेछन् ।

डीआईजी बिसीका अनुसार सङ्घीय प्रहरीबाट ‘ट्रयाकर डग’सहित गएको टीम घटनाको अनुसन्धानमा खटिएको छ । त्यसैगरी बिराटनगरको  विशेष  प्राविधिकको टीमले घटनासँग जोडिएका मानिस, घटनाको कारण खोतल्ने कार्यमा सक्रिय हुनेछ । सङ्घीय प्रहरी कार्यालय धरानबाट घटनाको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक भीम दाहालले बिहानबाट घटनाको विभिन्न कोणबाट घटनाको अनुसन्धान कार्य सुरु भएको बताए ।

अनुसन्धान टीममा प्रदेश प्रहरीको ‘रिजनल इन्भेस्टिगेशन टीम’ समेत संलग्न छ । प्रहरी उपरीक्षक दाहाल अपराध अनुसन्धानमा कुशल अनुसन्धानकर्ता मानिन्छन् ।  सीआइबीमा लामो समय काम गरेका दाहाल १ नं प्रदेश प्रहरीको रिजनल इन्भेस्टिगेशन टिमको स्थापनाकर्ता पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप