शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा एमालेलाई धक्का, एकीकृत समाजवादी रोज्नेहरू बढ्दै

मङ्गलबार, २२ भदौ २०७८, ११ : ०३
मङ्गलबार, २२ भदौ २०७८

 एमालेको पकड क्षेत्र मानिएको दैलेखमा एमाले विभाजनको असर नराम्रोसँग देखिएको छ । पार्टी विभाजनपछि माधव नेपाल समूहका केही नेताहरु केपी ओली नेतृत्वको संस्थापन पक्षतिर मोडिए पनि नेकपा एकीकृत समाजवादी रोज्नेहरूको संख्या पनि उल्लेख्य देखिएको छ ।

यसअघि माधव नेपाल गुटबाटै केन्द्रीय राजनीतिमा उदाएका विष्णु रिजाल अहिले केपी ओली नेतृत्वको एमालेमै खुलेर होमिएका छन् । यस्तै, दैलेखबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढा पनि एमालेमै छन् । तथापि, स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरु भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुल्न थालेका छन् ।

एमाले विभाजन हुनु अघि एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले माधव समूहका केही जनप्रतिनिधि, नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका थिए । जसले गर्दा माधव गुटका नेता, कार्यकर्ताहरु अन्योलमा थिए । तर, एमाले विभाजन पछि उनै शर्माले ‘कारबाही फुकुवा भयो, पार्टीमा फर्किनुहोस्’ भनेर पत्र पठाइरहेका छन् ।

पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीका तर्फबाट अम्मरबहादुर थापा, सावित्री मल्ल, जंगबहादुर शाही लगायतका नेताले पार्टीलाई सांगठनिक रुपमा अघि बढाउनेबारे स्थानीयस्तरमा छलफल र बहस गरिरहेका छन् ।

गत शुक्रबार एमालेबाट निर्वाचित २७ जना जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरे । आइतबार पुनः ३२ जना जनप्रतिनिधिले समाजवादी रोजे । जसका कारण एमालेको पकड क्षेत्र मानिएको दैलेखमा एमालेलाई ठुलो धक्का लागेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी दैलेखका ११ स्थानीय तहका १४ जना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षमध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

जिल्लाका ११ स्थानीय तहका ९० वडामध्ये ५३ वटा वडामा वडाध्यक्षसहित सबैजसो वडा सदस्य जितेको एमालेका केही वडा अध्यक्षले एमालेमै रहने मनसाय बनाएको देखिन्छ भने केही नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

आइतबार भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लसहित ५ जना वडा अध्यक्ष एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा र ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले एकीकृत समाजवादीमा सनाखत गरिसकेकी छन् ।

हालसम्म दैलेखमा ५७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजिसकेका छन् । अझै केही जनप्रतिनिधि समाजवादीमा खुल्ने कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका समाजवादीका नेता अम्मरबहादुर थापा बताउँछन् ।

कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका सांसद सुशिल थापा यसअघि माधव नेपाल पक्षमा थिए । अहिले उनले आफू कता रहने भन्नेबारे प्रष्ट धारणा बनाएको देखिँदैन ।

एकीकृत समाजवादीकी नेता तथा प्रतिनिधिसभा सदस्य पार्वती विशुन्के दैलेखमा समाजवादीलाई बलियो पार्न लागिएको बताउँछिन् । उनले भनिन्, ‘केपी ओलीको प्रतिगमन र घमण्डीपनाले गर्दा स्थानीयस्तरमा कार्यकर्तामा पनि असर परेको छ । हामीतर्फ अझै पनि जनप्रतिनिधिहरु खुल्ने क्रम जारी छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप