मुलपानीमा बाढीले लाखौँको क्षति : किसान भन्छन् – भक्तपुर र काठमाडौँको लडाइँको नतिजा !
दोरम्बा रामेछापका विवेक लामाले मुलपानीमा बङ्गुर फार्म सञ्चालन गरेको १ वर्ष मात्रै भएको थियो । गत वर्षको मङ्सिर महिनाबाट उनले यो जग्गा भाडामा लिएर बुङ्गुर पालन सुरु गरेका थिए । श्रीमान् श्रीमती नै बुङ्गुर फार्ममा काम गर्थे, बुङ्गुरको उत्पादन राम्रै भइरहेको थियो । विवेकसहित अन्य ५ जना मिलेर यो फार्म सञ्चालनमा ल्याएका थिए ।
तर भदौ २१ गते बिहान मनोहरा खोलामा आएको बाढीले मुलपानीमा रहेको उनको बुङ्गुर फार्म बगायो । ८० वटा बुंगरहरु रहेकामा आदि बुङ्गुर खोलाले बगायो भने बिहान ३ बजे खोरमा पुगेर आदि बुङ्गुर उद्धार गर्न सके ।
बिहान रातोपाटीको टोली उनको बुङ्गुर फार्ममा पुग्दा खोलाले अझै कटान गरिरहेको देखिन्थ्यो । खोलाले आफ्नो धार नै परिवर्तन गरेर उनको बुङ्गुर फार्ममा आएको थियो र ६ वटामध्ये ४ वटा खोर बगाइसकेको थियो । बाँकी २ वटा खोरमा पनि खोलाले कटान गरिरहेको थियो ।
उदास मुद्रामा रहेका उनी बुङ्गुर फार्मको भग्नावशेषमा बसेर चिहाइरहेका देखिन्थे ।
२५ लाख जतिको क्षति भयो : विवेक लामा, बुङ्गुर पालक किसान
मुलपानीमा बुङ्गुर फार्म सञ्चालन गरिरहेका लामाले आफ्नो करिब २५ लाखको क्षति भएको बताए । बिहान करिब ३ बजेतिर बाढी आएको थाहा पाएको र आफू फार्ममा जाँदा त्यहाँ खोलाले २ वटा खोर बगाइसकेको पाएको उनले बताए ।
उनले भने, ‘सुतिरहेका थियौँ, पानी परिरहेको रहेछ । तर हल्लाखल्ला भएपछि उठेँ । बाढी आयो भन्ने सुनेपछि बङ्गुर फार्मतिर हेर्न आएको २ वटा खोर बगाइसकेको रहेछ । ६ वटा खोर थियो, २ वटा बगाइसकेछ । बाँकी ४ वटा खोरमा रहेका बङ्गुरहरु निकाल्ने कोसिस गरियो । त्यसो गर्दा गर्दै पनि बाँकी २ वटा खोर बगायो ।’
लामाले अगाडि थपे, ‘मेरो जम्मा ८० वटा बङ्गुरहरु थिए । १८ वटा जति ठूलो बङ्गुर गयो, जुन कटिङमा दिने बेला भएको थियो । बाँकी साना पाठाहरू पनि गयो । खोर बनाउन र पाठा किन्न तथा हालसम्मको दाना आदि गर्दा करिब १२ लाख ५० हजार लगानी भएको थियो । तर मध्यरातमा आएको बाढीले ६ वटा खोरमध्ये ४ वटा खोर पूर्णरुपमा बगाएको छ भने बाँकी रहेको एउटा खोर पनि बगाउने तयारीमा छ ।’
बिमा गर्न नै सकिएन
लामाले आफ्नो फार्मको बिमा गर्न चाहेको भएपनि बीमा कम्पनीले बिमा गर्न नै नमानेको बताए । उनले भने, ‘बिमाको प्रोसेसमा थियो । प्राइभेट बीमाले मरेमा मात्रै दिने रहेछ । तर बिमा गर्न पाएको पनि थिएन ।’
खोलाले धार परिवर्तन गर्यो
मनोहरा खोलाले धार परिवर्तन गर्दा बुङ्गुर फार्ममा पानी छिरेको लामाले बताए । उनले भने, ‘खोलाले धार नै परिवर्तन नै गरेर बङ्गुर फार्म बगाएको हो । यत्रो खोला आउला भनेर सोचेको पनि थिइन । केही समयअगाडि यो भन्दा सानो बाढी थियो, त्यो बेला सामान्य क्षति पुराएको थियो । त्यसपछि बीचमा डोजर पनि लगाएको थियो । तर पानीको धार परिवर्तन गरेको भएपनि खोलेको कारणले झनै बढी क्षति भएको थियो ।’
सरकारसँग राहतको अपेक्षा, तर आशा छैन
बुङ्गुर फार्म बगाएपछि लामाले रातोपाटीसँग भने, ‘अलिकति आश भनेको राहतको हो । सरकारले पनि हामीलाई राहत दिन सक्दैन होला । किनभने सरकारले यसअघि पनि हामीजस्ता गरिबलाई राहत दिएको पनि थाहा छैन । सरकारले हेर्ने ठुला मान्छेलाई हो, हामीजस्ता गरिब जनताको कुरा सुन्छ जस्तो त मलाई लाग्दैन । सक्छ सरकारले राहत दियोस्, तर मलाई जहाँसम्म लाग्छ, सरकारले राहत दिँदैन । हामीजस्ताको दयामाया छ वा हामीले भोट दिएर सरकार बनेको हो भने हामीलाई पनि हेरिदिनुहोला । नहेरेपनि भन्नु त केही छैन, हाम्रो पनि पालो त आइहाल्छ नि ।’
मैले किन कर तिर्ने ? : विशाल राई, सोलुखुम्बु
सोलुखुम्बुका विशाल राईले पनि मुलपानीमा कृषि फर्म खोलेका थिए । विशालले राँगा, कुखुरा तथा तरकारी खेती गरेका थिए । तर उनको राँगो फार्म पनि बाढीले बगायो । कुखुराको खोर पनि बाढीले बगायो भने टनेलमा लगाएको तरकारी वालीमा पनि क्षति पुरायो । बाढी आएको थाहा पाएपछि राँगा निकालेपनि खोर भने बचाउन सकेनन् । कुखुरा फार्म पनि बाढीले बगायो ।
उनले भने, ‘५ वर्ष भयो यो एरियामा आएर काम गरेको । सुरुमा म ज्यामी काम गर्थे र पछि विदेश गएँ । नेपाल फर्किएपछि बाहिर जान मन लागेन । सरकारले बिनाधितो पासपोर्ट राखेर १० लाख ऋण दिने पनि भनेको थियो । तर त्यो मिडियाबाजी मात्रै रहेछ ।’
‘मैले तराईबाट राँगा ल्याएर पाल्ने, कुखुरा पाल्ने गरेको थिएँ । ४ जना साथीहरु मिलेर खोलेको हो फार्म । तर गोठ र कुखुराको खोर बगायो । कम्तिमा पनि ९–१० लाखको क्षति भयो । तर सरकारले त हामीलाई नहेर्ने रहेछ । सरकारको काम त हामीबाट राजश्व लिने मात्रै रहेछ । मैले सरकारलाई अब कर किन तिर्ने ? कर तिरेन भने जरिवाना गर्ने, तर हाम्रो यत्रो क्षति हुँदा सरकारले केही नहेर्ने ? वडाले वास्ता नगर्ने ?
राईले अगाडि भने, ‘म भूमिगत कालमा सर्वहारा वर्गको लागि भन्दै छातीमा गोली खान तयार भएर हिँडेको मान्छे हुँ । आजपनि म सर्वहारा वर्ग नै हुँ । तर स्थिति हेर्दा अहिले नेतृत्वलाई नै गोली ठोक्नुपर्ने अवस्था आएको छ । किनभने वर्गीय मुक्तिका लागि भन्दै आन्दोलन गरियो, तर कसै कसैलाई नेता बनाउने बाहेक अरू कुनै प्रगति भएन । नेताहरूले चिल्लो कार र सेक्युरिटी गार्ड पाए, जनताका समस्या जहाँको त्यहीँ रह्यो ।’
खोला फर्काएको कारण फार्ममा बाढी
राईले पनि खोला फर्काएको कारण नै वस्ती र आफ्नो फार्ममा बाढी छिरेको दाबी गरे । उनले भने, ‘खोला फर्काएको कारण यो समस्या आएको हो । भक्तपुर र काठमाडौँको लडाइका कारण यस्तो क्षति भयो । तीन वर्ष अगाडिसम्म यो खोला भक्तपुरतिर धेरै टाढा थियो । तर ३ वर्षअघि यता ल्याइयो, त्यसपछि यस्तो भयो । राजनीतिक र प्रशासनिक शक्ति प्रदर्शनका कारण यस्तो भयो ।’
पटकपटक फार्म बगायो : योगिता लामा, रामेछाप
मुलपानीक्षेत्रमा आएको बाढीले क्षति पुराउने अर्की किसान हुन्, रामेछापकी योगिता लामा । उनले पनि मुलपानीमा वार्षिक ३५ हजार भाडा तिरेर जग्गा लिएकी थिइन् । अनि त्यही जग्गामा करिब ४ लाख खर्च गरेर बुङ्गुर फार्म बनाइन्, बुङ्गुरको माउ र पाठो किनिन् ।
तर भदौ २१ गते राती आएको बाढीले उनको बुङ्गुर फार्म बगायो । उनले रातोपाटीसँग भनिन्, ‘९ वटा खोर थियो । सबै बगायो । खोर बनाउन मात्रै ४ लाखजति खर्च भएको थियो । बुङ्गुरको माउ २३ वटा थियो । ६ वटा बगायो । पाठाहरू पनि थियो, तर ४०–५० वटा जति पाठा पनि बगायो । सबै गर्दा ११ लाख जतिको क्षति भयो ।’
उनले अगाडि भनिन्, ‘योभन्दा पहिले ३ वर्ष अगाडि पनि एकपटक बगायो । त्यसपछि हामी पुलमुनि गएर फार्म चलायौँ, तर २ वर्ष बसेपछि बस्तीले बस्न दिएन । अनि मङ्सिरबाट यहाँ आएर बसेको, तर फेरि बगायो । के गर्ने अर्को पेसा जानेको छैन, बाध्य भएर यही पेसा गर्नुपर्छ । अब अर्को स्थानमा फेरि बनाउनुपर्छ ।
२४ लाखजति क्षति भयो, ऋण कसरी तिर्ने ? विन्दु तामाङ, रामेछाप
रामेछापकी विन्दु तामाङले पनि त्यहीँ बुङ्गुर फार्म चलाएकी थिइन् । एक वर्ष अगाडिबाट सुरु गरेको उनको बुङ्गुर फार्ममा १० लाखजति खर्च भएको थियो । तर बाढीले सबै खोर बगायो । केही बुङ्गुर निकाल्न सकिए पनि सबै निकाल्न सकिएन ।
उनले रातोपाटीसँग यसरी गुनासो गरिन्, ‘कटिङ गर्ने बेलाको बुङ्गुर ४२ वटा थियो, २२ वटा मात्रै निकाल्न सकियो । ५ वटा माउ थियो, ३ वटा मात्रै निकाल्न सकियो र बाँकी बगायो । ९ वटा खोर थियो, सबै बगायो । बुङ्गुरको पाठो पनि थियो, त्यो पनि आदिजति बगायो । सबै गर्दा २३–२४ लाखको क्षति भयो ।’
ऋणको चिन्ता
बाढीको तबाहीपछि फार्मको अघिल्लोतिर भेटिएकी विन्दाले भनिन्, ‘दिदीासँग ५ लाख ऋण लिएर व्यवसाय गर्न थालेको थिएँ, राम्रै भइरहेको थियो । तर अब सबै सकियो । ४ जनाको परिवार छ । २ वटा छोरीहरु छन्, उनीहरूलाई पढाउनुपर्यो, खानुपर्यो । अब कसरी गर्ने भन्ने चिन्ता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि