बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुला तुइन घटना र हेलिकप्टर प्रकरणमा भारतलाई कुटनीतिक नोट पठाइयो

सोमबार, २१ भदौ २०७८, २१ : ०३
सोमबार, २१ भदौ २०७८

सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारत सरकारलाई कुटनीतिक नोट पठाएको छ । सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । 

साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन चुडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सो घटना सेलाउन नपाउँदै भारतले नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । यी दुवै घटनामा सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गत भदौ १७ गते गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन गृहमा बुझाएको थियो । 

उक्त घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।

उक्त घटनाको अध्ययनका लागि मन्त्रालयले गत साउन १७ गते सहसचिव जनार्दन गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको समिति गठन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप