बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

माधव नेपालनिकट विद्यार्थीको चेतावनी : गृहको विज्ञप्ति जलाउँछौँ, हिम्मत भए पक्राउ गर

विज्ञप्ति जारी गर्नेहरु नेपाली हुन् भन्नेमा हामीलाई शंका छ : पराजुली
सोमबार, २१ भदौ २०७८, १० : ००
सोमबार, २१ भदौ २०७८

गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेलाई पक्राउ गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेपछि सरकारले वाक स्वतन्त्रताप्रति धावा बोल्न खोजेको भन्दै सरोकारवालाले विरोध जनाएका छन् । उनीहरुले राष्ट्रियताको सवालमा बोल्न नसक्ने सरकारले प्रदर्शनकारीलाई चेतावनी दिँदै विज्ञप्ति जारी गरेर ‘कम्फरटेबल’ भूमिका निर्वाह गरिरहेको आरोप लगाएका छन् ।

आइतबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरेर मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको थियो ।  मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधि प्रति गम्भीर आपत्ति प्रकट गरेको थियो ।

मन्त्रालयले मित्रष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्ने र त्यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिन खोज्नेलाई कारबाही गरिने पनि स्पष्ट पारेको थियो ।

केही दिनअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठनले दार्चुला घटनाको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएपछि गृह मन्त्रालयले यस्तो विज्ञप्ति जारी गरेको थियो । उसो त गृह मन्त्रालयले मित्रराष्ट्रहरुको विरोध गर्नेलाई सूक्ष्म निगरानी राख्ने आशयको विज्ञप्ति समेत जारी गरेको थियो ।

​सरकारले विरोधमा उत्रिनेलाई पक्राउ गर्ने खुलेआम चेतावनी दिएपछि अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आपत्ति जनाएका छन् । उनले गृहको विज्ञप्ति आज राजधानीमा च्यात्ने र जलाउने कार्यक्रम तय भएको बताउँदै हिम्मत भए आफूहरुलाई पक्राउ गर्न चुनौति दिए ।

गृहको विज्ञप्तिबारे पराजुली भन्छन्–

जुन किसिमले गृह मन्त्रालयले वाक स्वतन्त्रतामाथि धावा बोल्ने विज्ञप्ति निकाल्यो, यसका विरुद्ध हामी छौं । गृह मन्त्रालय जयसिंह धामीको कुरा देख्दैन, दार्चुलामा भारतीय सैनिकको हेलिकप्टर उडेको देख्दैन । गृह मन्त्रालय के देख्छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको चाहिँ देख्छ । नेपाली जनताको राष्ट्रियतामाथि भारतले धावा बोलेको छ, तर गृह मन्त्रालय केही बोल्न सक्दैन । राष्ट्रियताको आन्दोलन गर्ने हिमायतीहरुको विरुद्धमा चाहिँ बोल्छ, यसको विरुद्ध अनेरास्ववियू छ ।

गृह मन्त्रालयको विज्ञप्ति जसले लेख्न लगाउनु भयो, जसले लेख्नु भयो उहाँहरु नेपाली नागरिक हुन् भन्नेमा हामीलाई शंका छ । देशभक्ति छ कि छैन ? हामी अमरसिंह, शक्ति थापाका सन्तति हौँ । तर उहाँहरु मोदीको गुलाम बनिरहेको जुन परिस्थिति छ, यो परिस्थितिमा हामीमा यस कार्यको निन्दा र भत्सर्ना गर्न चाहन्छौं । तत्कालै गृह मन्त्रालयबाट विज्ञप्ति जारी गर्ने गराउनेलाई माफी माग्नका लागि निम्ति हामी हार्दिक अपील गर्न चाहन्छौं । यस्तो किसिमको गतिविधिले के प्रष्ट पार्छ भने मोदी÷भारतको गुलाम गरेर पनि सत्तामा टिकिरन सकिन्छ, टिकिन्छ भन्ने जुन सन्देश दिने कोशिस भएको छ, त्यसविरुद्ध अनेरास्ववियू छ ।

जयसिंह धामीलाई न्याय दिन नसक्ने गृहमन्त्री र कालापानी लिपुलेकलगायतका विषयमा बोल्न नसक्नेहरुले निकालेको विज्ञप्तिको कुनै अर्थ छैन ।

पक्राउ गर्ने, जेल हाल्ने जस्ता चेतावनी हिजोपनि हामीले सत्ताबाट प्राप्त गरेका थियौँ । हिजो राजाकै विरुद्धमा पनि हामी अनेरास्ववियू लागेका हौँ । पञ्चायतका विरुद्ध हाम्रा अग्रजले पनि आन्दोलन गरेकै हो, पार्टी सत्तामा हुँदा पनि हामीले गलत प्रवृत्तिको विरोध गरेका हौँ र आज पनि हामी के भन्छौँ भने जुन ढंगले गृह मन्त्रालयको मोदीको पाउ मोसार्नेगरी त्रुटिपूर्ण विज्ञप्ति निकालेको छ, हामी आजै मीन भवन क्याम्पसमा ३ बजे विज्ञप्ति च्यात्ने, जलाउने काम गर्छौ । हिम्मत भए गृह मन्त्रालयको नेतृत्वकर्ता अथवा देउवा सरकारलाई चेतावनी दिन चाहन्छु–सुदेश पराजुलीसहितका विद्यार्थी ३ बजे सडकमा उभिन्छ, त्यो विज्ञप्ति च्यात्छौँ, जलाउँछौ पक्राउ गरेर देखाए हुन्छ ।

हिजो केपी ओलीले लोकतन्त्र धरापमा पार्न खोज्दा त्यसको विरुद्धमा गठबन्धन बनेको थियो र त्यसैको निरन्तरतास्वरुप अहिले गठबन्धन सरकार बनेको छ । तर अहिले राष्ट्रलाई नै संकटमा पार्ने गरी देउवा नेतृत्वको सरकार अगाडि बढ्छ भने हामी यो सरकारलाई समर्थन गर्न पर्छ भन्ने पक्षमा छैनौं । हामी यति भन्न चाहन्छौं अनेरास्ववियू भनेको प्रतिपक्षी आन्दोलन हो । दवाव र जागरणको नेतृत्वदायी संगठन हो । को सत्तामा बस्छ, को बस्दैन भन्ने यसले हेर्दैन । सत्ताले जनपक्षीय काम गर्नुपर्छ, जनता र राष्ट्रको हितमा काम गर्छ भने हामी सँधै समर्थन गर्छौ । सत्ताले राष्ट्रघाती काम गर्छ भने हिजो पनि विरोध गरेका थियौँ आज र भोलि पनि गर्छौँ । गठबन्धन सरकारलाई यस्तो किसिमको गतिविधि नगर्न अपील गर्दछौंँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप