शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा काँग्रेस वडा अधिवेशन : अधिकांशमा सर्वसम्मत, १३ वटामा निर्वाचन

सोमबार, २१ भदौ २०७८, ०८ : १९
सोमबार, २१ भदौ २०७८

मकवानपुरमा सबै वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जिल्लाका सबै वडाहरूमा सुरु भएको अधिवेशन राति सकिएको हो । जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा एकैसाथ सुरु भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनले वडा कमिटी काँग्रेस पार्टीको मूल जग भएकोले सबै वडाहरूमा सौहार्दताका साथ नेतृत्व चयन गर्ने गरी सबै क्रियाशील सदस्यहरूलाई जिम्मेवारी दिएको उनले बताए । 

मकवानपुरको ८ वटा गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिकाका १०२ वटा वडा मध्ये १३ वटा वडामा निर्वाचन मार्फत् नेतृत्व चयन भएको उनको भनाइ छ । गाउँ क्षेत्रका अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको भए पनि नगर क्षेत्रका केही वडामा निर्वाचन गराउनु परेको प्रवक्ता कोइरालाले बताए । 

उनका अनुसार हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये ७ वटामा निर्वाचन गर्नु परेको थियो भने गाउँ क्षेत्रका ६ वटा वडामा पनि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रिया विवाद रहित रूपमा सम्पन्न गरी वडा कमिटीमा नयाँ क्रियाशील र जुझारु युवा नेतृत्व प्रदान गरिएको उनको भनाइ छ ।

वडा अधिवेशनबाट हाल परिमार्जित भएको संरचना अनुसार समावेशीतर्फका सदस्यसहित वडा प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र बुथ प्रतिनिधिसहित करिब २ हजार जना नेतृत्वको लागि चयन हुने उनले बताए । वडा अधिवेशनमा नयाँ ५ हजार ३०० जना र पुराना ४ हजार २४२ जना गरी ९ हजार ५४२ जना क्रियाशील सदस्य सहभागी भएका उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप