बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७० को दशककी बोल्ड अभिनेत्री जहिरा : यसकारण फिल्म छोडिन्, अहिलेसम्म छैन अत्तोपत्तो

सोमबार, २१ भदौ २०७८, ०६ : ३१
सोमबार, २१ भदौ २०७८

हिन्दी फिल्म उद्योगमा यस्ता थुप्रै नायिका छन् जसले बलिउडमा कदम राख्ने बित्तिकै अत्यधिक नाम कमाए । यत्रतत्र उनीहरुकै अभिनयको चर्चा हुने गर्दथ्यो  । तर कोही भने दुई चारवटा फिल्ममा अभिनय गरेर यसरी गायब भए कि उनीहरूको आजसम्म पनि केही अत्तोपत्तो छैन । आज हामी यस्तै एक नायिकाबारे कुरा गर्दैछौ । उनी हुन् ७० को दशककी बोल्ड नायिकामध्ये एक जाहिरा । 

जहिराले सन् १९६९ मा रिलिज भएको जेम्स बन्ड फिल्म अन हर मेजेस्टी सिक्रेटबाट डेब्यू गरिन् । जसमा उनले एक भारतीय युवतीको भूमिका निभाइन् । यो फिल्म सुपरहिट भएको थियो । त्यसपछि जहिराले २०–२१ वटा फिल्ममा अभिनय गरिन् र सधैंका लागि यो क्षेत्र छोडिन् । जहिरा करियर ग्राफ ओरालो लाग्नु अघि नै अभिनय छोड्नु मुनासिब ठान्थिन् । 

जहिराले आफ्नो करियर साइड रोलबाट सुरु गरेकी थिइन् । सन् १९६९ मा करियरको सुरुवात गर्ने जहिरालाई बलिउडमा परवीन बाबीको डुप्लिकेट मानियो । तर यसले उनलाई खासै फाइदा भने दिएन । उनले गर्दा परबीन बाबीको लोकप्रियता भने बढ्यो । 

करिब ६ वटा फिल्ममा साइड भूमिका निभाएपछि जहिरालाई सन् १९७४ मा रिलिज भएको फिल्म ‘कल गर्ल’ मा मुख्य भूमिकामा देखियो । यद्यपि, फिल्मले खासै सफलता पाएन । फिल्म ‘नौकरी’ मा जहिराले राजेश खन्नासँग काम गरेकी थिइन् । 

सुपरस्टार राजेश खन्नासँग काम गरेर पनि जहिराको भाग्य चम्किएन । जहिराले जब काम धेरै पाउन छोडिन् तब उनले केही ‘बी ग्रेड’ फिल्ममा पनि काम गरिन् । जहिराले फिल्म ‘ग्याम्बलर’ मा देव आनन्दसँग काम गरेकी थिइन् । यो फिल्म हिट त भयो तर जहिराले खासै पहिचान पाउन सकिनन् । जहिरा सेन्सेसनल भूमिका गर्न पनि पछि हटिनन् । उनले फिल्म ‘धर्मात्मा’ मा फिरोज खानसँग अत्यधिक बोल्ड सीन दिएकी थिइन् । 

हिन्दी सिनेमाबाहेक जहिराले केही पञ्जाबी फिल्ममा पनि काम गरिन् । हिट हुनका लागि जहिराले फिल्ममा धूम्रपान, मद्यपानको दृश्य दिइन् । निकै भड्किला पहिरन लगाउन पनि तम्सिइन् । उनले राम्रो अभिनय गर्न नसक्ने तर उनी स्क्रिनमा भने राम्री देखिने भन्दै थुप्रै दर्शकले प्रतिक्रिया दिन्थे । त्यसैले पनि निर्देशकले उनलाई फिल्ममा सह कलाकारको भूमिकामा लिने गर्दथे । 

१० वर्षसम्म फिल्ममा खासै सफलता हात पार्न नसकेपछि उनले यो क्षेत्रलाई सदाका लागि छोड्ने निर्णय गरिन् । जहिरा लण्डनमा हुर्के बढेकी थिइन् त्यसैले उनले लण्डन नै फर्किने निर्णय गरिन् । आफूले अभिनय छोडेर लण्डन फर्कन लागेको जानकारी उनले प्रशंसकमाझ सेयर गरिन् । जहिरा त्यसपछि यसरी गायब भइन् कि आजसम्म उनको केही अत्तोपत्तो छैन । उनी के गर्छिन्, अहिले कस्ती भइन् यसबारे कसैलाई केही जानकारी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप