शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश सरकारले मिडिया मैत्री ‘आमसञ्चार विधेयक’ बनाउने छ : मन्त्री थापा

आइतबार, २० भदौ २०७८, २० : ५४
आइतबार, २० भदौ २०७८

गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले बनाउने आमसञ्चार विधेयक मिडियामैत्री हुने बताएका छन् । कास्कीको माछापुच्छ्रेमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री थापाले आमसञ्चार विधेयकलाई संशोधन मिडिया हाउस र मिडियामैत्री बनाएर अगाडि बढाउने बताएका हुन् ।

‘प्रदेश सरकारले आमसञ्चार विधेयकलाई सरोकारवालासँग समन्वय गरेर विवाद नहुने गरी तयार गरि अगाडी बढाउँछौँ’ उनले भने, ‘गण्डकीमा सञ्चालित मिडियाको हकहितमा केन्द्रित रहेर उनीहरुका समस्याको समाधान गर्ने गरी अगाडि बढ्छौँ ।’

मन्त्री थापाले सरकारले दिने लोककल्याणकरी विज्ञापनले मिडियाकर्मीलाई प्रोत्साहन हुने गरी वितरण गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘कोरोनाका कारण धेरै मिडियाहरु प्रभावित भएका छन, केही मिडिया बन्द समेत भएको अवस्था छ’ उनले भने, ‘मिडिया हाउस बन्द हुँदा पत्रकारको रोजीरोटी गुमेको छ, मिडिया हाउस र पत्रकारको रोजगारीका लागि गण्डकी सरकार प्रतिबद्ध छ ।’

मन्त्री थापाले पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने गरी आगामी कार्यक्रम तय गरिने बताए । उनले पत्रकारहरुको छाता संगठन पत्रकार महासंघसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे । मन्त्री थापाले समग्र मिडिया क्षेत्रमा आवश्यक सुधारका लागि सबैको सल्लाह सुझाव लिएर नै अगाडि बढ्ने बताए ।

‘मिडिया क्षेत्रको विकासका लागि सरकारले केही नयाँ कार्य गर्ने सोच बनाएको छ’ उनले भने । ‘सरोकारवालासँग छलफल र सल्लाह सुझावका आधारमा योजना अगाडि बढाउने छौं, यसका लागि यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप