शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो तामाकोशी बनेसँगै नेपालमा बिजुली फालाफाल

आइतबार, २० भदौ २०७८, १८ : १६
आइतबार, २० भदौ २०७८

 

दोलखा जिल्लामा माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै नेपालमा विद्युत फालाफाल भएको छ ।राष्ट्रिय गौरवमा सूचीकृत तामाकोशी आयोजना सम्पन्न भएपछि नेपालमा अहिले १९ सय मेगावाट विद्युत उत्पादन भैरहेको छ । अहिले यो आयोजनाबाट ३८० मेगावाट व्यवसायिक र ७६ मेगावाट परीक्षण उत्पादन भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणले नेपालको विद्युत उत्पादन क्षमता १९ सय मेगावाट पुुगेको जानकारी दिएको छ । हाल नेपालमा १५ सय मेगावाट विद्युत खपत भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातोपाटीलाई जानकारी दिए । यो नेपालको कूल खपतभन्दा ४०० मेगावाट बढी हो ।

घिसिङले भने, ‘नेपालको विद्युत उत्पादन क्षमता १३ सय ५० बाट बढेर १९०० मेगावाटसम्म पुगेको छ । गत आर्थिक वर्ष २०७६/७७ सम्म १३५० मेगावाट थियो ।’

प्राधिकरणका अनुसार त्यसयता ५५० मेगावाट विद्युत उत्पादन थपिएर १९ सय मेगावाट पुगेको हो । तर, यो उत्पादन वर्षायामको मात्र हो । हिउँदमा नेपालको विद्युत उत्पादन क्षमता करिब ७०० मेगावाटले घटेर १२ सय मेगावाटमा झर्छ ।

वर्षायाममा उत्पादन क्षमता बढेर १९ सय मेगावाट पुगेपनि हिउँदमा उत्पादन क्षमता खुम्चिन्छ । वर्षामा नदीहरूको वहाब बढी हुने भएकाले बढी उत्पादन हुन्छ । तर, हिउँदमा नदीको बहाब सुक्ने भएकाले विद्युत उत्पादन क्षमता पनि घट्छ ।

त्यसैले हिउँदको समयमा नेपालका विद्युतको माग धान्न भारतबाट आयात गर्नुपर्ने हुन्छ । वर्षायाममा भने नेपालबाट भारततर्फ नै विद्युत निर्यात हुने गरेको छ ।

पूर्ण क्षमतामा माथिल्लो तामाकोशी

वि.सं. २०६७ सालदेखि निर्माण सुरु भएको तामाकोशी जलविद्युत (४५६ मेगावाट) आयोजनाबाट अहिले पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । हाल आयोजनाका ६ मध्ये ५ वटा युनिटबाट पूर्ण क्षमता र एउटा युनिटबाट परीक्षण उत्पादन भइरहेको छ । एउटा युनिट परीक्षणकै रुपमा भएपनि त्यसबाट पनि विद्युत उत्पादन भइरहेको छ ।

जसबाट नेपालको प्रसारण लाइनमा ४५६ मेगावाट विद्युत थपिएको छ । माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा आफ्नो उत्पादन थालेपछि नेपालको विद्युत उत्पादन बढेर खेर जाने स्थितीमा पुगेको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन मिती दोस्रोपटक सारेपछि बल्ल पूर्ण क्षमतामा उत्पादन सुरु भएको हो ।

यसलाई २०७४ सालमा सम्पन्न गर्ने भनिएपछि भूकम्प र भारतीय नाकाबन्दीका कारण २०७७ सालमा सम्पन्न गर्ने भनियो । तर, उक्त मिति पनि नाघिसकेको छ । यद्यपि, यो आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा सूचीकृत हुने २४ आयोजनामध्ये सबैभन्दा पहिला सम्पन्न हुने आयोजना हो ।

यस्तो छ विद्युत उत्पादनको स्थिति

अहिले नेपालमा उत्पादन भइरहेको १९ सय मेगावाट विद्युतमध्ये नेपाल विद्युत प्राधिकरणकै ११ सय मेगावाट छ । प्राधिकरणका ठूला÷साना आयोजनाबाट यो परिमाणमा विद्युत उत्पादन भइरहेको निर्देशक घिसिङले जानकारी दिए । जसमा सबैभन्दा ठूलो योगदान माथिल्लो तामाकोशी जलविद्युत आयोजनाकै रहेको छ ।

यस्तै, हाल नेपालमा ३० मेगावाट सौर्य ऊर्जा समेत उत्पादन भइरहेको छ । यसैगरी, निजी क्षेत्रले बनाएका आयोजनाबाट करिब ८०० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप