सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

जयसिंह धामी प्रकरण र हाम्रो कूटनीतिक क्षमता

आइतबार, २० भदौ २०७८, १६ : ००
आइतबार, २० भदौ २०७८

भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर एक होनहार नेपाली युवा जयसिंह धामीको लास कालापानी महाकालीको साउने भेलम बेपत्ता पारियो । मृतकका आफन्तले कुशको मुर्दा बनाई अन्तिम दाहसंस्कार गरेको सुन्दा कसको मन थाम्न सक्छ र ? शोक सन्तप्त परिवारजनले परम्परा र रीतिरिवाजअनुसार काज किरिया गरे । उनीहरु शोकमा छन् । न्याय पाउनु कता हो कता, त्यो परिवारले सान्त्वना समेत पाएन ।

महिनौं बितिसक्दा नेपाल सरकारले गठन गरेको स्वतन्त्र जाँचबुझ समितिले बल्लतल्ल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । उक्त समितिको छानबिनले भारतीय सुरक्षा बलको संलग्नता र दोषी रहेको ठहर गरेको छ । अब भारतलाई सरकारले स्पष्ट जानकारी दिने, भारतले पनि दोषीलाई कडा कारबाही, पीडितलाई न्याय र उचित क्षतिपूर्ति दिलाउनुपर्छ । यस्तो अमानवीय तरिकाले तुइन चुँडालेर हत्या हुनु अत्यन्तै दुःखद र खेदपूर्ण छ । असल छिमेकी मुलुक भारत भारतीय सुरक्षाकर्मी किन पटक–पटक सीमावर्ती क्षेत्रमा यसरी हिंस्रक बन्छन् ?

छिमेकीको यस्तो रवैयाले दुई देशको सम्बन्धमा फाटोपन आउनेछ । यसले दुवै देशको युगौँ देखिको मैत्रीपूर्ण सम्बन्ध खलबलिन सक्छ । यो कसैको हितमा हुनेछैन । एक हातले ताली बज्दैन । युगौँ युगदेखिको घनिष्ठ मित्रता धार्मिक सांस्कृतिक सम्बन्धको साथै पारिवारिक सम्बन्ध पनि उत्तिकै प्रगाढ छ । जसरी तुइन चुँडाले त्यसैगरी कुनै कालमा सम्बन्धमा दरार आउन सक्छ ।

यो विषयमा सम्पूर्ण देशभक्त न्यायप्रेमी नेपाली जनता सचेत छन् र हुनु पनि पर्छ । हाम्रा राजनीतिक दलहरू, प्रबुद्ध व्यक्तिहरू, स्थानीय सरकार, प्रशासन, प्रदेश सरकार, सङ्घीय सरकार, सम्बद्ध सरोकारवाला निकाय, मानव अधिकार आयोग, मिडिया जगत र आम नागरिक समाज छरपस्ट भएर आआफ्नो डम्फु बजाउँदै छन् । घटना भएको यतिका समय बितिसक्यो, भारतले उक्त घटनामा भारतीय सीमा सुरक्षाबल एसएसबीको संलग्नता नरहेको कुरा काठमाडौँ स्थिति भारतीय दूतावासले जारी विज्ञप्तिले भन्छ । दिल्ली स्थिति नेपाली दूतावास चुपचाप निरीह छ ।

भारतीय दूतावासका कर्मचारी र दूत हाम्रा सांसदहरू, नेता गण, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भेट्न कुनै समय प्रोटोकल मर्यादाक्रम चाहिँदैन, जुनसुकै बेला भेट्न सक्छन् । यत्रो अपमान हुँदा हामी निरीह छौँ । हाम्रा राजदूत गोबरका गणेश ।

आपसी आन्तरिक प्रतिस्पर्धा, मतमतान्तर तिक्तता मतभिन्नता हुनसक्छन् । तर राष्ट्रिय एकताको सन्दर्भमा सबै एकजुट हुनुपर्छ । को भन्दा को बढी राष्ट्रवादी हुने भन्ने अनैतिक र अराजक होडबाजीले आफ्नो देशको सार्वभौमसत्ता र सम्प्रभुता झन् कमजोर पार्छ । विचारभन्दा माथि देश हुन्छ । सरकारको पहिलो भूमिका निःसन्देह अहम् हुन्छ । सरकार छ ? स्थानीय प्रशासन छ, प्रदेश सरकार छ ? छैन भनौँ भने राज्यको भार तलबभत्ता कुर्सीका लागि लालायित मरिहत्ते गर्नेको ठेलमठेल लर्को छ । तर, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध अन्तर्राष्ट्रिय नियम कानुनको परिभाषामा अडान राष्ट्रियताप्रतिको जगेर्ना कठपुतली बनेको देख्दा दिक्क लाग्छ ।

कुन नेताले के भन्यो, सरकारले के ग¥यो भनेर कुर्लने बहकिने हामी जनता पनि उस्तै हौँ । अन्यायलाई अन्याय भन्नुपर्छ । संविधान मिच्ने अदालतको मानमर्दन गर्ने देशमा स्वतन्त्र न्यायको अपेक्षा गर्नै सकिँदैन । भारतीय प्रधानमन्त्रीले तुइन काट भनेको पनि होइनन् होलान् । भारतीय सीमा सुरक्षाबलका कथित जवानले त्यस्तो अमानवीय हर्कत गरे उनलाई कानुनी कारबाही किन गरेन ? यो गम्भीर प्रश्न हो । यसको जिम्मा भारत सरकारले लिनुपर्छ । आफ्ना कर्मचारीले गरेको गल्ती ढाकछोप किन ग¥यो ? नेपालमा राजनीतिक तरलता र अस्थिरताको कारण हो वा सरकारको शक्ति क्षीण भएकाले, महिनौं बितिसक्दा पनि सरकारले पूर्णता नपाएको भनेर हेपेको हो ?

नेपाल–भारतको सम्बन्ध विशिष्ट खालको छ । दुवै देशको सीमाना खुला छन् । दुवै देशका नागरिक सजिलोसँग आवतजावत गर्नसक्छन् तर पटक पटक भारतीय सीमामा नेपाली नागरिकले असह्य, अपमान, अभद्र व्यवहार, अमानवीय व्यवहार सहनु परेको र नचाइने झमेला गरी दुःख दिने गरेको जनगुनासो सुनिन्छ । नेपाली नागरिकलाई गिज्याउने समेत गरेको सर्वविदित छ । राज्य–राज्य बीचको सम्बन्ध पारस्परिक एकता समानतामा आधारित हुनुपर्छ । भूगोल अलग छन् । सीमाना छुट्टाछुट्टै छन् । भारत विशाल छ तर किन सानो देशमाथि दमन गर्छ ? अप्ठ्यारो छ भने सीमाना बन्द गरौँ । भिसाको व्यवस्था गरौँ । सिमानामा पर्खाल लगाऔँ । नागरिकलाई सास्ती दिने, मार्ने अभद्र र अमानवीय व्यावहार क्रियाकलाप कसैले नगरौँ । नेपालका प्रधानमन्त्रीले समकक्षी प्रधानमन्त्रीलाई खुलस्त आफ्ना कुरा राख्न सक्नुपर्यो । कूटनीति संयन्त्रबाट हुने कुरा कूटनीति तरिकाले हल गरौँ । राजनीतिक तवरबाट समाधान हुने समस्या राजनीतिक तवरले समाधान गरौँ । हैकमवादी, विस्तारवादी र कठपुतलीवादी प्रवृत्ति नेपाली जनतालाई अस्वीकार्य छ ।

आर्थिक– सामाजिक तौल कम ज्यादा हुन सक्छ । इमान जमान गौरव विरासत राष्ट्रियता स्वतन्त्र कहिल्यै कसैको कमजोर हुँदैन । सार्वभौमसत्ता सम्प्रभुता सबैलाई प्यारो लाग्छ । मित्र भनेको अप्ठ्यारो परेको समयमा बिनाशर्त सहयोग को गर्छ । ससर्त गरेको सहयोगमा मित्रता घुलेको हुँदैन । समय समयमा दुःख दिने मार्ने यातना दिने कुरा असह्य हो । मानवीय समवेदना मानव अधिकारको सवालमा बलियोले कमजोरलाई मारिहाल्न मिल्दैन । देशको सीमा रक्षा गर्ने नागरिकको जीउधनको रक्षा गर्नकै लागि राज्यको अवधारणा आएको हो । सिमानाको सुरक्षा गर्न नसक्ने र आफ्ना नागरिकको जीउधनको रक्षा गर्न नसक्ने सरकार राज्यमाथि तालुकदार मन्त्री, प्रशासन, सेना र प्रहरीमाथि प्रश्न खडा हुँदैन र ? राज्यको उद्देश्य नै राजनीति मानचित्रमा परेको आफ्नो भूभागको रक्षा र नागरिकको सुरक्षा अघोषित कर्तव्य हुन जान्छ । सरकारमा हुँदा एक जिम्मेवारी सरकार बाहिर हुने वित्तिकै अर्कै जिम्मेवारी हुनै सक्दैन । राष्ट्रिय जिम्मेवारी प्रचलित मान्यतामा आधारित राष्ट्रिय सङ्कल्प कहिल्यै तलमाथि हुन सक्दैन ।

नेपाली आकाशमा भारतीय हेलिकप्टर उडेको राज्यलाई बेलैमा किन थाहा भएन् ? अन्तर्राष्ट्रिय नियम उलङ्घन हुँदा सरकार कहाँ थियोे ? जब जनस्तरबाट विरोध हुन्छ, तस्बिरहरु  सामाजिक सञ्जाल र मिडियामा सार्वजनिक हुन्छन् अनि बल्ल कानेखुसी गर्ने नत्र लम्पसार पर्ने यो प्रवृत्ति आपत्तिजनक छ । सरकार सधैँ एकरूपता एकै नासको ३६५ दिन अनवरत तल्लीन हुनुपर्छ । पात्र परिवर्तन हुँदैमा राष्ट्रिय नीति आकाङ्क्षा राष्ट्रिय सिद्धान्त परिवर्तन हुँदैन । राष्ट्रिय स्वार्थ बाझिएको हुनुहुँदैन । त्यसैले विचारभन्दा ठूलो देश हुन्छ ।

दार्चुला घटनाबारे एमालेले के भन्छ, फलानो नेताले ट्विटर फेसबुकमा के लेख्यो वा ठूलो राष्ट्रवादी भनेर बहकिने तपाईं हामी राष्ट्रवादी छवि नाप्ने प्यारामिटर चाहिँ हो । एमाले जसपा, एस, माओवादी, राजमो र नेमकिपा आदिले के भने, सुस्ता, कालापानी बारेमा काँग्रेसको धारण, मधेसवादी दलको धारण बुझ्ने खोज्ने कुरा अत्यन्तै लज्जास्पद घृणित विचार हो । देशलाई अन्याय पर्दा देशको सार्वभौमसत्तामाथि आँच आउँदा आफ्ना नागरिक मारिँदा देशको सीमा मिचिँदा, देशको अस्मिता लुटिँदा विभक्त हुने राज्यको निरीहता झन् उदेकलाग्दो देखिन्छ । देशलाई सङ्कट पर्दा ठिक्कै भयो भन्ने मानसिकता गैरजिम्मेवार छ । पार्टीभन्दा ठूलो देश हुन्छ । देश भनेको भूगोल मात्रै होइन, जनता पनि हुन् ।

आफ्ना नागरिकको ज्यान गएको छ । विदेशी सुरक्षाकर्मीबाट आफ्नो नागरिकको बीभत्स अमानवीय तरिकाले हत्या हुँदा राजनीति श्रेय लिने, राष्ट्रवादी बन्न खोजेको सुन्दा वान्ता आउँछ ! नदी तर्न लाग्दा तुइनको डोरी चुडाई मार्ने जस्तो जघन्य अपराध सुन्न लायक छैन ।

एक्काइसौं शताब्दीमा पनि हामी नेपाली तुइन चढेर आफ्नो दैनिकी दिनचर्या चलाइरहेका छौँ । यी सर्वनाश भ्रष्ट राजनीति गर्ने गराउनेहरू नैतिकता छ कि छैन ? हिजो ओली प्रधानमन्त्री भएकै समयमा कञ्चनपुरमा गोविन्द गौतमको मारिएका होइनन् ? आज देउवा प्रधानमन्त्री भएको समय जयसिंह धामी मारिए । यो संयोग हो वा नियोजित भन्ने प्रश्न थप अनुसन्धानको विषय होला । यस्तो निर्मम तरिकाले हत्या हुँदा उनको लास माथि राजनीति गर्ने जयसिंह धामीले न्याय पाएको उनका परिवारलाई परेको शोक सान्त्वना क्षतिपूर्ति दिएको खै ? पैसाले मात्रै क्षतिपूर्ति पुग्दैन । दोषीलाई कडा कारबाही आइन्दा यस्ता अमानवीय निर्मम जघन्य घटना नहुने नगर्ने प्रतिबद्धता हुनुपर्छ कि पर्दैन ?

एसएसबीले तुइन काटेको तर्न लागेका जयसिंह महाकालीको भेलमा बेपत्ता भएको तुइन तराउने र उनका साथीहरू प्रत्यक्षदर्शी छन् । यो घटनाका बारेमा स्थानीय स्तरबाट भन्दा पनि दुवै देशका केन्द्रीय सरकारले पहल गरी दोषीलाई कडा सजाय र भविष्यमा यस्ता आपराधिक घटना नगर्ने नगराउने दुवै देशका प्रधानमन्त्रीले मातहतका निकायलाई निर्देश जारी गर्नुपर्छ । नियोजित प्रत्यायोजित भवितव्य मानवीय गल्तीले पनि हुन सक्छन् । यस्ता घटना हुन नदिने र भइहाले दुवै देशले स्वतन्त्र छानबिन गरी दोषीलाई कानुनी कार्वाही गर्नु राज्यको प्रमुख जिम्मेवारी र दायित्व हुन्छ ।  बलजफ्ती दोषीलाई उम्काउनु र घटना ढाकछोप गर्नु झन् ठूलो जघन्य अपराध ठहरिन्छ ।

राज्य किन कठोर र निरीह बन्छ ? कहिले नाकाबन्दी, कहिले कूटनीति दरार, कहिले सीमा स्तम्भ हराउने, सार्ने र गायब पारिन्छ । कहिले दसगजा क्षेत्रमा अन्तर्राष्ट्रिय सिमानासम्बन्धी नियम उल्लङ्घन गरी संरचना बनाउने कार्य भएका छन्, यसले डुबान हुने गर्छ । बर्सेनि करोडौँको धनमाल, खेतीपाती नोक्सान हुने गरेको छ । सहयोग गरेँ भन्दैमा यसरी हेप्नु, चेप्नु भएन । सहयोग गरेकै आडमा सार्वभौमसत्ता माथिको हवाला कदापि स्वीकार छैन्, हुँदैन । कुन पार्टी कुन दलको दलालले आफ्नो देशको अस्मिता मेटाउने सन्धि सम्झौता ग¥यो, राष्ट्रघात ग¥यो, त्यो असमानता गलत हो, अन्याय हो । त्यसरी गरेको असमान सम्झौता दुवै देशको दीर्घकालीन हितमा हुँदैन । देशको शिर र स्वाभिमान निहुरिने गरी गरिएको सम्झौता सार्वभौम स्वतन्त्र देशभक्त नेपाली नागरिकलाई मात्रै होइन भारतीय नागरिकलाई पनि सह्य स्वीकार्य हुन सक्दैन । हेप्ने चेप्ने धम्क्याउने दबाउने आणविक शक्तिको धाक, परमाणु हतियारको होड, अहङ्कार दम्भ अमेरिकाको अफगानिस्तानमाथि कस्तो निरीहता आइपर्यो  ?

आफ्नो मात्रै प्राण, स्वतन्त्रता स्वाधीनता, अरूको प्राण नै होइन देश नै होइन भन्ने मानसिकता पनि विस्तारवादी साम्राज्यवाद सोचाइ हो । जो स्वयं समयको त्यो इतिहासकै खराब र खरानी घस्ने मानसिक उपज हो भनेर लेख्न सकिन्छ । कोभिड १९ को महामारीको मार सबैभन्दा बढी शक्ति सम्पन्न राष्ट्रले बेहोर्नु प¥यो । सबभन्दा पहिलो नम्बरमा अमेरिका, रुस, बेलायत, भारत, ब्राजिल, फ्रान्स र इटली आदि देश चपेटामा परे । ठूलो जीउधनको क्षति बेहोर्नु प¥यो । पहिलो, दोस्रो विश्व शीतयुद्ध सबभन्दा बढी क्षति तिनीहरूलाई नै भएको छ । जसले अर्काको अस्तित्व स्वीकार गर्न सक्दैनन् तिनीहरू विध्वंसकारी हुन् । अन्तर्राष्ट्रिय आतङ्कवाद जन्माउने गृहयुद्धको  चपेटामा पार्ने त्यो देशको अस्मिता लुट्ने प्राकृतिक स्रोत, खनिज पदार्थ, खानी मुहान कब्जा गर्ने जसले आज विश्व जलवायुको चपेटामा पर्दा ठूल्ठूला महामारीको सामना गर्नुपरेको जगजाहेर छ ।

अहिले विश्वको कुनै पनि देशको कुनामा भएको घटना लुकाएर लुक्न सक्दैन । यो आधुनिक वैज्ञानिक सञ्चारको युग हो । यो युग मानिसलाई मारेर विजय हासिल गर्ने युग होइन । बरु कसरी मानिसलाई अकालबाट बचाउन सकिन्छ भन्ने युग हो । मार्ने त हत्यारा हो । निशस्त्र, निहत्था नागरिक मारिनु विजय होइन, महाअपराध ठहरिन्छ ।

सचेत प्राणी भएर जन्मिसकेपछि मर्ने काट्ने हत्याहिंसा गर्ने कुरा क्रान्ति विजय प्राप्त पनि होइन । त्यो हत्या हो, अपराध हो । तुइन आफैँमा जोखिमपूर्ण छ । चुँडिएर खस्न लागेको मानिसलाई बचाउने पो महान् मानव र देवतुल्य मानिन्छ । धकेल्ने, हुत्याउने, तुइनको डोरी काटेर नदीमा खसाल्ने महाअपराधी हो । यसको संरक्षण अपराध ढाकछोप गर्ने व्यक्ति संस्था राष्ट्र देश कसरी बलियो मान्न सकिन्छ र ? यो कायरतापूर्ण जघन्य अपराध हो । देशलाई बदनाम गराउने यस्ता अराजक तत्त्वको कुनै पनि राज्यले संरक्षण गर्छ भने त्यो भन्दा गएगुज्रेको अरू के हुन्छ र ?

टीकापुर–१, कैलाली

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतबहादुर विष्ट
भरतबहादुर विष्ट
लेखकबाट थप