बालबालिकाको सिक्ने र सिकाउने विधि बदलौँ
कोभिड महामारीका कारण बन्द भएका विद्यालयहरू झण्डै डेढ वर्षपछि खुल्दैछन् । यद्यपि सरकारले महामारीका कारण बन्द भएका पर्यटन उद्योगहरू, सिनेमाघर लगायत अन्य व्यावसायिक क्षेहरू खोल्न दिने निर्णय गरे पनि विद्यालयका हकमा भने औपचारिक निर्णय गरेको छैन । महामारीका बीचमा सञ्चालनमा ल्याइएको वैकल्पिक सिकाइ विधि प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशत बालबालिका सिकाइ पहुँचबाट बाहिर रहे ।
यो परिवेशका बीच केन्द्रीय कोभिड सङ्कट व्यवस्थापन समितिले कोरानाको अवस्था हेरी स्थानीय तहको समन्वयमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सकिने बताएको छ । शिक्षा मन्त्रालयले विद्यालय सञ्चालन कार्यढाँचा निर्माण गर्ने बताए पनि अझै निर्माण गरेकोे छैन । केन्द्रको निर्देशनअनुसार जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिहरूले कतिपय स्थानीय तहहरूलाई विद्यालय सञ्चालन गर्न अनुमति दिएका छन् भने कतिपय स्थानीय तहहरू पर्ख र हेरको अवस्थामा देखिन्छन् । तर पनि भाद्र २० गतेदेखि देशका अधिकांश सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन हुने देखिन्छ ।
डेढ वर्ष विद्यालयहरू विद्यालय सञ्चालनमा आउन नसक्दा बालबालिकाको सिकाइ उपलब्धिमा अपूरणीय क्षति भयो । त्योसँगै लामो बन्दाबन्दीले बालबालिकाकोे शारीरिक, मानसिक र मनोवैज्ञानिक क्षमतासमेत प्रभावित भयोे । सिकाइ उपलब्धि मापन गर्ने संयन्त्रहरू निष्क्रिय बनाइए । विद्यालय सञ्चालनमा आएपछि अभिभावक र विद्यार्थीहरूमा खुसी छाएको छ ।
विद्यालयका सामु थुप्रै चुनौती र प्रश्नहरू सोझिएका छन् । सिकाइ कसरी प्रभावकारी बनाउने ? बन्दाबन्दीले पु¥याएको क्षतिको परिपूरण कसरी गर्नेे ? सरोकारवालाहरूलाई कसरी जिम्मेवार बनाउने ? महामारीको अवधिमा अभ्यासमा ल्याइएका वैकल्पिक सिकाइ सहजीकरणका माध्यम (भर्चुयल तथा अनलाइन) बाट प्राप्त अनुभवहरूलाई पुँजीकृत गरी भौतिक उपस्थितिमा हुने पठन–पाठनमा कसरी निरन्तरता दिने र एकीकृत गर्ने ? सिक्ने र सिकाउने तरिकामा आएको परिवर्तनलाई शिक्षण सिकाइमा कसरी लागू गर्ने ? आदि ।
नेपालमा शिक्षण सिकाइ सहजीकरणका सन्दर्भमा प्रयोगमा ल्याएका सिकाइ प्रविधिहरू अनुपयोगी र असान्दर्भिक बन्दै गएका थिए । शिक्षण सिकाइलाई प्रभावकारी बनाउने वैकल्पिक विधि र प्रविधिहरूको विषयमा लामो समयदेखि बहसहरू चल्दै आएका थिए । कोभिडका कारण विद्यालयहरू बन्द भएपछि स्वाभाविक रूपले ती बहसले सार्थकता पाउन सक्ने अवस्था रहेन । बन्दाबन्दीको असहजताका बीचमा सिकाइ सहजीकरण गर्ने अभिप्रायले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी ग¥यो । यसले सिकाइ सहजीकरणमा प्रयोगमा ल्याइएका वैकल्पिक विधिलाई कानुनी मान्यता दियो । तर पनि वैकल्पिक विधिका आधारमा सञ्चालन भएको शिक्षण सिकाइ प्रभावकारी हुन सकेन । झण्डै ८० प्रतिशतभन्दा बढी बालबालिमा वैकल्पिक शिक्षाको पहुँच पुग्न सकेन । तर पनि नेपालको सन्दर्भमा प्रयोगमा ल्याइएको वैकल्पिक विधि र प्रविधि सिकाइका लागि उपयोगी नै साबित भयो । यसले केही नवीतम अनुभव र अभ्यास छाडेका छ ।
पश्चिमा देशहरूमा विद्यालय सिकाइका सन्दर्भमा पहिलेदेखि नै केही नवीतम मान्यता र धारणा विकसित हुँदै आएका थिए, छन् । पश्चिमा शिक्षा दार्शनिकहरूले के मान्यता राख्दै आएका छन् भने स्कुल सिक्नका लागि हो, बाँकी दुनियाँ जिउनका लागि हो । सिक्नु र जिन्दगी जिउनु अलग र बेग्लाबेग्लै कुरा हुन् । सिकाइका सन्दर्भमा पनि हाम्रा गलत मान्यता छन् । हामी बालबालिकालाई स्वयं सिक्ने कुरामा विश्वास गर्दैनौँ, ऊ स्वयं सिक्नका लागि लायक छैन भन्छौँ । यो धारणा गलत हो ।
हामी बालबालिका भीरु, आज्ञाकारी, डर छेरुवा, कायर भेडा जस्ता बनाउन चाहान्छौँ कि मुक्त स्वतन्त्र, आत्मविश्वासयुक्त मानिस ? हामीलाई भेडा चाहिएको हो भने हाम्रा स्कुलहरूको वर्तमान अवस्था त्यसका लागि एकदमै उपयुक्त छ । होइन हामीलाई मुक्त स्वतन्त्र आत्मविश्वासयुक्त र सिर्जनशील मानिस चाहिएको हो भने हामीले केही ठूला परिवर्तन गर्नुपर्छ भन्ने मान्यता पश्चिमा देशका शिक्षाविद्हरूले धेरै पहिलेदेखि राख्दै आएकोे देखिन्छ ।
पुस्तकीय ज्ञान र सिकाइका सन्दर्भमा पनि पश्चिमा देशका मान्यताहरू हाम्राभन्दा फरक छन् । शिक्षाविद् मार्क टेवनको विचारमा बिरालोलाई एकपल्ट तातो तावामा बसाइदिने हो भने त्यसपछि ऊ तावादेखि भाग्छ । यो बिरालोको सन्दर्भ पनि सही हो र विद्यार्थीको हकमा पनि । बालबालिकालाई ताता पुस्तकमा बसाइयो भने पुस्तकका कारण तिनले अपमान र दुःख झल्नुप¥यो भने उनीहरूले पुस्तकलाई टाढैबाट नमस्कार गर्ने निर्णय गर्छन् । स्कुल र कक्षाहरूमा वास्तवमा नचाहिने कुरामै बढी ध्यान दिइन्छ, बच्चाको रुचि, क्षमता र सिर्जनात्मकताले त्यहाँ पटकै महत्त्व पाउँदैनन् । विद्यालयहरूले शिक्षालयको काम गरेका छैनन्, जेलको काम गरिरहेका छन् । यत्रतत्र स्कुल कलेजको बिगबिगी छ । जसलाई पढाइको कारखानामा परिणत गरिएको छ । तिनले केटाकेटीलाई बारम्बार दबाबमा राख्छन् । विद्यार्थीहरूको वृद्धि, चरित्र र क्षमताको समग्र विकास गर्नेतिर लाग्नुको सट्टा यी महानुभाव आफ्नो हितका निम्ति उनीहरूलाई अहङ्कारप्रेरित प्रतिस्पर्धामा होमिरहेका छन् । यसको उद्देश्य स्वयं धन र प्रतिष्ठा आर्जन गर्नु हो । शिक्षण संस्थाले विद्यार्थीहरूको हितमा काम गर्दछन् भन्ने कुरा आज सैद्धान्तिक गफमा सीमित भएको छ । विद्यार्थीको एउटा काम हुनेछ बढी भन्दा बढी अङ्क ल्याएर यी शिक्षण संस्थाहरूलाई गौरवान्वित गरिदिनु । सार्वजनिक र निजी शिक्षालयको सन्दर्भमा व्यक्त पश्चिमा शिक्षाविद्हरूको उपरोक्त धारणा नेपालको सन्दर्भमा हुबहु मेल खान्छ ।
गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय सिकाइ पहिलो सर्त हो । गुणस्तरीय सिकाइका लागि सिकाइमा सहभागिता, अन्तत्र्रिmया र सिकाइमा लगानी, सोच्ने समय र अभ्यास आवश्यक सर्तहरू हुन् । शान्त रूपमा हात बाँधेर बस्ने विद्यार्थी होइन, प्रश्न गर्ने र छलफलमा सहभागी हुने विद्यार्थीले नै राम्ररी सिक्न सक्छन् । यसका लागि विद्यार्थीले आफ्ना साथी र शिक्षकहरूसँग राम्रोसँग अन्तक्र्रिया गर्ने वातावरण निर्माण गर्ने काम विद्यालयको हो । विद्यार्थीको सिर्जनशीलता, संज्ञान, प्राज्ञिक सीप, सोच्ने क्षमता, लेखाइ पढाइ तथा सामाजिक सीपहरूको विकास नगरेको शिक्षाले सुगा विद्यार्थी मात्र उत्पादन गर्छ ।
कोभिड महामारीले चौतर्फी क्षति पु¥यायो । अन्य क्षेत्रको तुलनामा शिक्षामा अझ बढी क्षति पुग्यो । विद्यालय शिक्षा १०औँ वर्षपछि परेको शिक्षा सरोकारवालाहरूको अनुमान छ । विद्यालय शिक्षामा परेको यो तहको क्षतिको परिपूरण एउटा व्यक्ति वा निकायबाट मात्र सम्भव देखिँदैन । सम्बद्ध सबै पक्षको ध्यान जान जरुरी छ । त्यसमा पनि स्थानीय तह अझ बढी जिम्मेवार र जवाफदेही हुन जरुरी छ । किनकि संविधानले नै माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई दिएको छ ।
बालबालिकालाई स्वयं सिक्ने वातावरण निर्माण गरौँ । सिक्नका लागि ऊ स्वयं लायक छ भन्ने मान्यता राखौँ । बालबालिकालाई ताता पुस्तकमा बसाइँदै आएको छ, पुस्तकका कारण अपमान र दुःख झल्नुपर्ने परिस्थिति बन्द गरौँ । अमेरिकन शिक्षाविद् मार्क टेवनले भने जस्तो बालबालिकाको दिमागमा पुस्तकलाई टाढैबाट नमस्कार गर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरौं ।
पुस्तकीय ज्ञानको अलवा दुनियाँमा जिउने मार्गमा आइपर्ने प्रतिकूलतासँग जुध्ने कला सिकाऔँ । विद्यालय र कक्षाहरूमा चाहिने कुरामा मात्र बालबालिकालाई आकर्षित गरौँ । बालबालिकाको रुचि, क्षमता र सिर्जनात्मक क्षमता वृद्धि गर्ने विधि अवलम्बन गरौँ । शिक्षण सिकाइमा बालमनोविज्ञानलाई उच्च प्राथमिकता दिऔँ । बालबालिका भीरु, आज्ञाकारी, डर छेरुवा, कायर भेडा जस्ता हुने भन्ने परम्परागत शैक्षिक मान्यता अन्त्य गरौँ । मुक्त स्वतन्त्र, आत्मविश्वासयुक्त स्वाभिमानी, आत्मनिर्भर र सभ्य नागरिक निर्माणका लागि सिक्ने, सिकाउने विधि बदलौँ ।