शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कृष्णाले मामा गोविन्दासँग कपिल शर्मा शोमा प्रस्तुति दिन अस्वीकार गरे, भने- ‘म कुनै बखेडा निकाल्न चाहन्नँ’

आइतबार, २० भदौ २०७८, १४ : ०७
आइतबार, २० भदौ २०७८

मामा–भाञ्जाको जोडी – गोविन्दा र कृष्ण अभिषेकबीचको झगडा छिट्टै मिल्ला जस्तो छैन । यी दुईबीच झगडा भएको पनि तीन वर्ष बितिसकेको छ र उनीहरुले अहिलेसम्म आफ्नो मतभेद सुल्झाएका छैनन् । हालै कृष्णाले ‘द कपिल शर्मा शो’ को आउँदो श्रृङ्खलाको छायांकन गर्न अस्वीकार गरेका छन्, जसमा गोविन्दा र उनकी श्रीमती सुनिता आहूजा सेलिब्रेटी गेस्टको रुपमा समावेश हुँदैछन् । कृष्णाले आफ्ना मामा समावेश हुन लागेको श्रृङ्खलामा प्रस्तुति दिन अस्विकार गरेको यो दोस्रो घटना हो । अघिल्लो वर्ष नोभेम्बरमा गोविन्दा र सुनिता कमेडी शोमा सरिक हुँदा पनि कृष्णाले प्रस्तुति दिएका थिएनन् ।

यसबारे कृष्णाले भने, ‘पछिल्लो १५ दिनदेखि म आफ्नो फिल्म र कपिल शर्मा शोका लागि रायपुर र मुम्बईमा छु । म सधैं शोका लागि मिति निश्चित गर्ने गर्छु ।  तर जब उहाँहरु (गोविन्दा र सुनिता) गेष्टको रुपमा आउँदै हुनुहुन्छ भनेर थाहा भयो तब म उक्त कार्यक्रममा आउन चाहन्नथेँ । त्यसैले मैले मिति पनि निश्चित गरेको छैन । मलाई लाग्छ कि हामी दुवैजना एउटै स्टेज सेयर गर्न चाहँदैनौँ ।’ कृष्णाले दुईबीचको दुरी समाप्त भइनसकेको बताए ।​

कृष्णाले थपे, ‘यो मेरो तर्फबाट पनि हुनेछ र उनको तर्फबाट पनि हुनेछ । यो एउटा कमेडी शो हो थाहा छैन, कुन कुराले ठूलो रुप लेला । त्यसपछि यस्तो भन्यो, उस्तो भन्यो भन्ने हुन्छ । म कुनै बखेडा निम्त्याउन चाहन्नँ । मलाई विश्वास छ कि जब गोविन्दा जी शोमा आउनुहुन्छ तब दर्शक मेरो र उनीबारे कटाक्ष सुन्न चाहनुहुन्छ त्यसैले मैले प्रस्तुती नै नदिँदा राम्रो हुन्छ । कलाकार निकै भावुक हुन्छन् । उनीहरुले काम गर्नुपर्छ तर जहाँ मानिसले एक–अर्कालाई हेर्न नै चाहँदैनन् भने, त्यस्तोमा काम गर्नुको के मज्जा । हामीबीचको दुरी मेटिइसकेको छैन, मतभेद सुल्झिएको छैन ।’

कृष्णा कपिल–गोविन्दाबीचको सम्बन्ध खराब भएको हेर्न चाहँदैनन्

कृष्णाले गोविन्दालाई आमन्त्रण गर्ने निर्णयमा कपिल शर्मा र क्रिएटिभ टिमलाई कहिल्यै प्रश्न नगरेको बताए । उनले यसबारे भने, ‘टिमले गोविन्दासँग आफ्नो सम्बन्ध किन खराब गर्ने ? यो पारिवारिक कुरा हो...आन्तरिक कुरा हो । कपिलले उनलाई असाध्यै माया गर्छन् र उनीसँग निकै राम्रो सम्बन्ध स्थापित गरेका छन् । म चाहन्नँ कि कपिलले उनीसँग आफ्नो इक्वेशन खराब गरुन् । ’

गोविन्दाले यो मुद्दामा कुरा गरेनन्

गोविन्दाले यो मुद्दामा अहिलेसम्म पनि कुनै जवाफ दिएका छैनन् । स्मरण रहोस्, पछिल्लो थुप्रै वर्षदेखि कृष्णा अभिषेक र गोबिन्दाबीच विवादको खबर चर्चामा रहेका छन् । जब २०१८ मा कृष्णाकी श्रीमती कश्मिरा शाहले ‘केही मानिसहरु पैसाका लागि नाच्छन्’ भनेर ट्वीट गरेपछि सुनिता अहूजा (गोविन्दाकी श्रीमती) ले यो ट्वीट गोविन्दाविरुद्ध गरिएको दाबी गरिन् । त्यसपछि गोबिन्दा र सुनिताले कृष्णा र कश्मिरासँग सबै सम्बन्ध तोडे । सन् २०१९ मा गोविन्दा, सुनिता र उनकी छोरी टिना कपिल शर्मा शो मा आएका थिए, त्यतिबेला पनि कृष्णाले शोमा प्रस्तुती दिएका थिएनन् किनभने सुनिता उनीसँग स्टेज सेयर गर्न चाहाँदैनथिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप