काँग्रेस महाधिवेशन : ‘सेकेन्ड बेस्ट थ्यौरी’ को बहस
नेपाली काँग्रेसको १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा सभापतिका उम्मेदवारबीच ‘सेकेन्ड बेस्ट थ्यौरी’ अर्थात ‘दोस्रो उत्तम सिद्धान्त’ बारे बहस शुरु भएको छ । बीपी कोइरालाको हवाला दिँदै यो सिद्धान्तको चर्चा सभापतिका दाबेदार विमलेन्द्र निधिले शुरु गरेका छन् ।
पहिलो रोजाइमा परेको नेता असफल भयो भने दोस्रो विकल्प रोज्ने यो ‘सेकेन्ड बेस्ट थ्यौरी’ काँग्रेसको सभापति छनोटमा मात्र नभएर जीवनका हरेक क्षेत्रमा लागू हुने निधिले आफू निकटस्थहरुसँग बताउने गरेका छन् । र, यही ‘थ्यौरी’ कै आधारमा आफूले महाधिवेशनबाट सभापतिमा जीत हासिल गर्नेसमेत उनले आफ्ना निकट नेताहरुलाई बताएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) मा कार्यरत रहँदा काँग्रेस नेता बीपी कोइरालाले आफूलाई ‘सेकेन्ड च्वाइस’ का बारेमा कापीमा कोरेर प्रशिक्षण दिएको निधिले बताउने गरेका छन् । अब काँग्रेसको आगामी चौधौं महाधिवेशनमा सभापतिको चयन यही ‘सेकेन्ड च्वाइस’ अनुसार हुने उनको विश्लेषण छ ।
निधिले आफू निकटस्थहरुलाई बताएअनुसार बीपी कोइरालाले नेविसंघको तेस्रो अध्यक्ष तय गर्दा ‘सेकेन्ड बेस्ट थ्यौरी’ प्रयोग गरेका थिए । त्यसबेला नेविसंघको जनकपुर अधिवेशनमा निधिलाई अध्यक्ष बनाउन बीपीले विशेषाधिकार ‘भिटो’ लगाएका थिए ।
काँग्रेस नेताहरूका अनुसार त्यसबेला ६० प्रतिशत प्रतिनिधिहरू बेनुपराज प्रसाईलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा थिए । तर, बीपीले निधिलाई नेविसंघको केन्द्रीय अध्यक्ष बनाए । काँग्रेस संस्थापक मध्येका एक महेन्द्रनारायणका निधिका छोरालाई बीपीले ह्वीप लगाएर नेविसंघको अध्यक्ष बनाएको कुराले त्यसबेला पार्टीभित्र ठूलै चर्चा पाएको थियो ।
अहिले संयोग के परेको छ भने त्यसरी नेविसंघको अध्यक्षमा देउवालाई विस्थापित गरेका निधि करिब ४२ वर्षपछि काँग्रेस सभापतिबाट देउवालाई विस्थापन गर्ने रणनीतिमा लागेका छन् । तर, अहिले निधिका साथमा बीपी कोइराला छैनन्, केबल बीपीले सिकाएको ‘सेकेन्ड बेस्ट थ्यौरी’ मात्रै छ । बीपीले सिकाएको सिद्धान्त अख्तियार गरेर निधि देउवालाई सभापतिबाट विस्थापन गर्ने हिसाब–किताबमा जुटेका छन् ।
के हो ‘सेकेन्ड बेस्ट थ्यौरी’ ?
बीपी कोइरालाले विमलेन्द्र निधिलाई सिकाएको भनिएको ‘सेकेन्ड बेस्ट थ्यौरी’ को प्रतिपादन सन् १९५६ तिर भएको हो । यो सिद्धान्तका प्रतिपादकहरुमध्ये एक क्यानेडियन इतिहासकार रिचर्ड लिप्सी हुन् । त्यस्तै साइमन फ्रेजर विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर एमेरिटस र जोन बेट्स कोलम्बिया विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसर रहेका अष्ट्रेलियन गणितज्ञ एवं अर्थशास्त्री केल्विन ल्यान्कास्टरलाई पनि ‘सेकेन्ड बेस्ट थ्यौरी’ का प्रतिपादक मान्ने गरिन्छ ।
‘सेकेन्ड बेस्ट थ्यौरी’, जसलाई ‘दोस्रो उत्कृष्ट सिद्धान्त’ भनिन्छ । यो राजनीतिमा भन्दा पनि अर्थशास्त्रमा प्रयोग गरिने सिद्धान्त हो । यदि पहिलो रोजाइमा रहेको आर्थिक लक्षले सन्तुष्टि दिन सक्दैन वा हानिकारक परिणाम दिन्छ भन्ने लागेमा आर्थिक आवश्यकता र लक्ष पूरा गर्न दोस्रो उत्तम विकल्प रोज्नुपर्दछ भन्ने यो सिद्धान्तको मर्म हो ।
काँग्रेसमा ‘सेकेन्ड बेस्ट थ्यौरी’ को प्रयोग
नेपाली काँग्रेसमा सभापतिको दाबी गरिरहेका पहिलो पुस्ताका नेताहरुमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल छन् । यसअर्थमा देउवा र पौडेल दुबै गुटका ‘फस्ट च्वाइस’ अर्थात पहिलो रोजाइ हुन् ।
देउवा समूहबाट पहिलो रोजाइका नेता शेरबहादुर आफैं चुनाव लडे भने रामचन्द्र पौडेल पक्षले उनलाई मत नदिने पक्का छ । किनभने, शेरबहादुरलाई जसरी पनि हराउने र सभापति बन्नबाट रोक्ने पौडेल पक्षको रणनीति हो । यो अवस्थामा संस्थापन इत्तर पक्षले देउवालाई जसरी पनि सभापतिबाट विस्थापित गर्न चाहेको हो भने विमलेन्द्रलाई रोज्दा देउवालाई हराउन सकिने निधिको तर्क रहेको स्रोतले बतायो ।
स्रोतले रातोपाटीसँग भन्यो, ‘विमलेन्द्र निधिलाई सभापतिमा पौडेल पक्षले सघाउने हो भने देउवा समूहको आधाउधि भोट निधिले तान्छन्, देउवाको भोट पनि घट्छ र निधिलाई पौडेल पक्षको भोट थपिँदा शेरबहादुरलाई सजिलै हराउन सकिन्छ ।’
यही तर्कका आधारमा निधि आफूलाई सघाउन र देउवालाई विस्थापन गर्न पौडेल पक्षका नेताहरुसँग लविङ थालेको काँग्रेस नेताहरु बताउँछन् ।
विमलेन्द्रसँग नजिकिएका शेरबहादुर देउवा समूहकै कतिपय नेताहरुको थप तर्क के छ भने पहिलो रोजाइका शेरबहादुर देउवाले जित्ने स्थिति आएन भने विमलेन्द्र निधिलाई छाडिदिँदा स्वयं देउवालाई पनि फाइदा हुनेछ । किनभने, त्यो स्थितिमा काँग्रेसको नेतृत्व पौडेल पक्षमा जाने छैन र विगतमा आफ्नै समूहमा रहेका निधिसँगै रहने छ र शेरबहादुर देउवाका लागि पनि यो एउटा ‘सेकेन्ड बेस्ट अप्सन’ हुन जानेछ । उता पौडेल पक्षले पनि शेरबहादुर देउवालाई हटाएको महसुस गर्नेछ र दुबै समूहमा ‘विन–विन’को अवस्था आउनेछ ।
तर, नेपाली काँग्रेसमा ‘सेकेन्ड बेस्ट थ्यौरी’ विमलेन्द्र निधिको हकमा मात्र लागू हुने विषय होइन । संस्थापन पक्षबाटै शेरबहादुर देउवाको विकल्प खोजिरहेका निधि र गोपालमान श्रेष्ठले पनि ‘फस्ट बेस’ को हो र ‘सेकेन्ड बेस्ट’ को हो भनेर विकल्प खोज्नुपर्ने अवस्था आउन सक्छ ।
जस्तै– शेरबहादुर देउवाले साथ नदिएको अवस्थामा विमलेन्द्र निधिले एक्लै लडेर सभापतिको चुनाव जित्ने अवस्था छैन । उनलाई देउवाले साथ दिएनन् र संस्थापन इतरले पनि आफ्नै ‘च्वाइस’ को उम्मेदवार खडा गर्यो भने निधिले के गर्लान् ? सभापतिमा उठेर स्थापित भइयो भनी चित्त बुझाएर बस्ने कि ?
नेपाली काँग्रेसमा देउवाको विकल्प खोज्नैपर्छ भन्ने लागेकै हो भने निधिले आफ्नो नाममा सहमति जुटेन भने ‘सेकेन्ड बेस्ट’ खोज्नुपर्ने हुन्छ । त्योबेला उनले शेरबहादुर देउवा, रामचन्द्र पौडेल वा अर्को ‘सेकेन्ड बेस्ट’ नेता खोज्नुपर्ने हुन्छ ।
त्यस्तै, रामचन्द्र पौडेलले आफ्नो पक्षबाट साझा उम्मेदवार उठाउने दाबी गरेका छन् । तर, ‘सेकेन्ड बेस्ट थ्यौरी’का आधारमा विश्लेषण गर्ने हो भने पौडेलको समूहबाट रामचन्द्र पौडेल ‘फस्ट च्वाइस’ हुन् भने शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह आदि नेताहरु ‘सेकेन्ड च्वाइस’ हुन् ।
सभापतिमा रामचन्द्र पौडेललाई कुनै हालतमा भोट दिन नचाहने देउवा पक्षका प्रतिनिधिहरुले पौडेल समूहकै अर्को नेतालाई भोट हाल्न सक्छन् भने महाधिवेशनमा रामचन्द्र पौडेलले पनि ‘सेकेन्ड बेस्ट थ्यौरी’ अपनाउन सक्छन् । त्यसो भएमा आफूले नजिते पनि पौडेलले आफ्नो समूहको कोही नेतालाई ‘सेकेन्ड बेस्ट’ मानेर चित्त बुझाउनुपर्ने हुन सक्छ ।
तर, विमलेन्द्रले जस्तै देउवा पक्षको समेत भोट काट्न सक्ने पौडेल पक्षको नेता को हो त ? प्रकाशमान ? शशांक ? शेखर ? सुजाता ? वा कल्याण गुरुङ ? अथवा तेस्रो धारका कृष्णप्रसाद सिटौला पो ‘सेकेन्ड बेस्ट’ बन्न सक्छन् कि ? यसबारे रामचन्द्र पौडेल पक्षले विश्लेषण गरेको देखिँदैन । बरु विमलेन्द्रले शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेको र आफ्नो पक्षबाट साझा उम्मेदवार उठाएको खण्डमा आफूले नै देउवालाई हराउन सक्ने रामचन्द्र पौडेलको बुझाइ देखिन्छ ।
को बन्ला देउवाको प्रतिस्पर्धी ?
नेपाली १३ औं महाधिवेशनमा पहिलो र दोस्रो प्रतिस्पर्धी को भन्ने पहिले नै अनुमान लगाउन सकिने अवस्था थियो । तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीचको प्रतिस्पर्धामा पहिलो चरणमा पूर्वानुमान अनुसार नै देउवा पहिलो, पौडेल दोस्रो र सिटौला तेस्रो बनेका थिए । र, दोस्रो चरणमा देउवाले पौडेललाई फराकिलो मतान्तरले हराएका थिए ।
१४ औं महाधिवेशनमा पनि ‘फस्ट राउण्ड’को मतदानमा देउवा नै पहिलो हुने काँग्रेसका धेरै नेताहरुको दाबी छ । तर, सभापतिका दाबेदारहरु धेरै भएकाले आशन्न महाधिवेशनमा पहिलो चरणको मतदान हुँदा दोस्रो स्थान कसले हासिल गर्दा भन्ने अनुमान लगाउन गाह्रो छ । अहिले दाबी गरिरहेका सबैजनाले चुनावमा भाग लिए भने दोस्रो स्थानका लागि ठूलै रस्साकस्सी हुने देखिन्छ । संस्थापन र इत्तर पक्षमा बहु उम्मेदवार बनेको परिस्थितिमा दोस्रो मत कसले प्राप्त गर्न भन्न कठिन छ ।
भावी सभापतिका लागि करिब एक दर्जन नेता आन्तरिक गृहकार्य गरिरहेका छन् । काँग्रेस नेताहरुका अनुसार १४ औं महाधिवेशनमा कम्तिमा ४–५ जना सभापतिको दौडमा सामेल हुने करिब निश्चित छ ।
तत्कालीन संस्थापन पक्षमा सिटौलाले विद्रोह गर्दा पौडेलले देउवासँग ५ सय २६ मतान्तरले पराजय भोग्नुपरेको थियो । यतिबेला संस्थापन इत्तर समूहबाटै पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाद्वारा सभापतिको सशक्त दाबी छ । सिटौला फेरि पनि सभापति लड्ने सुरमा छन् । यता देउवालाई पनि उपसभापति विमलेन्द्र निधि र पूर्व उपसभापति गोपालमान श्रेष्ठले चुनौती दिएको अवस्था छ ।
१४ औं महाधिवेशनमा पहिलो चरणको मतदानमा जसले दोस्रो स्थान हासिल गर्छ, त्यसैले शेरबहादुर देउवासँग दोस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ । त्योबेला पराजित पक्षले देउवाको जीतलाई रोक्ने हो भने ‘सेकेन्ड बेस्ट थ्यौरी’ प्रयोग गर्नुपर्ने हुन सक्छ ।
विमलेन्द्रका कारण देउवाको गुटगत संरचनामा खासै प्रभाव नपारेको विश्लेषणसहित चार जनासम्म उम्मेदवार हुँदा पनि देउवालाई पहिलो हुनबाट रोक्ने नसकिने काँग्रेसमा बुझाइ छ । यस्तो अवस्थामा निधि कसरी कार्यकर्ताको ‘सेकेन्ड च्वाइस’ बन्लान् भन्ने प्रश्न जन्मन्छ । निधि पहिलो चरणमा दोस्रो बने मात्र त्यो सम्भव छ ।
यदि विमलेन्द्रले आफूलाई ‘सेकेन्ड च्वाइस’ बनाउने हो भने महाधिवेशनको प्रथम दौडमा दोस्रो स्थान प्राप्त गर्नुपर्ने चुनौतीको पहाड उनीसामु खडा छ । वैचारिकरुपमा मतो मिल्ने सिटौलालाई उनले समेटे र पौडेल समूहमा दुईजना उम्मेदवार उठे भने निधिले दोस्रो राउन्डमा प्रवेश गर्न सक्ने अवस्था आउन पनि सक्छ ।
काँग्रेसको १३ औँमा भन्दा १४ औँ महाधिवेशनमा बढी प्रतिनिधिहरु सहभागी बढ्ने पक्का छ । एउटा निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि सोझै आउनेछन् । त्यसका अतिरिक्त केन्द्रीय पदाधिकारी र सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । यस्तै सङ्घीय सांसद र प्रदेश सांसद तथा उम्मेदवार पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने काँग्रेसको विधानमा उल्लेख छ । विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिको प्रतिनिधित्व रहन्छ ।
यो सबै जोडदा १४ औँ महाधिवेशनमा ५ हजार प्रतिनिधि मतदाताका रूपमा आउने अवस्था देखिन्छ । पहिलो चरणमा सभापतिमा निर्वाचित हुन २५ सय बढी मत ल्याउनुपर्ने चुनौती छ ।
गुटगत ताकतमा देउवाले पहिलो चरणमा १५ सय मत कटाउन सक्ने काँग्रेसभित्र अनुमान छ । बाँकी २–३ जना उम्मेदवारले ८–९ सयको वरिपरि मत ल्याएमा जसले बढी मत प्राप्त गर्छ, उसैको हकमा ‘सेकेन्ड बेस्ट थ्यौरी’ लागु हुनेछ । यसमा पौडेल र सिटौलाको आंशिक परीक्षण भइसकेको छ भने बाँकी विमलेन्द्र, शशांक, प्रकाशमान र शेखरमध्ये जसले दोस्रो स्थान हासिल गर्छ, उसैमा ‘सेकेन्ड च्वाइस थ्यौरी’ लागु हुने प्रष्ट छ ।
दोस्रो पुस्ताबीच ‘सेकेन्ड च्वाइस’ मा छलफल
सभापतिको उम्मेदवार बन्ने निधो गरेपछि विमलेन्द्र निधिले कृष्णप्रसाद सिटौला र शेखर कोइरालासँग ‘सेकेन्ड च्वाइस थ्यौरी’ बारे छलफल गरिसकेका छन् । निधिले उम्मेदवारी दिने उद्घोष गरेपछि सभापतिमा दाबी गर्ने सबैसँग भेटघाट गरेका थिए । सोही क्रममा निधिले सिटौलासँग ‘सेकेन्ड च्वाइस’ को प्रस्ताव अगाडि सारेका हुन् ।
निधिले सभापतिमा सहयोग मागेपछि जवाफमा सिटौलाले पनि आफ्नै लागे सहयोग मागे । त्यसपछि निधिले सिटौलालाई ‘सेकेन्ड च्वाइस’ सिद्धान्त सुनाए ।
एक भेटमा निधिले सिटौलालाई भने ‘मैले तपाईंलाई सभापतिमा सहयोग गर्दा दोस्रो बन्न सकिने परिस्थिति हुन्छ त ? म त त्यो देख्दिनँ । तर, तपाईले मलाई समर्थन गर्दा म दोस्रो बन्ने सम्भावना बलियो छ ।’
निधिको हिसाब थियो कि ६ वटा प्रदेशका देउवा समूहका केही र प्रदेश दुईको ५० प्रतिशत मत उनलाई आउँछ । प्रदेश दुईबाट निर्वाचन क्षेत्रगतरुपमा ८ सय महाधिवेशन प्रतिनिधि छन् । यसमा सिटौला समूह जोडिए सभापतिमा निधिको उपस्थिति अर्थपूर्ण हुनेछ ।
तर, सिटौलालाई आफूले साथ दिँदा आफूसँग जोडिएका सबैको मत तान्न नसकिने र आधाउधि मत देउवातिरै जाने निधिले सिटौलालाई सुनाएका थिए ।
निधिको यो तर्कमा सिटौला पनि सहमत छन् । तर, अहिलेसम्म निधिलाई सिटौलाले ग्रिन सिग्नल भने दिन नसकेको अवस्था छ । सिटौला महाधिवेशन प्रतिनिधि चयन भएपछि त्यसको विश्लेषण गरेर मात्रै मुभ हुने रणनीतिमा देखिन्छन् ।
त्यसो त निधिले शेखर कोइरालासँग पनि मध्य बानेश्वरस्थित आफ्नै घरमा भएको भेटमा ‘सेकेन्ड च्वाइस’ को प्रस्ताव राखेका थिए । तर, डा. शेखरले यो थ्यौरी आफ्ना लागि उपयुक्त भएको निधिलाई जवाफ फर्काए ।
निधिले महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहसँग गरेको सम्वादमा पनि यही थ्यौरीका विषयमा छलफल भएको काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए ।