मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

काबुलमा महिलाको विरोध प्रदर्शनमा तालिबानको हमला

आइतबार, २० भदौ २०७८, १० : २८
आइतबार, २० भदौ २०७८

अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा जमाइसकेको छ । तालिबानको शासनपछि अफगानिस्तानमा महिलाको भावी स्थितिबारे चिन्ता जताइँदैछ । यो चिन्ता अफगानिस्तानका महिलाबीच मात्रै नभई अन्तरराष्ट्रिय स्तरमा पनि व्यक्त गरिएको छ ।

तालिबानले वर्तमान शासन आफ्नो पूर्व शासनभन्दा नितान्त फरक हुने बताएपनि हालैको घटनाक्रमले शंका उत्पन्न गरिरहेको छ ।

काबुलमा महिलाको एक प्रदर्शनमा तालिबानले हमला गरेर त्यसलाई रद्द पारिदिएको छ ।

यो समूह अफगानिस्तानमा महिलाको शिक्षा र रोजगारको अधिकारका लागि प्रदर्शन गरिरहेको थियो ।

प्रदर्शन गरिरहेका महिलाको यो समूहले तालिबानले आफूहरुमाथि अश्रु ग्यास प्रहार गरेको र कालो मरिचको स्प्रेले हमला गरेको जानकारी दिएको छ । यो समूह राष्ट्रपति भवनसम्म जाने कोसिस गरिरहेका बेला तालिबानले उक्त हमला गरेको हो ।

यद्यपि, तालिबानले भने यो प्रदर्शन अनियन्त्रित भएका कारण यस्तो गर्नुपरेको स्पष्ट पार्यो ।

टोलो न्यूजका अनुसार तालिबानले महिलाको विरोध प्रदर्शन नियन्त्रण बाहिर भएको बतायो ।

अफगानिस्तानमा तालिबानको कब्जापछि महिलाले यसरी खुल्ला रुपमा विरोध प्रदर्शन गर्नु निकै नयाँ कुरा हो ।

यी महिला कामको अधिकार र सरकारमा समावेश हुनका लागि माग गरिरहेका थिए ।

तालिबानले अबको केही दिनमा आफ्नो प्रशासनको रुपरेखा घोषणा गर्ने जानकारी दिइसकेको छ । तालिबानले महिला आफ्नो सरकारमा समावेश हुन त सक्ने तर मन्त्री पदमा हुन नसक्ने बताएको छ ।

सन् १९९६ र सन् २००१ का बीच तालिबानको सत्ताका बेला महिलामाथि भएको व्यवहारका कारण उनीहरुले पुनः त्यहि प्रतिबन्ध र अत्याचारको सामना गर्नुपर्ने हो कि भनेर महिलामा डर छ ।

तालिबानको पहिलो शासन (१९९६–२००१) का बेला महिलालाई पूर्ण रुपमा ढाक्न बाध्य पारियो र सानोभन्दा सानो अपराधका लागि पनि उनीहरुलाई कठोर सजाय दिने गरिन्थ्यो ।

पत्रकार अजिता नाजीमीले टोलो न्यूजलाई भनिन्, ‘पहिला तालिबानको शासन भएका बेला उनीहरुले मलाई स्कूल जानबाट रोके ।’

उनी भन्छिन्, ‘उनीहरुको पाँच वर्षको शासनपछि मैले पढेँ र अत्यधिक मिहिनेत गरेँ । मैले यसो आफ्नो उज्ज्वल भविष्यका लागि गरेँ र अब म यो सबै बर्बाद हुन दिन्नँ । ’

एक अन्य प्रदर्शनकारी महिला सोरयाले रोयटर्सलाई भनिन्, ‘उनीहरुले महिलाको टाउकोमा बन्दुकको म्यागजिनले हमला गरे । धेरै महिला रगतले लत्पित्तिएका थिए ।’

यसैबीच काबुलको उत्तरमा पञ्जशीर घाटीमा संघर्ष जारी छ । यहाँ विरोधी लडाकू र तालिबानबीच युद्ध जारी छ ।

तर दुबैले आ–आफ्नो पक्षको दाबी गरिरहेका छन् । तालिबानले प्रान्तका दुई जिल्लामा नियन्त्रण पाएको बताइएको छ ।

यसका साथै उनीहरुले सातमध्ये चार जिल्लालाई आफ्नो कब्जामा लिइसकेका छन् । यस्तै अफगानिस्तानको राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) का एक प्रवक्ताले लडाईं जारी भएको र हज्जारौं तालिबानलाई घेरिइसकेको दाबी गरेका छन् ।

एनआरएफका नेता अहमद मसूदले हेरातमा महिलाको विरोधको प्रशंसा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप