कश्यपको कथा : महङ्गो गोरु

person explore access_timeभदौ २०, २०७८ chat_bubble_outline0

                                      

धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना लोभी सेठ थिए । उनी गाउँलेहरूलाई अनेक तरिकाले ठगेर पैसा कमाउने गर्थे । हर सयम नयाँ नयाँ जुक्ति निकालेर पैसा हडप्ने उनको बानी थियो । गाउँलेहरू अनपढ थिए, गरीब थिए । लप्पनछप्पन जान्दैनथे । यसैको फाइदा उठाएर सेठले ठगी धन्दा चलाएका थिए ।  गरीव गाउँलेलाई आपद विपद पर्दा सहयोग गरेजस्तो त गर्थे तर भाका नाघ्ने बित्तिकै तमसुकमा एउटा सुन्ना थप्ने गथे । यसैका कारण कतिको घरबास गइसकेको थियो । कतिको घरजग्गा बन्दकीमा थियो । उनीकहाँ गाउँलेलाई ठगेको सम्पत्ति अथाह जम्मा भइसकेको थियो । तैपनि ठगी धन्दाको लोभ छाडेका थिएनन् । उनको पैसासँगै लोभको भाँडो पनि बढ्दै गएको थियो ।

समय बित्दै गयो । एकदिन कुनै एक गोरु व्यपारी विदेशी आए । उनका साथमा ठूला, चिल्ला, मोटा र राम्रा गोरु थुप्रै थिए । गोरु देख्ने बित्तिकै सेठको ¥याल चुहियो र पैसा कमाउने अर्को जुक्ति निकाले । उनले व्यपारीका साथमा भएका सबै गोरु किने तर तत्काल तिनलाई राख्ने ठाउँ थिएन । त्यसैले गाउँलेहरूलाई बोलाएर भने–

‘देखिहाल्नुभो भनेको बेला चाहेकोजस्तो गोरु नपाइने भएकाले एकैसाथ धेरै गोरु किनेको छु तर यिनलाई बाध्ने ठाउँ छैन । यसै भएर तपाईँहरूलाई बोलाएको हुँ । गोठ तयार नहुँदासम्म प्रत्येक घरले एकएक गोरु राखिदिनुप¥यो । यस वापत प्रतिमहिना एकएक स्वर्ण मुद्रा दिनेछु तर गोरुहरू सही सलामत हुनुपर्नेछ । सही सलामत भए पुरस्कार दिनेछु तर दुब्लाए वा तलमाथि परे भने यस्तै गोरु दिनुपर्नेछ । गोरु नपाएको खण्डमा उचित क्षतिपूर्ति लिनेछु ।’

सेठको कुरा सुनेर गाउँलेहरूले मुखामुख गरे तर नाइनास्ति गर्न सक्ने अवस्था थिएन । कारण आफ्ना घरजग्गा उनकै यहाँ बन्दकी थियो, जसलाई एउटा बाहना पारी पचाइदिन सक्थे । त्यसैले नचाहेर पनि सशर्त स्वीकार्न वाध्य भए । चतुरे (चतुर्भुज शर्मा) पहिलेदेखि नै सेठको धूत्र्याईँसित परिचित थिए । उनले यसैलाई सेठको धुत्र्याइँ पर्दाफास गर्ने उचित मौका ठाने र आफूले पनि एउटा गोरु पाल्न चाहेको बताए । सेठ पहिले अनकनाए तर दिन्न, हुन्न भन्दा अर्को अर्थ लाग्न सक्ने देखेर एउटा गोरु उनलाई पनि दिएर पठाए ।

सेठजी गोठ बनाउन लागे । गाउँलेहरू गोरु पाल्न । उनीहरूलाई आफ्नो बालबच्चा भन्दा पनि गोरु दुब्लाउँछ कि भन्ने चिन्ता थियो । त्यसैले बालबच्चाको गाँस काटेर गोरुको पोषण गर्न लागे तर चतुरेले भने गोरुलाई अँध्यारो कोठामा बाँधेर प्रत्येक दिन बेलुका एक मुठी सुकेको घाँस दिन थाले ।

गोठ तयार भएपछि सेठले गोरु मगाए । गाउँलेहरूले गोरु बुझाएर राहत महसूस गरे तर चतुरे भने गोरु नलिई एक्लै आए । सोद्धा गोरु निकै बदमास भएकाले ल्याउन नसकेको बताए । यसको प्रतिवाद गर्दै सेठको मुन्सी (पैसाको कारोबार गर्ने विश्वासिलो कर्मचारी) ले भने–

‘यसमा शङ्का छ, आपैmँले नजाँची विश्वास गर्न सकिन्न ।’

सेठलाई मुन्सीको कुरा ठीकै लाग्यो र उनैलाई हेर्न पठाए । घरमा पुगेपछि चतुरेले मुन्सीलाई सम्झाउँदै भने–

‘मुन्सीजी ! गोरु ज्यादै बदमास छ, गोठमा जानुभन्दा झ्यालबाटै हेर्नु राम्रो होला, जहाँबाट घाँसपराल गर्दै आएको छु । होइन, अगाडि नै गएर हेर्न मन छ भने त्यो पनि सक्नुहुनेछ । तपाईँकै भलाइका लागि भनेको हुँ । भरे केही भइहाले दोष नदिनुहोला ।’ 

मुन्सीलाई चतुरेको कुरा ठीकै लाग्यो र झ्यालबाट टाउको छिराएर हेरे तर भइदियो के भने उनले टाउको छिराएका मात्र के थिए भोको गोरुले फुलेको दाह्रीलाई पराल ठानी एउटै बुझो हालेर तान्न थाल्यो । मुन्सी पीडाले चिच्याउन थाले । अन्ततः चतुरेले नै कैँचीले दाह्री काटेर छुटाउनुप¥यो ।

मुन्सीजी चिच्याउँदै सेठको समक्ष गएर रुन थाले । गोरु बदमास रहेछ भन्ने पुष्टि भएपछि सेठले केही पहलमानलाई पठाएर गोरु झिकाए । जब गोरुको अवस्था देखे त्यसपछि भने सेठजी आफैँ तीनछक परे । गोरु मोटाएको भनेको त किन हुन्थ्यो । दुब्लाएर हाडछाला एकै स्थानमा भइसकेको रहेछ ।

त्यसपछि चतुरेलाई हपार्दै सेठले भने–

‘के हो तपाईँको चाला ? केकस्तो शर्तमा गोरु पाल्न लानुभएको थियो थाहा छ ? भन्नुस् कस्तो डण्ड दिउँ तपाईँलाई ?’

उनको कुरा सुनेर चतुरेले मुस्कुराउँदै भने–

‘दण्डित हुनैपर्छ तर मैले होइन तपाइँले । महिनाको एक स्वर्ण मुद्रा खुराकी खाने गोरुको अवस्था यस्तो नभएर कस्तो हुन्छ त ? तपाईँको पैसाले जति पुग्यो त्यति नै खुवाएँ । विचरा गाउँलेहरूले डराएर आफ्नै गाँस काटेर गोरुको पोषण गरेका हुन् । नपत्याए सोध्न सक्नुहुन्छ तर तपाईँ जस्तो धुर्तसँग म किन डराउँ कि आफ्नो बच्चाको गाँस काटेर गोरुको पोषण गरौँ । तत्कालै गाउँलेहरूबाट ठगेको पैसा फिर्ता गर्नुहुन्छ कि उजुरी गर्न जाऊँ ।’

उनको कुरा सुनेर सेठजी डराए । चतुरेलाई पनि अरुलाई जस्तै ठग्छु भनेको नतीजा उल्टो निस्कियो । जमिनको टिप्छुभन्दा पोल्टाको पोखिने निश्चित भएपछि उनी गोरु पाल्दा खर्च भएको मात्र नभई हालसम्म ठगेको पैसासमेत फिर्ता गर्न राजी भए । त्यसपछि गाउँलेहरू चतुरेको प्रशंसा गर्दै घरतिर लागे । सेठजी भने आफ्नै करतुतलाई सम्झदै पुर्पुरो समाउन लागे ।

नीति भन्छ– ‘अति सर्वत्र वर्जयेत् ।’ अति कुनै कुरामा पनि गर्नुहुँदैन । अन्यथा लिनुको सट्टा दिनु पर्न सक्छ । अति राम्री हुँदा सीताजी अपहरणमा परेकी थिइन् । अति घमण्डले रावणको वंशनाश भएको थियो । भनाइ नै छ नि संसारमा कसैले कसैलाई सँधै मूर्ख बनाउन सक्दैन । यदि निकै चलाख रहेर धेरैलाई सँधै मूर्ख बनाउन सकेछ भने पनि सबैलार्ई सँधै मूर्ख बनाउन भने कसैले पनि सक्दैसक्दैन । कुनै तरिकाले एकदिन त्यसको पर्दाफास भएकै हुन्छ । लोभी सेठजीलाई पनि त्यस्तै भएको थियो ।   

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।