बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

शनिबार, १९ भदौ २०७८, २१ : ३७
शनिबार, १९ भदौ २०७८

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ । सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको राजधानी लण्डनमा हुने सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सकहरुको सहभागिता रहने छ ।

सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । सम्मेलन स्वास्थ्य क्षेत्रमा अनुसन्धान, स्वास्थ्य प्रवर्द्धन, प्रयोगशाला, नेपालमा रोक नियन्त्रण केन्द्र, नेटवर्किङलगायत स्वास्थ्यसम्बन्धी उपचार रोकथाम र व्यवस्थापनमा केन्द्रित रहनेछ ।

सापकोटाका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्था, कोभिड १९ महामारीको प्रभाव र चुनौती, नेपालमा खोपको सम्भावना, मुटु रोग, बालबालिका तथा महिलाहरूको स्वास्थ्य अवस्थालगायत विषयमा विज्ञ चिकित्सकहरूले कार्यपत्र पेस गर्ने छन् ।

लण्डनस्थित नेपाली दूतावास भवनबाट उद्घाटन हुने सम्मेलनको समापन अल्डरसटमा गर्ने स्वास्थ्य समितिले जनाएको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त, डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, गैरआवासीय नेपाली सङ्घका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा। बोधराज सुवेदीलगायतले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अस्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसिएसन यूके, नेपाली डाक्टर एसोसियसन यूके, गैरआवासीय नेपाली सङ्घ यूके, नरसिङ्ग नेपाली एसोसिएसन यूकेलगायत एक दर्जन सङ्घसंस्था तथा प्रतिनिधिहरूको सहभागिता रहने छ ।

तीन दिनसम्म चल्ने सम्मेलनको पहिलो दिन चिकित्सकहरूले भर्चुअल माध्यमबाट आआफ्ना अनुसन्धान पत्र प्रस्तुत गर्ने छन् भने दोस्रो दिन सम्मेलनको औपचारिक उद्घाटन हुने छ । सेप्टेम्बर १९ मा लण्डन घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिने गैरआवासीय नेपाली सङ्घको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले जनाए । गैरआवासीय नेपाली सङ्घको आयोजनामा यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप