सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सडकमा किन मारिँदैछन् निर्दोष प्राणी ?

शनिबार, १९ भदौ २०७८, २० : २८
शनिबार, १९ भदौ २०७८

म केही दिन अगाडि बिहानै करिब ६ बजेतिर भक्तपुरको ठिमीबाट काठमाडौं आउँदै थिएँ । म बाबाले चलाएको स्कुटरको पछाडि बसिरहेको थिएँ । सडकमा फाट्टफुट्ट केही ठूला बस, केही साना बसहरु चलिरहेका थिए । मोटरसाइकल र स्कुटरहरु पनि फाट्टफुट्ट चलिरहेका थिए । सवारी साधनको खासै चाप नभएको र चौडा सडक भएका कारण सबैखाले सवारी साधनको गति अलि तीव्र थियो । 

कौशलटारबाट अगाडि बढ्दै गर्दा सडकको माझमा एउटा मरिरहेको कुकुरको शरीरमा मेरो आँखा प¥यो । कुनै सवारीसाधनले ठक्कर दिएको त्यसको मृत्यु भएको अनुमान गर्न मलाई कुनै गाह्रो भएन । केही पर पुग्दा अर्को बिरालो त्यसैगरी मरिरहेको रहेछ । अझ त्यहाँ त मरिरहेको बिरालोको शरीर छियाछिया भएको देखेँ । यो दृश्यले मेरो मनमा कस्तो कस्तो प्रभाव पारिरहेको थियो । अनि बाबालाई सोधेँ सडकमा हिंड्ने कुकुर बिरालोलाई बचाएर सवारी चलाउन सकिँदैन ? बाबाले खासै उत्तर दिनुभएन । मैले पनि यस्तो दृश्य कहिल्यै देखेको दिइन । अनि सामान्य नै होला भनेर वास्ता गरिनँ । 

हामी कक्षा ९ को अन्तिम अन्तिमतिर आइपुग्दा विश्वभर कोरोना संक्रमण फैलिन सुरु भएको थियो । नेपाल पनि त्यसबाट अछुतो रहने कुरै भएन । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लकडाउन सुरु गर्यो । कोरोना संक्रमणका कारण १० कक्षाको पढाइका निम्ति विद्यालय खासै जानुपरेन । अघिल्ला वर्षका दाइ, दिदीहरू बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म स्कुलमै बसेर पढ्नु हुन्थ्यो । हामी मुश्किलले तीन महिनाजति स्कुल गयौं ।

आधाआधी समय बिहान ७ बजेदेखि १२ बजेसम्म र आधाआधी समय बिहान ६ः ३० देखि साँझ ५ बजेसम्म स्कुल गयौं । एसईई परीक्षा पनि घरबाटै दिइयो । एसईई परीक्षा दिने बेलामा कोरोना संक्रमणको दोस्रो भेरियन्ट चलिरहेको थियो । सरकारले निषेधाज्ञा लगाएकै थियो । एसइई परीक्षा त घरबाटै दिइयो भने घर बाहिर जाने त कुरै भएन ।

 एसईईको नतिजा प्रकाशन भएको एक महिना हुँदैछ । कक्षा ११ को निम्ति काठमाडौंको नयाँ बानेश्वरमा रहेको नोबेल एकेडमीमा भर्ना भएँ । म नोबेल एकेडेमीको पुरानो विद्यार्थी । मैले कक्षा २ देखि ७ सम्म त्यहीँ पढेको थिएँ । कक्षा ८ मा जाँदै गर्दा हाम्रो परिवार भक्तपुरमा डेरा सर्यो । अनि बाबाले मलाई भक्तपुरकै शंकर नेशनल इङ्ग्लिस सेकेन्डरीमा भर्ना गरिदिनुभयो ।

मैले त्यहीँ पढे । म नोबेल एकेडेमी पढ्दा काठमाडौंका सडकमा बेलाबेलामा हुने अनेकौं दृश्यसँग साक्षात्कार हुन्थेँ । मेरो स्कुल बानेश्वर चोक नजिकै थियो । संसद भवन पनि त्यहीँ थियो । अझ त्यतिबेला त संविधानसभाबाट संविधान बनाउनका निम्ति सभासदहरु दिनहुँ संविधानसभा भवन आवतजावत गर्थे । संविधानमा हाम्रा कुराहरु समेट्नुपर्छ भन्दै नारा जुलुस र धर्ना दिनहुँ देख्दै आएको म भक्तपुर बस्न थालेपछि बाहिरी संसारबाट टाढा भए जस्तै थिएँ । 

म फेरि नोबेल एकेडेमीको विद्यार्थी भएँ । हामी कक्षा ११ मा भर्ना भयौं । कोभिड संक्रमणकै कारण भौतिक रुपमा सरकारले अझै पनि विद्यालय सञ्चालन गर्ने अनुमति छैन । तर चार दिनदेखि विद्यालयले बिहान ७ बजेबाट अनलाईन कक्षा सञ्चालन गर्दै आइरहेको छ । पहिलो दिन अनलाइन कक्षा घरबाटै लिएँ । दोस्रो दिन मेरो सानो भान्जाको भात ख्वाई थियो । मेरो ठूलो बुबाको छोरी ग्राण्डी अस्पताल छेउ बस्नुहुन्छ ।

उहाँको छोरा जन्मिएको ६ महिना पुग्दै थियो । भान्जाको भात ख्वाईमा ठूलो बुबा, ठूलो ममी, बाबा, ममी र म जानुपर्ने भएकाले मैले अघिल्लो दिन स्कुलमा भोलिको अनलाइन कक्षामा नआउने जानकारी पठाएको थिएँ । विहान ७ः १५ बजे नै भात ख्वाईको साइत भएकाले हामी विहान ६ बजे नै भक्तपुरबाट ग्रान्डीतर्फ अगाडि बढ्यौं । ठूलो बाबा, ठूलो ममी र ममी सार्वजनिक यातायात चढ्न भयो । म र बाबा स्कुटरबाट गन्तव्यतर्फ हुँइकिएका थियौं । 

मैले बिहान ग्राण्डी जाँदा सडकमा कुकुर र बिरालो मरेको देखेँको थिए । तिनै मरेका कुकुर र बिरालोको शरीरलाई कुल्चँदै सवारी साधनहरु तीव्र गतिमा हुइँकिदै थिए । मरेका कुकुर र बिरालोको शरीरमाथि सवारी साधन गुड्दा उनीहरुको शरीर छियाछिया भएको र आन्द्राभुँडी निस्कँदा सडक नै फोहोरमा परिणत भएको थियो । 

मेरो अनलाइन कक्षा बिहान ७ बजेबाट सुरु हुन्छ । बाबाको अफिस बानेश्वरमा भएकाले बाबा बिहान चाँडै निस्कनुहुन्छ । मेरो पनि स्कुल बानेश्वरमै भएका कारण म अनलाइन कक्षा पढ्न बाबाकै अफिसमा आउन थालेँ । भक्तपुरबाट बिहान ६ बजे काठमाडौंतर्फ आउन थालेको आज तेस्रो दिन । दोस्रो दिन गट्ठाघर नजिकै सडकमा सवारी साधनले कुल्चिएर बिरालो मरेको देखेँ । आज तेस्रो दिन पनि सडकमा चार दोबाटो अगाडि गट्ठाघर नपुग्दै त्यसैगरी कुकुर मरेको देखेँ । म तीन दिन लगातार बिहान ६ बजेतिर भक्तपुरबाट काठमाडौं आउँदा तीनै दिन सडकमा सवारी साधनको ठक्करबाट कुकुर र बिरालो मरेको देख्दा आज भने मेरो मस्तिष्कमा गम्भीर असर पर्न गयो ।

हामी मानिसहरु पृथ्वीकै सर्वश्रेष्ठ प्राणी भनेर घमण्ड साथ भन्छौ । तर खोइ कस्ता हौं हामीहरू ? एउटा आवाज विहिन प्राणीको भावनालाई बुझ्न नसक्ने । म मान्छु कि हामीहरुलाई कतै जान हतार हुन सक्ला, जरुरी काम पर्ला तर यसको मतलब यो होइन कि हाम्रो कामभन्दा ती निर्दोष प्राणीहरुको जिन्दगी सस्तो छ । हाम्रो भाषामा उनीहरु आफ्नो भावना व्यक्त गर्न सक्दैनन् तर के हाम्रो सर्वश्रेष्ठ मानिने दिमागले उनीहरुलाई परेको चोटको दुःख बुझ्न सक्दैनौँ र ? उनीहरुको पनि त हामीले जिए जस्तै जिउने इच्छा हुनसक्छ ।

त्यो बाटो काट्दा केही न केही सोचेर  हिँडेका हुन्छन् होला नि ? उसको दिमागले खाना खोज्न जाने योजना बनाइरहेको हुन सक्छ, आफ्ना छाउराहरूको पनि पेट भर्ने प्रयासमा थियो कि ? तर बीच सडकमा एउटा निर्दयी आत्माले जानेर होस् या अन्जानमा उसलाई ठक्कर दिन्छ र उसको मृत्यु हुन्छ । कत्ति दुख्छ होला ? दुःखाईको पीडा खप्न नसकेर उसको आत्मा कति रुन्छ, कति कराउँछ तर न उसलाई कठै भन्ने कोही हुन्छ न उसको मृत शरीरलाई कसैले छेउमा लगेर पन्छाई दिन्छ । अनि उसको शरीर माथिबाट हजारौँ गाडी गड्छन् र उसको आन्द्राभुँडी सबै निस्कन्छ र शरीर सडकसँगै मिल्छ । 

हुन त कतिपयलाई यो विषय उठाउनु नै गतल लाग्ला । तर यदि हामीले लापरवाही गरेनौं भने यस्तो विषय उठाउनै पर्दैन । अब कुरा आउँछ गल्ती कसको भनेर । ती बोल्न नसक्ने प्राणीको के दोष ? न उसलाई जेब्रा क्रसिङ थाहा छ न त आकाशे पुल । गल्ती पक्कै पनि हाम्रै र हाम्रो सोचको हो । यदि हामीले कुनै बेला यी प्राणीहरुको पनि ज्यान महत्वपूर्ण छ भनेर सोचेको भए थप सतर्कता अपनाउँथ्यौ होला । तर विडम्बना, नेपाली समाजमा त्यो छैन ! जाबो कुकुर र बिरालो त हो नि भन्ने हाम्रो समाजले मानवताको भाषा के बुझ्थ्यो र ? अब भने जनावरको हक अधिकारको रक्षा गर्नु पनि उत्तिकै जरुरी भएको छ ।

हामी मानिसहरुले पनि यदि सडकमा ध्यानपूर्वक सवारी चलायौ भने यस्तो दुर्घटना हुँदैन र भइहालेको अवस्थामा सम्बन्धित निकायले पशु प्राणीको हक अधिकारबारे नियम कानुन बनाएर उनीहरुको ज्यान लिनेहरूलाई कडाभन्दा कडा कार्बाही गर्न आवश्यक छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय ढुंगेल
विजय ढुंगेल
लेखकबाट थप