शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले पहिला जस्तो थियो अहिले पनि उस्तै छ : ईश्वर पोखरेल

शनिबार, १९ भदौ २०७८, १८ : ४२
शनिबार, १९ भदौ २०७८

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन् । पार्टीको जिल्ला कमिटीले आज बनेपामा आयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलले एमाले पहिला जस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।

“एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन”, उनले भने ।  एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए । उनले भने, “अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।”

नेता पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे । “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हाल विचारमा नभई नेतृत्वको सङ्घर्ष भइरहेको उल्लेख गर्दै राम्रो÷नराम्रो नेतृत्व ध्रुवीकरण हुने बताए । उनले भने, “हामी पार्टी एकताको निरन्तरतामै छौँ, अबको निर्वाचनमा जनताले जनादेश, परामादेश र अध्यादेशको फैसला गर्नेछन् ।” कम्युनिष्ट आन्दोलन आँधी–तुफानझैँ गर्जेर अघि बढाइने पूर्वमन्त्रीसमेत रहनुभएका रायमाझीले जिकिर गरे ।

एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन चुनौती दिए । “म प्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु”, पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले भने । उनले आगामी निर्वाचनमा स्थानीय तहका सबै स्थान एमालेले जित्ने गरी सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका थिए ।

सो अवसरमा सांसद नवीना लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, बागमती प्रदेशसभा सदस्यद्वय चन्द्र लामा र गोमा भुर्तेल, पार्टीका केन्द्रीय नेता रेशम लामा, नेता चूडामणि चौलागाईं, राजन भुर्तेल, इन्द्रबहादुर तामाङ, नारायण बानियाँ, रीता ढकाल लगायतले सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप